
काठमाडौं । २०औँ एसियाली खेलकुद असोज ३ गतेदेखि जापानमा सुरु हुँदै छ ।
जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपालबाट ८० पुरुष र ५६ महिला खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिए ।
एसियाली खेलकुदमा सहभागी हुने प्रशिक्षक संख्या ३२ छ ।
नेपालबाट आर्चरीमा एक-एक पुरुष/महिला, एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा दुई-दुई पुरुष/महिला, बक्सिङमा चार पुरुष र तीन महिला, क्यानोइ स्लालममा दुई पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा एक-एक पुरुष/महिला तथा डान्स एन्ड स्पोर्ट्समा एक पुरुष खेलाडी सहभागी हुनेछन् ।
यसैगरी, गल्फमा तीन पुरुष र एक महिला, जुडोमा तीन-तीन पुरुष/महिला, कबड्डीमा १२–१२ पुरुष/महिला, करातेमा तीन पुरुष र पाँच महिला, स्केटबोर्डमा दुई पुरुष, सफ्ट टेनिसमा तीन पुरुष र एक महिला, स्क्वासमा एक-एक पुरुष/महिला, पौडीमा तीन पुरुष र दुई महिला, टेबलटेनिसमा तीन-तीन पुरुष/महिला, तेक्वान्दोमा दुई पुरुष, टेनिसमा तीन पुरुष र दुई महिला, महिला भलिबलमा १२, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । १२६ पुरुष र १२७ महिला खेलाडीले भाग लिए ।
हाङझाव एसियाली खेलकुदमा नेपालले समान एक-एक रजत र कांस्य पदक जितेको थियो । ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेको थिए ।

