
संस्मरण
साहित्यिक पत्रकारिताका शिखरपुरुष
छविरमण सिलवाल
नेपाली साहित्यिक पत्रकारिताका शिखरपुरुष नगेन्द्रराज शर्मासँग मैले पनि केही साहित्यिक यात्रामा सहभागी हुने अवसर प्राप्त गरेको थिएँ । पहिलो पटक हेटौडा र दोश्रो पटक मन्थली । अहिले पनि उहाँहरुको समूह नेपालका विभिन्न स्थानहरुमा घुमिरहेको देखिन्छ । केही वर्ष अगाडि मैले रोचकदाजू र नगेन्द्रदाजूलाई गाडीमा राखेर बनेपासम्म लैजाने अवसर प्राप्त गरेको छु । जनमतको वार्षिक कार्यक्रममा उहाँहरु विशेष अतिथिका रुपमा आमन्त्रित हुनुहुन्थो । प्रमुख अतिथि ठाकुर पराजुलीज्यूलाई पनि लैजाने जिम्मेवारी मेरै थियो । बिहान दश बजे हामी जाने कुरा मैले बताएको थिएँ । उहाँले मलाई नौ बजे नै हामी कहाँ आऊँ भनेर फोन गर्नुभयो ।
‘म तपाईको घरमै आउँछु र त्यताबाट रोचकदाजूलाई लिएर जाने ’ मैले भने ।
तपाईलाई किन दुःख दिनु हामी कोेटेश्वरसम्म ट्याक्सीमा आउँछौ भन्ने उहाँको आग्रह थियो । मैले म आफै आउँछु भने र ठिक दशबजे अभिव्यक्ति परिसर अगाडि गाडी रोकें ।
नगेन्द्रराज शर्माले तल झरेर भन्नुभयो–‘तपाई मेरो घरमा आउँनु भएको छैन र पनि कसरी पत्ता लगाउँनु भयो ?’
‘दाजु यो बाटो धेरै हिडिन्छ अभिव्यक्ति परिसरको बाहिरैबाट दर्शन पनि गरिन्छ । आखिर देवताहरु जहाँ बसें पनि मान्छेहरु खोज्दै पुग्छन् नि होइन र ?’
उहाँ मुसुक्क हाँस्नुभयो र भन्नुभयो –‘अब हामी रोचकजीकोमा भएर जाने होइन त ?’
त्यसपछि हामी टंगालतिर लाग्यौं । बेलुका फर्कदा पनि उहाँहरुले जडिबुटीमै ओराल्नको लागि निकै जोड गर्नुभयो, मैले सुने नसुने झैं गरी एक्सिलेटर बढाई रहें ।

उहाँ कसैलाई भनि नविझाउँने, शालीन व्यक्तित्वको रुपमा चिन्दछु । मन्थलीको चारदिने बसाईमा म उहाँसँग निकै प्रभावित भए । बेलुका भएपछि पिउँनुपर्ने, पिएपछिको उहाँको शालीनता निकै मन पर्यो मलाई । रोचकदाजु, ज्ञानुवाकार पौड्लज्यू उ नगेन्द्रदाजुको गफ सुनिरहुँ लाग्ने । मन्थली यात्रामा हामी अर्कै मोटरमा पर्यो । उहाँहरु अर्कोमा । हाम्रो लागि प्रबन्ध गरिएको बस र समयकोलागि जगदीशदाजुले म्यासेज मार्फत जानकारी दिनु भएको थियो । उहाँहरु पनि बससँगै जाने तर अर्काे गाडीमा । जगदीशदाजुको कडा निर्देशनमा म कोटेश्वर ठीक समयमा पुगेको थिए । गाडी पनि ठ्याक्कै समयमै आएको थियो । कारणवश भक्तपुरमा विशेष अवरोधका कारण हामी चढेकोे गाडी साँखु, नाग्लेभारे हुँदै मेलम्ची पुगेर जिरोकिलोमा फर्कने रुट बन्यो । आखिर यात्रा तय त गर्नु नै छ । चितवनबाट कवि कपिल अज्ञात र धनराज गीरीसँगै यात्रामा हुनुहुन्थ्यो । कपिल अज्ञात ज्योतिष पनि भएकोले हिड्दा चरा नक्षत्र परेको हुनाले यात्रामा यस्तो घुमाई हुन्छ भन्दै हुनुहुन्थो । बाटो कस्तो होला भन्ने मात्र हामीलाई चिन्ता थियो । त्यसमा पनि मन्थली जान बल्ल बल्ल समय मिलाएको थिएँ । जे पर्ला त भन्दै गाडी पेप्सीकोलाबाट उत्तर मोडियो । धुलिखेलबाट गएको भए दुईघण्टाको बाटो त्यताबाट पाँच घण्टा लागेको थियो । खाडीचौरमा हाम्रोलागि खानाको व्यवस्था गरिएको थियो । खाडीचौरमा खाना खाएर हामी मन्थली हानियौं ।
मन्थली पुग्दा करिब आठ बजिसकेको थियो । बेलुकाको खाना तयार भैसकेछ ।
‘ल उहाँहरु थकाईले लोत भएर आउनु भएको छ । औषधीको व्यवस्था गरौं, हामीले त यी लिई रहेका छौं औषधी ।’ नगेन्द्रदाजूले भन्नु भएको थियो ।
भोक र थकाईले गर्दा सबै औषधीको व्यवस्थामा लागे । अगाडि आगोको धुनी जगाएको छ, वरिपरि कवि, पत्रकारहरु गोलबद्ध रुपमा बसेका छन्, कसलाई के चाहिन्छ, जगदीशदाजू हेर्दै हुनुहुन्छ । कसको गीलास खाली भए नगेन्द्रदाजूको नजर छ । समग्रमा निकै उत्साहित छन्, सबै जना कसलाई कति ख्वाउनुपर्छ र कोबाट कस्तो रचना सुन्नुपर्छ सबैको लिष्ट छ । त्यहाँ एउटा उत्कृष्ट व्यवस्थापन भएको छ, प्रत्येक दिन एउटा खसी ढालेको छ । ब्रेकफास्ट, खाना, दिउँसोको खाजा, बेलुकाको नास्ता र बेलुकाको खानाको रुटिङ अलग्गै छ । त्यसपछि धेरैपटक जगदीशदाजूको मन्थली जाने आग्रहलाई मैले पूरा गर्न सकिन, आफ्नै कार्य व्यस्तताले गर्दा । उहाँहरुको मन्थली यात्रा भने अहिले पनि निरन्तर चलिरहेको छ ।
नजिकबाट जति म नगेन्द्रदाईलाई चिन्छु, उहाँले मलाई चिन्नुहुन्न जस्तो मलाई लाग्ने। कार्यक्रमहरुमा भेट भएमा अभिव्यक्ति पत्रिका दिदै भन्नुहुन्थ्यो खैँ तपाईको रचना आएन त ? यसो पठाउँनुस न । म हस भन्थे । रोचकदाजू र उहाँको जोडी निकै रमाइलो लाग्दथ्यो मलाई । दुबै जनाले साहित्यिक पत्रिका निकाल्नु हुने एक आपसमा कुनै प्रकारको मतभेद नदेखिने । एउटा उदाहरणीय जोडीको रुपमा मैले चिनेको छु । मलाई लाग्दथ्यो, नगेन्द्रदाइलाई मैले मात्र एकोहोरो चिनेको छु । उहाँलाई मेरो नाम थाहा छैन होला । प्रायः धेरैलाई यस्तै हुन्थ्यो । उहाँको पनि यस्तै होला भन्ने लाग्दथ्यो । मैले यस्तै सोच्दै गरेको थिए । तर उहाँले तपाईको रचना आएको छ भनेर भन्नुभयो र चार पाँचप्रति अभिब्यक्ति दिनुभयो र भन्नुभयो– ‘यसो कसैलाई वाडिदिनुस् ।’ त्यसबेला मलाई कम्ति खुशी लागेन । किनकी मैले धेरै पटक भोगेको छु, ठूला साहित्यकारहरुलाई एकतर्फी नमस्कार गरेको र उनीहरुले जहिल्यै पनि तपाईको नाम के रे ? भनेर सोध्ने गरेको ।
अब मन्थलीकै प्रसंगबाट कुरा शुरु गरौं । तीन दिन हाम्रो मन्थली बसाईको क्रममा उहाँसँग नजिकिने अवसर प्राप्त भयो । उहाँको शालीनतालाई नजिकबाट चिन्ने अवसर प्राप्त भयो । नगेन्द्रदाजूले जहिले पनि जगदीशदाजूलाई तँ भनेको मलाई कस्तो कस्तो लागेको थियो । त्यसो त राप्रउ पोखरेलसँग पनि जगदीशदाजू तँ तँ म म मै कुरा गर्नु भएको सुनेको थिए । केही कुराहरु कति कति बेला असहज भैदिदोँ रहेछ । त्यसबेला मलाई पनि त्यस्तै लाग्नु कुनै नौलो थिएन । त्यसबेलाको कुरा मनमा खिलिरहेको थियो । मन्थलीबाट फर्केपछि जगदीशदाजूको घर चोभारमा गएको बेलामा मैले सोधें दाजू तपाईलाई नगेन्द्रदाजूले किन त भन्नु भएको हो । उहाँ मुसुक्क हाँस्नु भयो र भन्नु भयो उहाँ त मेरो दाजू हुनुहुन्छ नि थाहा थिएन तपाईलाई । मैले भने ए यो नाता त मलाई थाहै थिएन । कहिलेकाही यस्ता कुराहरुले गर्दा रमाईलो अनुभूति हुँदो रहेछ ।
नगेन्द्रदाजूको अर्को अचम्मको कुरा रहेछ मन्दिर कहिल्यै नजाने । मन्थलीबाट हामी फर्कदै थियौ, चरिकोटमा दोलखा भिमसेनको दर्शन गरेर जाने योजना बन्यो । चरिकोटमा खाना तयार भैसकेको थिएन, समयको सदुपयोग पनि हुने र भगवानको दर्शन पनि हुने यो राम्रो अवसर थियो । त्यसकारण हामी मन्दिरतर्फ गयौं । म लगायत सबै जना दर्शनार्थ लामवद्ध भयौं । तर नगेन्द्रदाजू मन्दिरको सिढीँमा बसेर हामीलाई पर्खदै हुनुहुन्थ्यो ।
मैले उहाँलाई सोधें -‘दाजू दर्शन गर्न जानु भएन ?’
उहाँले सटिक उत्तर दिनु भयो,–‘मन्दिरमा त्यहीँ ढुङ्गो त हो नि । यता पनि छन् नि ढुङ्गाहरु । हेर्नुस त सक्कली देवताहरु मन्दिर बाहिर मागेर बसेका छन् ।’ उहाँको कुरा चित्त बुझ्दो पनि लाग्यो । मैले पुनः सोधे– ‘अनि किन यतै आउनु भयो त ? माथि नै बस्नु भएको भए हुने नि ? ’
‘यसो कलाकौशल पनि देख्न पाइन्छ । साथीहरुको साथ छोड्नु पनि भएन नि ।‘ उहाँ मुसुक्क हाँस्नु भयो ।
अरु कुराहरु भन्दा पनि उहाँको त्याग तपस्याले ने गर्दा हामी उहाँसँग नजिकिएका हौँ । नेपाली साहित्यिक पत्रकारितामा अभिव्यक्तिले ठूलो योगदान दिएको छ । कैयौ सर्जकहरु जन्माएको छ, जो अहिले नेपाली साहित्यको आकासमा चर्चाको शिखर चुमिरहनु भएको छ, उनीहरुको पहिलो प्लेटफर्म अभिव्यक्ति साहित्यिक पत्रिका नै थियो । साहित्य अनुत्पादक रुपमा हेरिरहेको सरकारी नियति विरुद्धमा किन आफ्नो छाक कटाउँनु परेको होला भन्ने प्रश्न उठे होलान ? तर उहाँ कतै विचलित नभै निरन्तर चलि रहनुभयो हो, यस्तै सुकर्मले नै हो हामीले उहाँलाई सम्मान गर्नु पर्ने । यो अवधिमा यस्ता साहित्यिक पत्रिकाहरु कति प्रकाशित भए, कति बन्द भए त्यसको लेखाजोखा छैन । तर अभिव्यक्ति, रचना पत्रिकाहरुको निरन्तरताले नेपाली साहित्यिक पत्रकारीतालाई निकै उचाईमा पुर्याएको हाम्रो ठहर छ । त्यसकारण पनि नगेन्द्रदाजू हाम्रा पूजनीय हुनुहुन्छ । उहाँले गरेको कर्मले मन्दिर धाउनु नपर्ने कुरा मलाई राम्रो लाग्यो । उहाँ आफैले धेरै सर्जकहरुको लागि अभिव्यक्ति तिर्थस्थलको रुपमा निर्माण गरिदिनु भएको छ । नेपाली साहित्यमा लाग्ने हरेक स्रष्टाको लागि उहाँ प्रेरणादायी व्यक्तित्वको रुपमा रहनु भएको छ ।







