
- निबन्ध
फूलहरूको सौन्दर्यमा फुलिरहेको जीवन
ज्ञानेन्द्र विवश
फूलहरूको सौन्दर्यमा फुलिरहेको जीवन भन्नु सम्पूर्ण प्राप्तिहरूले पूर्ण खुसीको उत्सव जस्तै हो । जहाँ तनावले नेटो काटिसकेको हुन्छ । जहाँ पीडाले उपचार पाएर निको भइसकेको हुन्छ । त्यहाँ आरामको हाइसञ्चो उपरखुट्टी लाएर कुनै पुरानो नेपाली गीतमा डुबिरहेको हुन्छ । त्यहाँ आनन्दको उपस्थितिमा सन्तुष्टिका सुहागहरूले स्वागत गरिरहेको हुन्छ । हिउँदे चिसोको बिहान पनि न्यानो हुन्छ । साँझको सिरेटोमा पनि स्मृतिका वेगहरूले स्पन्दित पार्दै मन रित्तो होइन भरिलो र सिर्जनशील पारिरहेको हुन्छ ।
जीवन यौटा फूल नै हो । जीवन यौटा सौन्दर्यकै स्वरूप हो । अनेक फूलहरू, अनेक रङहरू भए जस्तै मानिस पनि अनेकौँ किसिमका हुन्छन् । तिनै अनेक रङ र अनेक जीवनमध्ये केही मात्र सुन्दर र श्रद्धाले शिरमा राख्न उपयुक्त हुन्छ ।
जीवन यौटा जीवन्त बासनाकै प्रतीक हो । त्यसैले फूलहरूको सौन्दर्यमा जीवन सधैँ हाँसिरहन मन पराउँछ । जीवन सधैँ मीठो सुगन्धमा रमाइरहन रुचाउँछ । जीवन आखिर बाँचुन्ज्यालकै लागि फूलहरू जस्तै सौन्दर्य र सुगन्ध फैल्याउँदै फूलिरहन चाहन्छ ।
जीवन, समयको अमूल्य देन हो, जहाँ प्रत्येक दिन एउटा नयाँ फूलझैँ फक्रिन्छ, सुवासित हुन्छ, अनि विस्तारै ओइलाउँदै जान्छ । यो चक्र कहिल्यै रोकिँदैन । जीवनको यही रहस्यलाई बुझ्ने हो भने, फूलहरू हाम्रो सबैभन्दा आत्मीय प्रतीक बन्न सक्छन्– निर्मल, कोमल र क्षणिक सौन्दर्यले भरिएका । तर त्यो क्षणिकपनमा दीर्घकालीन प्रभाव रहिरहेको हुन्छ ।
फूलहरू प्रकृतिले बुनेका कविता हुन्, जसले मौनतामा पनि हृदयलाई स्पर्श गर्छन् । बिहानको शीतल बताससँगै जब फूलहरू आफ्नो रङ्गीन पखेटा फैलाएर मुस्कुराउँछन्, तब लाग्छ– यी पनि जीवनका सजीव उत्सव हुन् । फक्रनु, सुगन्ध फैलाउनु, र ओइलाउनु– यिनको नियति हो, तर कहिल्यै गुनासो छैन, कुनै संकुचन छैन । जस्तो कि, तिनलाई थाहा छ– जीवनको सार दिनुमा छ, लिनुमा होइन । त्यसैले फूलहरूको सौन्दर्यमा फुलिरहेको जीवन नै सबैका लागि प्यारो हुन्छ ।
हामी पनि फूलहरूबाट यही पाठ सिक्न सक्छौँ । यदि जीवनलाई एक सुगन्धित फूलझैँ जीउन सकेनौँ भने, त्यसको अस्तित्व निरर्थक बन्छ । फूलहरू जस्तै हामी पनि आफ्ना खुशीहरू अरूसँग बाँड्न सक्नुपर्छ, आफ्ना रङहरू संसारलाई देखाउन सक्नुपर्छ । काँडाले घोचेर रक्ताम्य पारे पनि, तनावले चिथोरेर नाङ्गेझार पारे पनि धैर्यले धाप दिँदै फूलको जीवन सम्झिनुपर्छ । फूलको सौन्दर्य सोच्नुपर्छ । फूलको सुगन्धलाई आत्मसात गर्नुपर्छ ।
यद्यपि फूलको सौन्दर्य यसको रङरूप वा सुगन्धमा मात्र सीमित छैन । त्यो सौन्दर्य त त्यसको सारमा छ– निर्विकार तर्पणमा, समर्पणमा ! गुलाफको काँडाबीच पनि मुस्कुराउने स्वभाव, भुइँमा झरेर पनि सुगन्ध बाँड्ने गुण, रातमा मात्र फुल्ने पारिजात, ब्रह्मकमलको मौन आकर्षण– यी सबै जीवनका महत्वपूर्ण दर्शन हुन् । यही प्राकृतिक दर्शनमा जीवनका सारसंक्षेप सत्यम्, शिवम्का सुन्दरताहरू प्रतिविम्बित भइरहेका हुन्छन् ।
अपितु, जीवनको फूल फुल्न मन लागे पनि कहिलेकाहीँ कठोर असिना वर्षिन्छ, हुरीबतास लाग्छ । तर, त्यही आँधीपछिको खुल्ला आकाश जति नीलो देखिन्छ, त्यही झरीपछिको घाम जति उज्यालो लाग्छ, त्यो भन्दा चञ्चल अनुभूति अरू के हुन सक्छ ? सुख–दुःखको चक्रभित्र पनि जीवनको फूल झन् सुन्दर भएर फक्रन्छ, झन् मीठो सुगन्ध दिन्छ ।
हामीले देख्ने फूलहरू वनमा मात्र हुँदैनन् । कोही मान्छेहरूको मुस्कान फूल भएर प्रकट भएको हुन्छ, कोही आमाका माया फूल हुन्छ, कोही प्रेमिका–प्रेमीको नजर फूल हुन्छ । कोही बालकको निश्चल हाँसो फूल हुन्छ । यी सबै विविध फूलहरूले जीवनलाई साँच्चै जिउन सिकाउँछन् । प्रेरणा दिइरहन्छन् । मायाको आभास गराइरहन्छन् ।
यसैले, फूलहरूजस्तै जीवनलाई सुमधुर बनाऔँ, रङ्गीन बनाऔँ । फूलहरूझैँ हरेक बिहान नयाँ आशासहित फक्रन सिकौँ । अनि, ओइलाउने बेलामा पनि त्यसको गुनासो नगरौँ– किनकि, सुगन्ध फैलाएर बितेको जीवन नै सार्थक हुन्छ । त्यसप्रति कुनै गुनासो गर्नु वा दुखेसो पोख्नु व्यर्थ हुन्छ ।
रङहरूमा कैद हुन्छन् मान्छेका भावनाहरू । तिनै भावनामा पोखिएका हुन्छन् जीवनका रङहरू । तिनै रङमा फुलिरहेका हुन्छन् जीवनका पलहरू । मन्दमन्द मुस्कुराइरहेका हुन्छन् जीवनका सौन्दर्यहरू ! प्रकृतिका शाश्वत सिर्जनाहरू !
क्यानभासमा उत्रिएको रातो गुलाफको चित्रले प्रेमको चिरस्थायी मिठास बोल्छ । एक्लोपनको संवेगमा हल्लिएको बेगमबेली, चम्पाचमेली फूलहरूले हिमालको शीतल हावा फैल्याउँछ । यी फूलहरूका सुगन्ध र सौन्दर्य भन्नु शुद्धता र शान्तिको प्रार्थना हो । कुनै–कुनै फूलका चित्रहरू हाँसिरहेका देखिन्छन्, कुनै मलिन मुस्कान लुकाइरहेका हुन्छन् र कतिपय गहिरो मौनतामा टोल्हाइरहेका लाग्छन् । यी सबै चित्रमा लुकेको सत्य भनेको समयको दर्पण हो । किनभने कलाले समयको आवाजलाई चित्रमा उतारेको हुन्छ ।
क्यानभासमा सिर्जिएको एउटा झरिसकेको फूल अघिल्लो वसन्तको सम्झना हुनसक्छ । त्यही चित्रमा सँगै उभिएको नवप्रस्फुटित कोपिला अर्को वसन्तको संकेत बनिरहेको हुनसक्छ । क्यानभासले एकैसाथ विगत, वर्तमान र भविष्य समेट्छ– एक अनन्तकालीन चक्र जसमा फूलहरू फुल्छन्, ओइलाउँछन्, झर्छन्, फेरि जन्मिन्छन् । कलाकारको कुशल कूचीले समातेको फूल समयलाई समात्न खोज्ने एउटा यत्न पनि हो । यौटा अथक सिर्जनाकर्मको विम्ब पनि हो ।
फूलले समयसापेक्ष कुनै पनि रूप लिन सक्छ । कहिले यो प्रियसीको गालामा फक्रिएको लाली हो, कहिले मायालुको हातबाट छुट्न नचाहने स्मृतिको एउटा कोमल अंश हो । कहिले यो कसैको निधनमा श्रद्धाञ्जलीको रूपमा मौन बसेको हुन्छ, त कहिले नवविवाहित जोडीको ओछ्यानमा सुगन्धित सपनाहरूका रूपमा छरिएको हुन्छ । फूलहरूको चित्र मात्र सौन्दर्यको अभिव्यक्ति होइन; यो प्रेम, बिछोड, आशा, सम्झना र समयको कलात्मक प्रतिविम्बसमेत हो । समग्रमा फूल सिर्जनाकर्मीको भावनाको निर्मल आकृति पनि हो ।
कहिलेकाहीँ फूलका चित्रले एउटा प्रश्न पनि गर्छ– सौन्दर्य के हो ? ताजा फुलेको कमल सौन्दर्य हो कि जमिनमा झर्दै गरेको उसको सुकेको पात ? ओइलाएको फूल कुरूप हो कि त्यसको धुलोमा मिसिएको सुवास अझै पनि ताजा र सुन्दर छ ? वास्तवमा सौन्दर्यको परिभाषा स्थिर छैन, जस्तै फूलको जीवन स्थिर छैन । त्यसरी नै जीवन पनि स्थायी हुँदैन ।
वस्तुतः क्यानभासमा फूलहरू अनेकौँ प्रकारका रङहरूद्वारा अंकित आकृतिहरू मात्र होइनन्, ती जीवनका गहिराइ भर्न सक्ने कविता हुन् । फूलहरू प्रकृतिको गीत हुन्, तिनको मौनतालाई ब्रसले गाएर चित्र बनाउँछ । यसैले, जब कुनै कलाकारले फूलका भाव–सौन्दर्यलाई क्यानभासमा उतार्छ, उसले एक चित्र बनाउँदैन– ऊ फूलको आत्मा कोर्छ, प्रकृतिलाई आफ्नै भाषामा फुलाउँछ । कलाकर्मीले आफ्नो क्यानभासमा फूलसँगै झरेको, ओइलिएको कूरूप रूपलाई समेत समेटेको हुन्छ । तर जब कलाकारको रङमा ती उत्रिन्छन् त्यसपछि त्यहाँ कूरूपमा पनि रूप–सौन्दर्यको दर्शन मिल्छ । यही नै कलाकर्मको धर्म हो ।
यथार्थत्ः क्यानभासमा फुलेका सुन्दर फूलहरू मात्र होइन ती कालजयी कविता पनि हुन् । जहाँ मृत्युले पनि जीवनको आवरण पाएको हुन्छ । जहाँ उपेक्षा र घृणाको घेराबन्दीमा पनि सहानुभूति, सद्भाव र सप्रेम स्पर्शको उपस्थिति भएको हुन्छ ।
फूल वनस्पति होइन, न त मात्र सुगन्ध र रङहरूको सम्मिश्रण । फूल एक अनुभूति हो– समयको संवेदनशील साक्षी, मौनतामा गुञ्जिने गीत र प्रकृतिको कोमल स्पर्श । जब कुनै कलाकारले फूललाई क्यानभासमा उतार्छ, ऊ दृश्यचित्र बनाइरहेको हुँदैन– ऊ त तिनको आत्मालाई पुनर्जीवन प्रदान गरिरहेको हुन्छ ।
ब्रसले जब रङहरूलाई प्रेमपूर्वक क्यानभासमा मिसाउँछ, तब त्यहाँ कुनै एउटा फूल मात्र जन्मँदैन, एउटा कविता फुल्छ । त्यो कविता कुनै पानामा अक्षर बनेर बसेको हुँदैन; बरु, प्रत्येक रङको तहभित्र लुकेको हुन्छ, प्रत्येक रेखाभित्र सङ्गीत बनेर बगिरहेको हुन्छ । कलाकारको हातमा ब्रस एउटा साधन मात्र होइन, त्यो त एउटा वाद्ययन्त्र हो, जसले मौनतालाई रङ्गीन संगीतमा बदल्छ । पीडामा पनि सहानुभूतिको सद्भाव समेटिएको हुन्छ । आशाको बिहान फक्रिरहेको हुन्छ । विश्वासको दैलो खुलिरहेको हुन्छ ।
बोटबाट एउटा कुनै फूल जब चित्रमा जन्मिन्छ, त्यसले प्रेमको सन्देश बोकेको हुन्छ । कुनै शिरिषको फूल जब क्यानभासमा अङ्कित हुन्छ, त्यसले वसन्तको आत्मा बोलिरहेको हुन्छ । कमलको चित्र पानीभन्दा पर, ध्यानको गहिराइमा हराइरहेको हुन्छ । रङहरू, रेखाहरू र बनोटहरू कुनै फूलको शारीरिक आकृति मात्र होइनन्, ती प्रकृतिको अन्तरकथा पनि हुन् ।
कहिलेकाहीँ, क्यानभासमा फूलहरू वास्तविकताभन्दा पर जान्छन् । तिनको आकार विक्षिप्त हुन सक्छ, तिनका रङहरू कल्पनाका बादलहरूमै सीमित हुन सक्छन् । तर त्यहाँ एउटा सत्य लुकेको हुन्छ– त्यो सत्य, जसले पुष्पगन्धभन्दा गहिरो कुनै अनुभूति दिन्छ । कलाकारले कोरेका फूलहरू कुनै बगैँचामा सिँगार्न रोपिएका हुँदैनन्; ती त मानसपटलमा उम्रिएका स्वप्न हुन् ।
र, जब कोही कलापारखी दर्शक ती फूलहरूको चित्र हेरिरहेछ, उसले तिनको सौन्दर्य महसुसमात्र गरिरहेको हुँदैन– ऊ त रङहरूभित्र लुकेको भावना पनि पढिरहेको हुन्छ । क्यानभासमा अंकित फूलहरू मौन भए पनि, तिनको भाषा मनभित्र प्रतिध्वनित भइरहेको हुन्छ । त्यो प्रतिध्वनि कहिले विगतका सम्झनाहरूमा घुल्छ, कहिले वर्तमानको उल्लासमा फुल्छ र कहिले भविष्यका सपनाहरूसँग समाहित हुन्छ ।
यसरी, क्यानभासमा फुलिरहेका फूलहरू रङहरूको संयोजन मात्र हुँदैनन् । ती जीवनका अनुवाद हुन् । प्रकृतिको मौन गीत, जसलाई ब्रसले गाएर चित्र बनाएको हुन्छ । कलाकारले जब फूल कोर्छ, ऊ प्रकृतिलाई आफ्नै भाषामा फुलाउँछ, र त्यसरी नै, क्यानभासमा फुलेका ती फूलहरू आकृति नभएर कविता बन्छन् । जीवन्त सौन्दर्यका दस्तावेज बन्छन् । तिनै फूलहरूको सौन्दर्यमा जीवन फुलिरहेको हुन्छ ।








