
काभ्रे ।साहित्यिक अभियान्ता तथा हिमाल आरोही, र ‘मेची–महाकाली साहित्यिक दौड’ का प्रणेता लक्ष्मण सापकोटाको निधन भएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला पनौती निवासी साहित्यकार लक्ष्मण सापकोटाको बिहिबार बिहान दु:खद निधन भएको छ।
स्वास्थ्यमा एक्कासि समस्या आएपछि धुलिखेल अस्पताल पुर्याइएका साहित्यकारको विहिबार बिहान उपचारको क्रममा निधन भएको हो ।बिहिबार नै पनौतीको त्रिवेणी घाटमा अन्त्यष्टी गरिएको थियो ।
साहित्य, साहसिकता, र सामाजिक चेतनाको संगम बनेका सापकोटाको जीवन यात्रा उहाको अपुरै रहेको छ । सापकोटाले वि.सं. २०७६ मा ‘नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड’ सम्पन्न गर्दै करिब ५०० किलोमिटरको यात्रा दौडिएरै पार गरेका थिए, जसले नेपाली साहित्यमा नयाँ आयाम थपेको थियो । त्यसअघि, वि.सं.२०७३ मा ‘मेची–महाकाली साहित्यिक दौड’ सम्पन्न गर्दै उनले साहित्यिक चेतनाको ज्योति देशभर फैलाएका थिए ।
सापकोटाले २०७४ सालमा इम्जात्से र मेरापिक हिमाल आरोहण गरेका थिए ।
त्यस वर्ष, उनले सगरमाथा आरोहणको प्रयास गरेका थिए, तर स्वास्थ्य समस्याका कारण ५२०० मिटर उचाइबाट फर्कनुपरेको थियो । उनले भनेका थिए, ‘आफ्नो अभियानबाट विचलित हुने स्वभाव ममा छैन, देश र जन्मभूमिको ताम राखेरै छोड्नेछु ।’ उनको अन्तिम भावना थियो ।
सापकोटाको निधनले नेपाली साहित्यिक र साहसिक क्षेत्रले एक प्रेरणादायी व्यक्तित्व गुमाएको उनलाई सकारात्मक सोचका धनी व्यक्तित्व रहको उनको बारेमा बुझेका साहित्यकारहरु बताउँछन् । उनको अधुरो सगरमाथा यात्रा र अधुरो सपना नेपाली साहित्यिक समाजका लागि एक चुनौती र प्रेरणा बनेर रहनेछ ।
नेपाली साहित्य यतिबेला फेरि एक पटक शोकमा डुबेको जानकारहरु बताउँछन् । साहित्यकारहरु भन्छन्, ‘हामी सबैले सापकोटाको योगदानलाई सम्झनु र उनका अधुरा सपनाहरूलाई पूरा गर्ने दिशामा अघि बढ्नु हाम्रो कर्तव्य हुनेछ ।’









