
काठमाडौँ।सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अगामी सोमबार (भदौ १) इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एक इजलासमा भएको बहसपछि उक्त आदेश भएको हो ।
आदेशमा बरामद सामग्रीसहित उपस्थित गराउन भनिएको छ । पत्रकार श्रेष्ठको पक्राउविरुद्ध उनकी पत्नी सरस्वतीले बिहीबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ । प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको घर खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री जफत गरेको दाबी बन्दीप्रत्यक्षकरण रिटमा गरिएको छ ।
श्रेष्ठको पक्राउबारे जिल्ला अदालत काठमाडौंले बिहीबार नै अनुसन्धानका लागि तीन दिनको थुना म्याद दिएको थियो ।



