
काठमाडौँ । आयुष्मान खुराना र सारा अली खानको नयाँ फिल्म ‘उडता तीर’ प्रदर्शनका लागि तयार भएको छ। यतिबेला यी कलाकार फिल्मको प्रचारप्रसारमा व्यस्त छन् ।
तर यसैबीच ‘उडता तीर’ लाई नेपालले प्रतिबन्ध लगाएको छ। नेपालको सेन्सर बोर्डले फिल्म हेरेपछि यो निर्णय लिएको हो, जसका कारण फिल्मको प्रदर्शन रोकिएको छ। यद्यपि अहिलेसम्म आधिकारिक निकायका तर्फबाट फिल्ममाथि प्रतिबन्ध लगाउनुको कारण स्पष्ट पारिएको छैन।
इन्डिया टुडेको रिपोर्ट अनुसार नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्मका स्थानीय वितरक नेसनल सिने ग्रुप नेपाल प्राइभेट लिमिटेडलाई आधिकारिक पत्र लेखेर आफ्नो निर्णयको जानकारी गराएको हो। मन्त्रालयले सेन्सर बोर्डको मूल्यांकनका आधारमा फिल्मलाई सार्वजनिक रूपमा प्रदर्शन गर्ने अनुमति दिन अस्वीकार गरेको छ।
आयुष्मान खुराना र सारा अली खानको यो फिल्म जासुसी तथा आतंकवादविरुद्ध चल्ने मिसनको पृष्ठभूमिमा आधारित छ।
