रसुवाको स्याफ्रु गाविस,ठूलो मार्खा गाउँ । ४३८० मिटरको उचाईमा अबस्थित आकर्षक धार्मिक र पर्यटकीय स्थल गोसाइँकुण्ड जहाँ तामाँग संस्कृतिसँग पनि साक्षात्कार गर्ने अबसर मिल्छ । लामटाँग,नयाँ खाँग,याला पिक ,गणेश हिमाल,मनास्लु हिमाल लगायतका हिमश्रृँखलाहरुको रमणिय दृश्यापान गर्न पनि पाउने स्थान हो यो ।वरिपरि नाँगा पहाडले घेरिएको यो पवित्र स्थान गोसाइँपहाडको काखमा फैलिएर रहेको छ ।
स्थानीय भाषामा ‘ग्वेलछेन’,तिब्बती भाषामा ‘शिशापाँगमा’,नेवारी भाषामा ‘सिलु’ तीर्थको रुपमा प्रख्याती पाएको धार्मिक,साँस्कृतिक र प्राकृतिक तिर्थस्थलको त्रिवेणी हो । यसलाई नेपालको संस्कृति ग्रन्थहरुमा ‘नीलकण्ठतिर्थ ‘पनि भनिएको छ । हिमवत्सखण्डमा गोसाइँकुण्डको महिमा उल्लेख गरिएको छ । यसको ४६ औं अध्यायमा भैरव कुण्डमा नुहाउने जो कोहीको पनि सारा पापवाट मुक्त हुन्छन् । यहि महत्व बुझेर होला उपत्यकाका मल्ल राजाहरुले पनि त्यहाँ पुगेर स्नान गरेका थिए । ऐतिहासिक महत्व पनि उत्तिक्कै भएको यो स्थानमा उतिवेला वि.सं.१८०१ मा पृथ्वी नारायण शाहले नुवाकोट विजय गरेपछि गोसाईँकुण्डमा स्नान गरेका थिए ।ऐतिहासिक पात्र अमरसिंह थापाले आफ्नो जीवनलीला त्याग गरेको ठाउँ हो यो । तिब्बती लामा धर्मगुरु पद्य सम्भवले स्थान गरेको ठाउँ हो यो । यहि ठाउँ त्रिशुली गंगाको उदगमस्थल पनि हो ।
रसुवामा प्रत्येक बर्ष गंगा दशहरा पर्व अन्तर्गत हिन्दुहरुको पवित्र मानिएको तीर्थस्थल गोसाइँकुण्ड स्नान गर्न भक्तजनहरुको भिड लाग्न थालेको छ । दर्शनार्थी भक्तजनहरु सुलाद्री पर्वत आरोहण गर्न थालिसकेका छन् ।यो संगै गोसाइँकुण्ड मेला प्रारम्भ भएको छ । पर्यटकीय तथा धार्मिक महत्वको यो स्थान जसलाई शिवकुण्ड नामले पनि चिनिन्छ । कुण्डमा दशहरा र जनाई पूर्णिमामा हजारौं श्रद्धालु भक्तजनहरुको भीड लाग्छ । प्राकृतिक मनोरम छटाले भरिएको यो स्थानमा विभिन्न कुण्डहरु छन् । भैरवकुण्ड,सरस्वतीकुण्ड,पार्वतीकुण्ड,सूर्यकुण्ड जस्ता १०८ कुण्डहरु रहेको यो ठाउँ पर्यटकीय दृष्टिले समेत चर्चित छ ।
आज जनैपूर्णिमा । यो पवित्र अबसरमा गोसाईकुण्डमा दर्शन गर्ने र स्नान गर्नका लागि भक्तजनहरुको भीड लागिसकेको छ । नागपञ्चमीबाट सुरु भएको धार्मिक यात्रा जनैपूर्णिमासम्म रहने गर्दछ । धार्मिक रुपले अत्यन्तै पवित्र मानिएको यहाँ जनैपूर्णिमाको दिन सम्पूर्ण देवीदेवताहरुको बास हुने धार्मिक विश्वास रहिआएको छ । यसैले सबै मनोकाँक्षा यो बेला दर्शन गरी स्नान गर्नाले मिल्ने विश्वासले गर्दा दर्शनार्थीको भीड हुने गर्दछ ।साँस्कृतिक एकतालाई महत्व दिने स्थान विभिन्न धर्म सम्प्रदायका धार्मिक आस्थाको केन्द्रको रुपमा पनि यसको महत्व हुँदै आएको छ ।
यति मात्र हैन् प्राकृतिक सुन्दरताको वैभवको आस्वादान गर्न पनि पर्यटकहरु जाने गन्तब्य हो यो । हेरिरहुं, देखिरहुं लाग्ने सुन्दर दृष्यहरुको वर्णन शब्दमा गर्न सकिँदैन् । यहाँ जान अलिक कष्ट महसुस भएपनि पुगिसकेपछि सबै कष्ट र तनावहरु दुर हुन्छन् । सिमसिमे पानी,बादलका बुट्टाहरुको लस्कर,कुहिरोले माला लगाएका डाँडाकाँडाहरुले कसको मन नखिच्ला । सय भन्दा बढी प्रजातिका फूलहरु फुल्ने,रेडपाण्डा जस्तो दुर्लभ मानिएको बन्यजन्तु पाइने क्षेत्र पनि हो यो । जुका पनि लेकमा नलाग्ने कुरै भएन ।
मनले चिताएको पुरा हुने ,पाप पखालिने ,पुण्य कमाइने प्रचलित धार्मिक महत्व र विश्वासको कारण पनि यहाँ तिर्थालुहरु जाने गर्दछन् । यो बौद्ध एवं हिन्दु दुबैको साझा आस्थाको केन्द्रको रुपमा रहेको छ । जनैपुर्णिमा र दशहराका दिन विशेष मेला लाग्ने भएकोले यो समय यहाँ बढी भिडभाड नै हुन्छ । सत्ययुगमा देउता र दानवले अमृतकालागि समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विषलाई भगवान शिवले पिउँदा उत्पन्न भएको डाहले छट्पटिँदै गोसाइँकुण्ड आएर छटपटी मेटाउन निलाद्री पर्वत पुगेको कहावत छ । त्यहाँ पुगेर भूइँमा त्रिशुल बजार्दा निस्केको जलले प्यास र त्यो कालकुट विषको जलन मेटेको पौराणिक धार्मिक कथासँग पनि यो ठाउँको महिमा जोडिएको छ ।यो ठाउँको महिमाको वर्णन स्कन्दपुराण हिमवतखण्डमा गरिएको छ । जस अनुसार कुण्डको उत्पत्ति महादेवबाट गराइएको छ । बोधिसत्व अवलोकितेश्वरका रुपमा गोसाईँकुण्डलाई पुज्ने गरिन्छ ।
ऐतिहासिक महत्व पनि उत्तिक्कै भएको यो स्थानमा उतिवेला वि.सं.१८०१ मा पृथ्वी नारायण शाहले नुवाकोट विजय गरेपछि गोसाईँकुण्डमा स्नान गरेका थिए ।ऐतिहासिक पात्र अमरसिंह थापाले आफ्नो जीवनलीला त्याग गरेको ठाउँ हो यो । तिब्बती लामा धर्मगुरु पद्य सम्भवले स्थान गरेको ठाउँ हो यो ।
उकालो छ । जो चढ्न सक्दैन उ धुन्चे नजिकको मिनी गोसाईँकुण्डमा स्नान गर्छ । यहाँ जानको लागि काठमाडौंबाट बसयात्रा गरी धादिगको गल्छी हुँदै नुवाकोट पार गर्ने अनि रसुवाको धुन्चेबाट पदयात्रा थालनी गर्दै सुन्दर प्राकृति दृष्यको आनन्द लिंदै जान सकिन्छ । कम्तिमा ४ दिनको समय उपयुक्त हुन्छ । सुन्दरीजलबाट पनि जान सकिन्छ । आउनुहोस तपाई पनि धार्मिक तथा आन्तरिक पर्यटक बन्नुस र धार्मिक महिमा तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोसाइँकुण्डको यात्रा गरी पुण्य कमाउनुहोस । प्रकृतिको सुन्दरतासँग रमाउनुहोस ।