
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश दिएका छन् ।
र्वराजा शाहले नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन् ।
पूर्वराजा शाहले नेपाल राष्ट्र निर्माणको पृष्ठभूमि चर्चा गर्दै भिडियो सन्देशमा भनेका छन्, ‘विश्व साम्राज्य कसैको अधिनमा थियो । संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै थिए । थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौती थिएन ।’
उनले देशको आन्तरिक एकता र अविच्छिन्न राष्ट्रिय अस्मिता रक्षाका सूत्र दिव्योपदेशबाट प्राप्त भएको, चार वर्ण छत्तिस जातको फूलबारी नेपाल भएको चर्चा गरेका छन् । शाहले नेपाल मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति भएको देश भन्दै यसका लागि बाहिरी मुलुकबाट आएको वैचारिक विवाद आवश्यक नरहेको तर्क पनि गरेका छन् ।
‘हामीसँग मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, न्याय, कूटनीति हुँदाहुँदै परायाबाट सिर्जित वाद र विवादको चक्रव्युहमा किन फस्यौं भनी आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन् ।
शाहले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको पनि वक्तव्यमा उल्लेख गरेका छन् । ‘राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यता जानुपर्छ । समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ,’ उनको जोड छ ।
विहिबार साँझ पूर्वराजाको यस्तो बक्तब्य सार्वजनिक भएको थियो ।








