
काठमाडौँ । नागार्जुन वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि तारादेवी सुनुवारको नवीनतम कविता सङ्ग्रह ‘जिर्मा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
राजधानीमा आयोजित उक्त कार्यक्रममा साहित्यकार, विश्लेषक तथा प्रबुद्ध व्यक्तित्वहरूले कृतिको वैचारिक र साहित्यिक पक्षमाथि गहन विमर्श गरेका थिए।
कार्यक्रममा प्रमुख टिप्पणीकारका रूपमा बोल्दै राजनीतिक विश्लेषक, कवि तथा साहित्यकार आहुतिले ‘जिर्मा’ कविता सङ्ग्रहलाई पहिचानको मुद्दासँग जोडेर विश्लेषण गरे। पहिचानको अवधारणालाई संस्कृति र सभ्यतासँग जोड्दै उनले भने, “पहिचान भनेको भाषा, संस्कृति र सभ्यताको समष्टि रूप हो। जबसम्म हामीले आफ्नो भाषा, संस्कृति र सभ्यता बचाउन सक्दैनौँ, तबसम्म हाम्रो पहिचान रहन सक्दैन।” ‘जिर्मा’ ले यही अस्तित्वको लडाइँलाई कवितामार्फत मुखरित गरेको उनको भनाइ थियो।
त्यसैगरी, अर्का टिप्पणीकार प्रगतिशील चिन्तक एवं प्राध्यापक डा. जगदीशचन्द्र भण्डारीले ‘जिर्मा’ कविताभित्रको बहुआयामिकतामाथि प्रकाश पारे। कविता सङ्ग्रहभित्र सीमान्तकृत स्वर, वैयक्तिक एवं वर्गीय प्रेम र सामाजिक विकृति लगायतका विविध विषय समेटिएको चर्चा गर्दै डा. भण्डारीले भने, “नेपाली साहित्यको पहिचानवादी आन्दोलनमा यो कविता सङ्ग्रह आफैँमा एउटा बलियो दस्तावेजका रूपमा स्थापित हुनेछ।”
कार्यक्रममा कृतिकार कवि तारादेवी सुनुवारले आफ्ना केही प्रतिनिधि कविताहरू वाचन गरेर सुनाएका थिए। आफ्ना सिर्जनाको रचनागर्भबारे प्रष्ट पार्दै उनले भने, “यी कविताहरू मैले फरक-फरक कालखण्डमा लेखेकाले यसभित्र विविध विषयवस्तु र परिवेश समेटिएका छन्।”
साहित्यिक वृत्तका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा वक्ताहरूले ‘जिर्मा’ सङ्ग्रहले नेपाली प्रगतिशील साहित्य र पहिचानवादी साहित्यिक आन्दोलनमा एउटा नयाँ र दरिलो इँटा थपेको निष्कर्ष निकालेका थिए ।








