
साहित्यकार तथा साहित्यिक पत्रकार सुमी लोहनीको कृति ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) एक समारोहबीच सार्वजनिक भएको छ ।
ओशो तपोवन काठमाडौंमा आयोजित कार्यक्रममा स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा कृतिकार सुमी लोहनीले संयुक्त रूपमा कृतिको लोकार्पण गरे ।
कार्यक्रमका स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ अठारजना साधकका बीच अष्टावक्र गीताको चर्चा गरेको उल्लेख गर्दै त्यसलाई विलक्षण र दुर्लभ ग्रन्थका रूपमा स्वीकार गर्नुका साथै ग्रन्थ जनकपुरको माटोमा जन्मिएको कारण त्यसको प्रवद्र्धनमा संवेदनशील हुनुपर्नेमा जोड दिए ।
कृतिकार सुमी लोहनीले कृतिको रचनागर्भका बारेमा प्रकाश पारिन् ।
साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताका बोरमा आफ्नो विचार व्यक्त गरे ।
साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको अष्टावक्र महागीतामृतको मूल्य २४० रुपैयाँ रहेको छ ।

