मलाई जितगढी जानु थियो । हुनत ट्राफिक चोकबाट जितगढीका लागि सवारीसाधन नपाइने होइन तर किन हो कुन्नि आज मलाई हिँडेरै जान मन लाग्यो । ट्राफिक चोकबाट वी.पी. चोक हुँदै फुत्त पुरानो बसपार्क निस्कने बाटो छ । मैले त्यही बाटो समातेँ । वी.पी. चोकमा केही क्षण रोकिएँ, बजार हेर्दै । पैदल यात्री हिँड्ने यो व्यस्त बाटो हो । यो अत्यन्त व्यस्त बाटो हो । आज पनि मानिसको भिड थियो त्यहाँ । म सरासर अघि बढेँ । “ए ! चिनेनौ र !” एउटी अधबैसे महिला अगाडि आएर सोधिन् । यो अपरचित ठाउँमा अकस्मात् “तिमी” भन्दै सम्बोधन गर्ने को होला ! म अन्योलमा परेँ । “नचिनेकै हो त !” उनले फेरि सोधिन् । न अग्ली न होची । गहुँगोरी, न मोटी न पातली, मेहन्दी लगाए पनि कानतिरका एकदुई रौँ चाँदीरङ्गे । आँखामा पावरवाला चस्मा । उनलाई चिन्ने निकै प्रयास गरेँ तर सकिनँ । “ओहो ! साँच्चिकै बिर्सिएकै हो त ! म रामप्यारी क्या !” उनले चिनाउने प्रयास गरिन् । म झसङ्ग भएँ। मेरो स्मृतिपटलमा विगत फिल्मको रिलझैँ घुमिरह्यो । “ए ऽऽऽ ! रामप्यारी पो !” कहाँ हिँडेकी मैले भनेँ । “बेलबास ।” उनले छोटोमा टुङ्ग्याइन् । हामी हिँड्दै कुरा गर्न थाल्यौँ । “छोराछोरी कति छन् तिम्रा ?” मैले जिज्ञासा राखेँ । उनले मलिन हुँदै बिहे नै नगरेको जानकारी गराइन् । “ए ऽऽऽ ! ” मैले भनेँ । “अहो ! मैले उतिबेलै यिनीसँग भनेको भए ।” रामप्यारीले मनमनै सोचिन् । “आखिर बैँस पनि त त्यतिकै जाँदो रहेछ नि त । साँचेर राख्न सक्यौ त !” मैले सोधेँ । उनी केही बोलिनन् । रामप्यारीलाई उति बेला “हुन्छ त नि !” नभनेकोमा थक्क थक्क लाग्यो । उनले सोचिन्, अहो ! उतिबेला निराभिमानी भई हुन्छ भनिदिएको भए !” हामी नेपालगन्ज रोडमा निस्कनै लागेका थियौँ । मैले वरिपरि नजर लगाएँ । बाटोभरि मानिसहरू आआफ्नै छाँटमा हिँडिरहेका थिए ।






