
काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद् अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेकोे प्रबन्ध समिति बैठकले नगद राशि एक लाख २५ हजारको उक्त पुरस्कार सिग्देललाई प्रदान गर्ने निर्णय गरेको हो ।
परिषद्ले राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २१३औँ जयन्ती यही असार २९ गते भानु मा.वि. रानीपोखरीअगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पण गरेर मनाउने जनाएको छ । साथै, अपराह्न लेखनाथ साहित्य सदन, सोह्रखुट्टे, काठमाडौंमा आदिकवि भानुभक्त पुरस्कार समर्पण गरिने जनाएको छ ।
परिषद्बाट ‘आदिकवि भानुभक्त पुरस्कार’ २०५२ सालदेखि हरेक वर्ष भानु जयन्तीका दिन प्रदान गरिँदै आएको छ ।


