काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँदिल्लीको उच्चकोटीको वातानुकूलित होटलमा पनि चिटचिट पसिना छुट्यो । जसलाई नियन्त्रण गर्न प्रधानमन्त्री दाहाललाई धौधौ परेको लाग्यो ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई दिन उनको शपथ ग्रहण समारोहका अतिथि थिए दाहाल र पुगेका थिए नयाँदिल्ली । नयाँदिल्ली जानुअघि मात्र दाहालले अध्यक्षता गरेको मन्त्रीपरिषदले ११ कुटनीतिज्ञलाई काठमाडौं फिर्ता बोलाएको थियो, जसमा नयाँदिल्लीमा रहेका नेपालका राजदूत शंकर शर्मा पनि परेका थिए ।जुन देशका नयाँ प्रधानमन्त्रीलाई वधाई दिन दुइदिन पछि जानुपर्ने छ, त्यही देशमा रहेका आफ्नो देशका कुटनीतिक प्रतिनिधिलाई फिर्ता बोलाईसकिएको छ । कुटनीतिक अर्थमा यो त असन्तुष्टि प्रकट गरेको, विरोध गरेको वा आपत्ति प्रकट गरेको जस्तै घटना थियो नयाँदिल्लीस्थित नेपाली राजदूत फिर्ता बोलाईनु \
पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्का यसलाई सरकारको अति अदूरदर्शी कार्य भन्न रुचाउँछन् । ‘सत्तामा नेतृत्व परिवर्तन भएपछि अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने चलन पुरानै हो, यो परम्परा जस्तै बनिसकेको छ । मौका पाउँदा सबैले यस्ता काम गर्दै नै आएका छन् तर यसपटक भने प्रधानमन्त्री दाहाल नराम्ररी चुक्नुभयो’ संसदको अन्तर्राष्ट्रिय समितिका सदस्य खड्काले भने ।
फिर्ता बोलाईएका राजदूत शंकर शर्माले पनि आफूलाई नयाँदिल्लीमा कुटनीतिक सकस परेको निकटस्थसँग सुनाएका छन् ।‘मलाई फिर्ता आउ भनेर निर्णय गर्ने सरकारका नेता प्रधानमन्त्री नयाँदिल्ली आइरहेका छन्, शपथग्रहण समारोहमा जानु कि नजानु म बडो धर्मसंकटमा परें’ शर्मालाई उदृत गर्दै एक पूर्वराजदूतले नेपाल न्यूज बैंकसँग भने, वास्तवमा सरकारको अपरिपक्व निर्णयका कारण प्रधानमन्त्री र राजदूत दुवैजना नयाँदिल्लीमा पानी पानी हुनुपर्यो । ‘दुवैजनाले जसोतसो अनुहार रातोपिरो पारेर भएपनि कुटनीतिक संकट टारे’ ती पूर्वराजदूतले टिप्पणी गरे ।
सरकारले २४ जेठ बिहीबार ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो । मन्त्रिपरिषद्को भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाएको थियो ।अघिल्लो गठबन्धनका बेलामा राजदूत नियुक्त भएकालाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो ।
नयाँदिल्लीबाट फर्किएपछि प्रधानमन्त्री दाहालले विमानस्थलमा राजदूत फिर्ता बोलाउने निर्णयप्रति पछुतो मानेका थिए ।