
दुई छोटा कविता
शुषमा चित्रकार
साँझ
दिनभरि घाममा उभिएर
थाक्छ कालो पहाड
क्षितिजमाथि
पारदर्शी पर्दा टाँग्छ तुँवालो
अन्यमनस्क आकाश
गोधुलीको धुलोमा
अलिकति अँधेरो निचोरेर
चिसिंदै गरेको
धर्तीमा झार्छ ।
अहम्
हामी दुबैका
दृष्टि फरक छन्,
परिभाषा अलग
स्वाभाविक हो ।
प्रत्येकले प्रत्येकको
बुझाइ बुझ्न
तर्नु पर्ने खोला
तर
धमिलो, गहिरो र चौडा छ।
