
लघुकथा
भोक
रामसुन्दर देउजा
स्कुल पढ्दादेखी नै रोशनले सरितालाई मन पराउँथ्यो। कलेज पढ्दाखेरी पनि उनीहरू सँगसँगै भए । रोशन ब्राह्मण जातको थियो भने सरिता नेवार जातकी ।रोशनले प्रेम प्रस्ताव राख्दा सरिताले जात नमिल्ने कुरा गरिन् ।अहिले २१औं शताब्दीमा पनि के जातपातको कुरा गरेको नि । मन मिल्नुपर्छ भैहाल्यो नि भनेर रोशनले बुझाउने प्रयत्न गर्यो । सरिताको पनि भित्री इच्छा त रोशन नै थियो ।तिम्रो परिवारले नस्वीकार्लान नि भनेर रोशनलाई सम्झाउने कोशिस गरिन् । रोशनको ढिपीको अगाडि सरितको केही लागेन ।
रोशनले घर परिवारमा आफ्नो कुरा राख्यो । उनका बाबू कट्टर ब्राह्मण भएकाले त्यसो हो भने यो घरमा फर्किएर आउनु पर्दैन भने ।रोशन निराश भै फर्कियो र सरितालाई सम्झाइबुझाइ दुईचारजना साथीभाइ बोलाएर मन्दिरमा गइ सिन्दुर हाल्यो । उनीहरूले भगवानलाई साक्षी राखी जुगजुगसम्म सङ्गै जिउने वाचा गरे ।
उनीहरूको एउटा छोरो जन्मियो ।उनीहरू सामान्य चिया पसल चलाएर बसेका थिए ।अब त्यसले गुजारा नचल्ने भएपछि रोशन वैदेशिक रोजगारीका लागि साउदी अरबतिर लाग्यो ।त्यहाँबाट २र४ दिनमा फोन गरिरहन्थ्यो र महिनैपिच्छे केही पैसा पठाइरहन्थ्यो ।
समय बित्दै गयो,पल्लो घरमा बस्ने अशोकसँग सरिताको हिमचिम बढ्दै जान थाल्यो ।अशोक अफिसबाट आउँदा तरकारी पनि ल्याइदिन्थ्यो ।बेलाबेलामा उनीहरू सङ्गै सपिङ जान थाले ।सरिता अशोकलाई छोड्नै नसक्ने भैसकेकी थिइन् । उताबाट रोशले फोन गर्दा सब ठिक छ भन्थिन ।रोशन पनि २ बर्ष पूरा गरेर छुट्टीमा आउने भयो र खुसी हुँदै सरितालाई फोन गर्यो ।उनले पनि बनावटी खुसी व्यक्त गरिन् ।
टिकट काटेर रोशन नेपाल आयो । एयरपोर्टबाट सरितालाईफोन गर्यो । फोन स्वीच अफ थियो । एयरपोर्टको प्रक्रिया पूरा गरेर ट्याक्सी रिजर्भ गरेर ऊ कोठामा पुग्यो ।
टेबुलमा एउटा कागजको टुक्रा देख्यो । त्यसमा लेखिएको थियो ‘प्रिय रोशन ! मैले जवानीको भोक खप्न सकिन ।तिम्रो नासो तिमीलाई नै छोडेको छु ।राम्रोसँग सम्हाल । म टाढा भैसकेको छु ।’
रोशनलाई रिंगटा चल्यो । कति सपना सजाएर आएको थियो ऊ । उसको मस्तिष्कमा जुगजुगसम्म सङ्गै जिउने वाचाको त्यो पल सम्झियो । उसले विदेशमा गरेको दुस्ख सम्झियो । ऊ रित्तो थियो । उसले हातका ठेला हेर्यो । उसको हातमा कागजको टुक्रा अझै थियो । कोठामा छोरो रोइरहेको थियो ।

