
पुराना पुस्तक चर्चा
कृति : चपाइएका अनुहार
विधा : उपन्यास
उपन्यासकार : दौलतविक्रम विष्ट
दुईपात्रको स्नेह,प्रेम र सदभावको कथा हो । यसकृतिमा दुई संस्कार र संस्कृतिमा हुर्केका पात्रहरुको स्नेहको गाँठो कति कसिलो छ भन्ने चित्रण गरिएको छ । उनीहरुको आपसी सद्भाव र आत्मियता कसरी झाँगिएको छ भन्ने दृष्टान्त प्रस्तुत गरिएको छ । मूख्यतः नेपाली अनन्त र जर्मन कीमरिख दुईपात्रहरुमा केन्द्रित छ उपन्यास ।
स्नेह र सद्भाव अंगालौं,युद्धका विभिषिकाबाट मुक्त समाज निर्माण गरौं भन्ने पवित्र भाव पाठकमा समर्पण गर्न सक्षम छ उपन्यास । अफ्रिकाका विभिन्न जंगल सहित नेपाल लगायत विभिन्न देशका वातावरण र परिवेशमा उपन्यास बगेको छ ।
कलात्मकताले लेपन गरिएको यो उपन्यास पाठकहरुमा कुतुहलता जगाउन सक्षम छ ।
चपाइएका अनुहारलाई पहिलो पटक साझा प्रकाशनले वि.सं.२०३० मा प्रकाशनमा ल्याएको हो ।
कृति : पारिजातका कविताको अध्ययन
विधा : अन्वेषण
कृतिकार : सुकुम शर्मा
पारिजातद्धारा लेखिएका कविता पारिजातका कविता,बैसालु वर्तमान र आकाँक्षाको अन्वेषण हो सुकुम शर्माको पारिजातका कविताको अध्ययन कृति । यसकृतिमा शर्माले पारिजातको जीवनी,व्यक्तित्व र कृतित्वको चर्चा गरेका छन् । कवितामा पारिजातको गरेको भाषाको प्रयोग,तिनको विश्लेषण गर्ने प्रयास गरिएको पाइन्छ । कृतिले पारिजातका कविताहरुको मूल्याँकन गर्ने प्रयास पनि गरेको छ ।
कवितालेखनमा पारिजातको बौद्धिकता कसरी मुखरित भएको छ पुस्तकले जानकारी दिन्छ । उनमा परेको स्वच्छन्दताको प्रभाव,पारिजात समेतको संलग्नतामा भएको राल्फा अभियान,अस्तित्ववादी र विसंगतबोधको उनमा परेको प्रभाव,पारिजातको नारीबादी चेत,कला सौन्दर्य र भाषाशैलीगत रुपमा पारिजातका कविताहरुको अबस्था जस्ता विषयहरुको बारेमा जानकारी लिन चाहाने पाठक,शोधार्थी समेतलाई कृति महत्वपूर्ण हुनसक्छ ।
पारिजातका कविताको अध्ययनलाई वि.सं२०६२ सालमा सनलाइट पब्लिकेशनले बजारमा ल्याएको हो ।
कृति : मेरी सासू
विधा : व्यक्तित्व
कृतिकार : इन्दिरा प्रसाई
इन्दिरा प्रसाईले आफ्नी सासु भागीरथा प्रसाईको बारेमा सम्पूर्ण रुपमा चर्चा गरेकी छिन् मेरी सासूमा । चेतनाकी प्रखर नारीको रुपमा उनको जीवनगाथा आएको देखिन्छ । यसले हिजोको नेपाली समाजको नारीको अबस्थाको सजीव चित्र कोरेको छ ।
यस कृतिले एउटा बुहारी कति निष्ठावान छे आफ्नो सासूप्रति भनेर जानकारी दिन्छ भने अर्कोतिर विघठित हुँदै गएको नेपाली समाजको पारिवारिक अबस्थालाई उदाहरण पनि दिन्छ । आफ्ना बाबुआमा,सासुससुरा प्रति समर्पित भएर सेवा गर्नुपर्छ भन्ने सुसन्देश पनि प्रवाह गर्छ कृतिले । यो कृति इन्दिरा प्रसाईंको आफ्नी सासू भागीरथा प्रति गरिएको सेवाभाव र कृतज्ञताको उत्कृष्ट उदाहरण हो । जुन समाजमा अरुले पनि अनुकरण गर्नुपर्दछ ।
मेरी सासूलाई नइ प्रकाशनले वि.सं.२०६५ सालमा प्रकाशनमा ल्याएको हो ।








