
कविता
अस्तित्वकाे व्याकरण
दीपक चौलागाईं
अनिश्चितता नै
अस्तित्वको सौन्दर्य हो ।
घटनाहरू
गाेलाकार घेराजस्ताे
पूर्वनिर्धारित लिकमा हिँड्दैनन्,
न त समयले
सबै उत्तरहरू
पहिलेदेखि नै तय गरेको हुन्छ ।
तिनीहरू त
सम्भावनाका असंख्य ढोकाहरूमध्ये
कुनै एउटा ढोका खोलेर
यथार्थमा प्रवेश गर्छन् ।
सूक्ष्म कणहरूको
अव्यवस्थित देखिने नृत्यबाट
कसरी जन्मिन्छ ग्रहहरूको अनुशासन,
ऋतुहरूको लय,
जीवनको जटिल सङ्गीत ?
कसरी
अराजकताका सूक्ष्म तरङ्गहरूबाट
उदाउँछ सुव्यवस्थित आकृति ?
बोल्ट्जम्यानका सूत्रहरू मौन भएर भन्छन्— अव्यवस्थाभित्र पनि लुकेको हुन्छ
व्यवस्थाको सम्भावित बीज ।
सायद गहिरो प्रश्न यो होइन कि
प्रकृतिले किन
सम्भावनाकाे लङ्गुर-बुर्जा खेल्छ;
बरु प्रश्न त यो हो—
हामीले किन
निश्चिततालाई नै यथार्थको मातृभाषा ठान्यौँ ?
किनकि
ब्रह्माण्डको हृदयमा
आदेशभन्दा बढी
सम्भावनाको धड्कन गुन्जिन्छ ।
सम्भाव्यता कमजोरी होइन,
अपूर्ण ज्ञानको छाया पनि होइन,
न त कुनै ‘भुताहा चाल’ नै हो;
सायद
त्यही नै प्रकृतिको मूल व्याकरण हो ।
जहाँ नियमहरू पनि
सम्भावनाका स्वरमा बोल्छन्,
र निश्चितता पनि
अस्थायी सहमतिजस्तो मात्र रहन्छ ।
र दर्शनवेत्ताहरूले झैँ
मेरो मनले पनि कल्पना गर्छ—
सम्भाव्यता अव्यवस्था होइन,
अस्तित्वले
आफैँसँग गरेको मौन सम्झौता हो;
जहाँ अनगिन्ती सम्भावनाहरू
एकअर्कालाई स्थान दिँदै
क्षणक्षणमा रचिरहन्छन् सृष्टिको नयाँ अंकुर ।
अनिश्चितता नै अस्तित्वको त्रुटि होइन—
त्यही त हो यसको रहस्य,
यसको स्वतन्त्रता, र यसको अद्भुत सौन्दर्य !
किनकि सृष्टिको पुस्तकमा
अन्तिम वाक्य अझै लेखिएको छैन,
र अस्तित्वको व्याकरणमा
सम्भाव्यता नै सबैभन्दा जीवन्त शब्द हो ।


