
चर्चामा पुस्तक
जहाँ आमाहरु कहिल्यै निदाउँदैनन्
चन्द्र गुरुङ चर्चित कवि हुन् । कवितामा जमेका उनी कवितालाई औधी माया गर्छन् । कविताको विस्कुन छर्छन् । मान्छेका पीडा,व्यथाहरुमा उनको ह्रदय अत्यन्तै दुख्छ र कविता कोर्छन् । सहयोगी मनका धनी उनी उत्तिक्कै सहह्रदयी छन् । जस्तो देखिन्छन् कवितामा त्यस्तै भएर प्रस्तुत हुन्छन् । शालीनता र हाार्दिकताको लेपन उनका जीवनका पर्याय हुन् ।
हालै उनले प्यालेस्टाइनी कविताहरु छानेर नेपालीमा अनुवाद गरेका छन् ‘जहाँ आमाहरु कहिल्यै निदाउँदैनन् ‘। कविता कृतिमा संघर्ष र बलिदानले भरिएका प्यालेस्टाइनी कविताहरु छन् । आफु पराधिन नहुन गरेका संघर्षका कथाहरु,आफ्नो माटो जोगाउन गरेका बलिदानीका कथाहरु,आफ्नै भूमिको लागि जहिल्यै लड्नुपर्ने दु:खद अबस्थाहरुको चित्रण गरिएका कविताहरुले यो कृति भरिएको छ ।
समग्रमा प्यालेस्टाइनी जनताको भग्न दु:खको कहानीहरु,उत्पीडन र व्यथाहरु,उनीहरुको राष्ट्रप्रेमको भावनाले भरिएको एकतापूर्ण र जुझारु संघर्षका गाथाहरुको स्पष्ट अभिव्यक्तिमा कविताहरु आएका छन् ।
देशप्रेम सिकाउने,माटाको रक्षार्थ लड्न एकताको भाव सञ्चार गर्ने सन्देशप्रद कविताहरु बलशाली छन् । यसले पाठकको मनमा राष्ट्रप्रेम जागृत गराउँछ । एकताको भावनामा मलजल गर्छ ।
सात दशक लामो इजरायल र प्यालेस्टाइन विचको युद्ध,पचासौं हजारको मृत्यू,हताहत,अंगभंग हुनेको अनगिन्ती संख्या सम्झँदा पनि कहाली लाग्छ । यहि कुराले प्रभावितहरुको पीडा पढ्दा मन किन आतंकित नहोस, युद्धका अनेकौ घाउहरुले भरिएका कविता यहाँ परेका छन् ।
यस कविताकृति भित्र ३९ जना प्यालेस्टाइनी कविहरुका कविताहरु अनुवाद गरि प्रकाशित भएको छ ।
प्रस्तुत कृति जहाँ आमाहरु कहिल्यै निदाउँदैनन् लाई इन्डिको इन ले प्रकाशनमा ल्याएको हो ।
वर्षका विहानीहरु
समीर नेपालको उपन्यास हो ‘वर्षका विहानीहरु’ । कथा जस्तो लाग्ने,कतै संस्मरणले तान्ने उपन्यास छ । उपन्यासकारले आफ्नै कथालाई उपन्यास बनाएको कुरा आत्मस्वीकृतिमै जनाएपछि यो समीर नेपालको आफ्नै कथा हो भन्नेमा दुविधा भएन । यसमा पात्रको बाल्यकालदेखि विद्यालयतहसम्मका भोगाइ र उतिवेलाको चित्रण मज्जैले गरिएको छ । भोजपूरबाट राजधानी पढ्न छिरेको सानो केटोले भोगेका यावत कुराहरुको दृष्टान्त पनि दिएको छ । उतिवेलाका सबैकुराहरुले हामीलाई नोष्टाल्जिक बनाउँछ र बाल्यकालतिर फर्काउँछ ।
एउटा विद्यार्थी परीक्षामा फेल हुँदाको मनोदशा पनि यसमा देख्न पाइन्छ । गाउँ पञ्चायतको सचिव पदको जागीर । पञ्चायती जागीर हुँदा पनि बहुदलको पक्षमा लागेको कारण खेप्नु परेको मुद्धाको सास्तीको बडो मार्मिक चित्रण गरेको छ उपन्यासले । यसमा पहुँच हुँदा पञ्चायती राजमा सरुवा बढुवाका कुरा सजिलै हुने कुरा पनि उपन्यासले बताएको छ । उपन्यासमा बुबालाई सम्झिएको छ भने राजनीतिक दलसँगको सम्पर्कलाई पनि राखिएको छ । समीर नेपालले उपन्यास भनेर बताए पनि यो उनको व्यक्तिगत जीन्दगीका विविध पाटाहरुलाई जानकारी दिन प्रयास गरेका छन् । यसमा आफ्नो विवाह,कुलपुजा लगायतका धेरै घरायसी कुराहरु पनि राखेका छन् ।
उनमा देखिएको परिवर्तन प्रतिको हुटहुटीलाई पनि कृतिले प्रष्ट पार्दछ । ्
सरल भाषाशैली,बर्णनात्मक शैलीमा उपन्यास आएको छ । छोटो बसाइमा पनि पढ्न सकिन्छ । यसो हेर्दा विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेका संंस्मरण,कथा लाग्ने यो उपन्यास रोचक छ ।
बर्षका विहानीहरु ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो ।
मैले खोजेको देश
लामो समय पत्रकारितामा ब्यतित गरेका र चार दशकभन्दा अघि देखि कविता कर्ममा लागेका राजेश ढुंगानाको नयाँ कविताकृति मैले खोजेको देश हो । कविता लेखनीमा बेग्लै पहिचान र मौलिकता बनाएका कवि हुन् उनी । कवितामा कल्पना र अनुभूतिको प्रवाह कविताका विशेषता हुन् । गम्भीर भएर सोच्न बाध्य बनाउने शक्ति छ कवितामा । विचार प्रवाहको बाढी छ । वर्तमान समयको विकृत पक्षहरुमाथि तिब्रतर ब्यँग छ । ४ दर्जन भन्दा बढी कविता समावेश गरिएको यो कृतिमा देशप्रेम मज्जैले देख्न सकिन्छ । उनी समाज,माटो प्रति चिन्ता गर्छन् । राजनीतिमा मौलाउँदो भ्रष्टाचार र कुशासनप्रति आक्रोस पोख्छन् । चाकर्रीको विरोधमा जहिल्यै देखिन्छन् कवि । उनको जीवन र जगतलाई हेर्ने आफ्नै धारणा छ । कविताले सत्कर्म गरौं भन्ने सन्देश पनि दिन्छ । ढुंगानाका कविताहरुमा देखिएको विद्रोही चेतले उनका कविताको बैशिष्ट्यता प्रकट गर्छ । जीवनका सत्यहरु कवितामार्फत उद्घाटित भएको छ ।
यसमा समावेश धेरैजसो कविता छोटा छन् । केह्री केही मझ्यौला पनि लाग्छन् । समाजका हर विषयमा कविता कोरिएका छन् । विषयवस्तुलाई गंम्भिरतासाथ टिपेर नवीन शिल्पशैलीमा कविता गुथेका छन
। बिम्बात्मक र प्रतिकयुक्त कविताहरुले कृति भरिएको छ । सरल भाषाशैली छ । सुस्वादु छन कविता ।
मैले खोजेको देशलाई मीना ढुंगानाले प्रकाशन गरेकी हुन् ।








