निबन्ध
चैतन्यनको रहस्य
बोधराज पौडेल
अन्धकार औँसीको रातजस्तै देखियो, पूर्णिमाको रात । जताततै अँध्यारो मात्र पोखिएको । कहीँ कतै एक धर्सो ताराको पिलपिल देखिएन । मनमा जीवन सङ्घर्षको सारा परिधि सिद्धिएजस्तै लाग्यो । तर, स्याउलाको गोठमा निरन्तर हावाको बेगले चम्किरहेको मुढाको आगोले थोरै तातो बनायो डरले चिसिँदै गएको मेरो मन ।
पात झरेर झिक्रामात्र भएको रुखजस्तै निस्सार बन्दै गएको छ आफ्नै जीवन । पहिरोले लछारेर उराठ बनेका पखेरा र पाखा जस्तै । हेर्नका लागि परपर हरायाली थियो तर शितल र चिसो हावाका लागि छहारी थिएन । पहिरोको आक्रान्तपछि बिस्तारै पलाएका ससाना बिरुवाले उजाड भएको पाखोलाई छोप्न खोजे पनि स्पष्ट देखिन्थ्यो कङ्कालमा परिणत भएको पाखोको चित्र । त्यो पाखो नजिकबाट हेर्दा जति भरिँदै गएको देखिन्थ्यो टाढाबाट उति नै उराठ पनि ।
मूल स्वरूप बगेर कहाँ पुग्यो थाहा छैन । बाँकी रहेका जराको अवशेषले फेरि कुन दिन चुडिँनु पर्ने हो, त्यो पनि कसैलाई थाहा छैन । तापनि कलिला राता मुनाले बिहानी सूर्यलाई बोकेर नाचिरहेको दृष्यले जीवनको अर्थबोध गराउँछ । आशाको त्यही निरन्तरमा बाँचेको छ सबैको अस्तित्व । कहाँ अडिन्छ वा कहाँ लछारिनुपर्छ यो चक्रमा कसैले भन्न सक्दैन । परिणाम यस्तो देखियो खाँदाखाँदैको गाँस घाँटीमा अड्किएपछि पानी खाँदा भित्र जान सकेन । हिक्का छोडेर अड्किरह्यो ।
यत्न धेरै गरियो बाँच्नका लागि । भाँचिएको हातखुट्टा जोडियो । काटिएका औँलाका घाउ भरिए । कहिले आक्रोसको भीडमा फसियो । कहिले आरामले मूर्ति भएर बसियो । तर, जीवनको बोधका लागि यति पर्याप्त थिएन । यहाँ अल्झिएको के हो र कहाँ अल्झिएको भनेर खोज गर्नमा नै समय सकियो । जति खोज गरे पनि समस्या थपिँदै गयो । समस्याको समाधान भेटिएन ।
पात झरेका रुखमा पालुवा आए । पहिरोले लछारेका पाखामा घाँसका विरुवा उभ्रिए । तर, जीवनको निस्सारतामा नौलो आयाम आएन । उसैगरी लत्रिरह्यो पहरोको बाँबियो । न टेका लगाउन सकियो । न अन्यन्त्र फैलाउन नै । लत्रिएर थाकेको बाँबियो र दौडिएर थाकेको जीवनमा केही फरक थिएन । मात्र बाँबियो पुरानो भाग कुहेर झरेपछि नयाँ पलाउने योजनामा थियो । फेरि उस्तै हरियाली भएर भिरको सौन्दर्य बन्न ।
यो यात्रामा जे आउँछ हस् गर्छु भन्नुको विकल्प के नै हुन्छ र ! सानोमा भाँडोमा भात सकिँदा आमाले आज भोक लागेको छैन भनेको झट्ट स्मरण भयो । दुनियाँबाट भागेर जान सक्ने भनेको मृत्युमय जीवन हो । त्यो आफैँ आएन । झन्झा नै सही आफैँ बोलाउन सकिएन । कहिलेकाहीँ उदासी यसरी नै बढेर आउँछ । तर कोलमा नपरी कसरी तेल आउँछ भन्ने ज्ञानले जहाँको तहीँ उभ्याउँछ ।
खडेरीले खाएको मकैमा स–साना घोगा लागेको देखेको आँखाले आशाको दियो निभाउन सकेन । बगरमा काटिँदै गएको फूल केही नभए झैं निरन्तर नदीको प्रवाहमा बगिरहेको छ । आफुले आफैँलाई सान्त्वना दिने अन्तिम विकल्प पनि यही हो । उज्याला हिमाल हेरेर खोँचको अँध्यारोमा बत्ती बाल्नुपर्ने हाम्रो संस्कार कसरी बिर्सनु र । हामीले आफैँले गरेका छौँ भन्दा पनि हामीले हाम्रा पुर्खासँग के सिकेका छौँ र त्यसको प्रयोगमा हाम्रो निपूर्णता कस्तो भन्ने देखाउन कति सकेका छौँ ? यो एउटा साधारण प्रश्न हो । तर, उत्तर खोज्दै जाने हो भने यसको उत्तर पत्ता लगाउन लाखौँ वर्षको समय व्यतित हुन सक्छ । र, हजारौँ तर्कशास्त्रीको जन्म यही विचारले गराउन सक्छ ।
हावामा आएको गन्धजस्तै फैलिन्छ दुःखको पिरामिड । छामेर पत्ता लगाउन नसकिने आकारजस्तै । न त देखियो उड्दै गरेको उसको स्वरूप । नाक फुटाउला झैँ गरेर आएको गन्ध उसैगरी फैलिरह्यो, जसरी निरन्तर छोपिरह्यो दुःखको अदृष्य पीडादायी स्वरूपले । आँखा र आफन्त दुवैले देख्न नसक्ने तर गलाएर आफैँलाई निकम्मा पारिरहेको यो अदृष्य पीडा भुलाउने एउटै बाटो हो आनन्द । जसको खोज त गरिएको छ तर सृष्टिमा भेट्टाउन कठिन पनि ।
कसैको बिबाह होस् या जन्मोत्सव, रमाउन सकेन मन । पीडाले भरिएपछि मन कस्तो झर्को लाग्दो भएको हो सङ्गीतको धुन । कति निरस हो चाडपर्वको रौनक । रङ्गीन पारेर सजाइएका ध्वजापतका र फूलहरू सबै निस्प्रभावी छन् । आकर्षण भन्ने कुरा केही छैन । अहो ! दृष्य त आँखाले भन्दा पहिला मनले पो देख्दो रहेछ । नत्र रमझममा किन निरस हुन्थ्यो होला र मन ?
चञ्चलता बढेर होला, आवेग बढेर आउँछ कहिलेकाहीँ । शान्त बसौँ भन्दा पनि यात्रा नसहेको यात्रीको पेट हुँडलेर बाहिर आउन खोज्ने वान्ताजस्तै गरेर । घुम्न थाल्छन् यथावत् रहेका दृष्यहरू । आफ्नो शिरको चक्करले घुमाउछ प्रकृतिका सिर्जनालाई । रुख, बुट्टा, पहाड सबै घुम्छन् जाबो एउटा टाउको घुम्दा । अनि कहिलेकाहीँ टाउको शक्तिशाली हो कि भन्ने भान पर्छ । तर, अर्कोको हुत्याइमा हुत्तिएको टाउको गाडी रोकिँदा शान्त बस्छ भन्ने जानेर नियन्त्रण हुन खोज्नुको विकल्प छैन ।
के हो भने जीवन लहरिनु मात्र होइन त्यो त सङ्गीत झैं झञ्किएर गुञ्जनुपर्दछ । जसको स्वाद श्रवणशक्तिमा छ । सबै कुराहरू एकै किसिमले बुझ्न र थाहा पाउन सकिँदैन । कति कुरालाई घाण शक्तिद्वारा थाहा पाउनुपर्छ । कुनै कुरालाई चाखेर वा छोएर यसरी धेरै कुराहरू बुझिन्छ । तर मान्छेका कुराहरू उसको व्यवहार र लवजबाट बुझिन्छ । त्यो बाह्य आडम्बरी स्वरूपमा विश्वास गर्नु बेकार छ । जति नै मोटो रुख भए पनि त्यसलाई हिर्काउँदा त्यसको धोद्रोपन आवाजबाटै थाहा हुन्छ । हाम्रो सत्य यही हो जसमा हामीले विश्वास गर्दै आएका छौँ ।
जीवन भनेपछि त्यसमा कला, साहित्य र सिर्जनासमेत बुझ्न सकिन्छ । कलाविहीन जीवन कल्पना गर्न समेत सकिँदैन । त्यो लठ्ठाविहीन तुइनजस्तै हो । यसमा साहित्यले नुन मसलाको काम गर्दछ । यो कुराको असल संयोजन प्रेम हो जो भावनासँग गाँसिएको हुन्छ र जसको मेल अन्तरहृदयसँग छ ।
कति मान्छेहरू प्रेमलाई अल्लारेपनाको सङ्ज्ञा दिन्छन् । तर त्यो बुझाइमा कमी हो । एउटा बच्चाले आमालाई गर्ने प्रेम र परिवार र साथीहरूमा गर्ने प्रेम सबै एकै हुन् । फरक यति छ त्यसलाई कसरी संयोजन गरिन्छ तर सबैमा आस्था, विश्वास, उत्साह, साहस, स–स्नेह र भावपूर्ण सद्भाव हुन जरुरी छ । यी सबै कुरा भएको भावनात्मक सम्बन्धलाई नै प्रेम भनिन्छ ।
अरूलाई दोषारोपण र सत्तोसराप गर्नु आफैँमा क्रुरता हो । यसले शोभनीयतालाई घटाउँछ । बुद्धिमानहरू यसलाई आफ्नो अङ्गको दुस्मन भन्छन् । क्यान्सर भएको भाग काट्नु पर्छ नत्र त्यसले ज्यानै लिन सक्छ भन्ने तर्कले विज्ञानमा काम गर्छ । तर, व्यवहारमा आफ्नै शरीरको अङ्ग काटेर फाल्नु आफैँमा चुनौतीपूर्ण कार्य हो ।
एउटा कोपिला कलिलो मुनामा जब जन्म्यो ऊ राम्रोसँग पक्रन नपाउँदै कुहिन थाल्यो । त्यसका रङहरू माटोमा परिणत भए । हेर्दा हेर्दै गुलाबी रङ फूलबाट माटोमा विलीन भयो । मानौँ त्यो फूल थिएन मात्र वनस्पतिको एक जात थियो । त्यसका काँडाहरू अहिले वरपर छरिएका छन् । ती मसिना टुक्राहरू जहाँ गढे पनि खिल हुन जुन बिझ्यो भने चाहेर पनि निकाल्न सकिँदैन । त्यो दीर्घ कालसम्म आत्मीय भएर बस्छ । आफ्नै शरीरको अङ्ग बनेर ।
जीवनमा पीडाबोध गर्नेहरूका लागि एउटा भनाइ छ– “गद्दारले तक्मा थाप्छन्, वीरहरूले गोली ।” अहिले यस्तै पीडाबोध भइरहेको छ । आफ्नै वरपरको परिधि र वृत्तहरूलाई केलाएर हेर्दा । सत्य के हो भने बितेका परिधिलाई केलाएर हेर्नु भनेको विगततिरै फर्कन खोज्नु पनि हो । विगत इतिहास हुने भएकाले मात्र सम्झना गर्नुपर्छ । त्यहीँबाट नयाँ विषयको खोज सुरु गर्नुपर्छ । तर, त्यहीबाट पश्चगामी हुनु हुँदैन ।
दाँतमा अड्किएको कुरा जिब्रोले सजिलै थाहा पाउछ । तर, हजार प्रयत्न गरे पनि निकाल्न सक्दैन । केही क्षण बिर्सेको अनुभूति गरे पनि त्यसले फेरि त्यही अड्केको स्थानमा आफुलाई पु¥याउँछ । यो उसको आफ्नै स्वभाव हो । बारम्बार प्रयास गर्न सक्छ तर समाधान खोज्न सक्दैन । हाम्रो जीवनको यात्रा पनि यही प्रकृयामा निरन्तर चलिरहेको हुन्छ । सधैँ अल्झन । सधँै अभाव । सधैँ तनाब । जति व्यस्त बनायो उति अस्तव्यस्त ।
रातले अत्यासलाग्दो अँध्यारो छिचोलेपछि सुन्दर बिहानले सूर्योदयलाई भेट्छ । यो जीवनको सुखानुभूतिजस्तै हो । जहाँ हामी अनेक दुःखलाई सँगालेर राख्दै गर्दा खुसीका किरणहरूले हामीलाई उज्यालो देखाउँछन् । अघि दुःखमा आँसु बगाएका आँखाले फेरि एक पटक उसैगरी जल वर्षाउँछन्, मरुभूमिमा मरुधान बनेर ।
भोग्नुपर्ने कुरा भोगेपछि मानिस तृप्त हुन्छ । आकाशले वर्षाएको जलले आकाश नै उज्यालो बनाउँछ । धर्तीमा झरेका पानीका थोपाले बञ्जर बनेको जमिनमा हरियालीका लागि नयाँ आँकुरा उगाउँछन् । प्यासी बनेका रुखहरूले नयाँ पालुवामा लाली भर्छन् । जलवृष्टिको आनन्दमा चराले गाना भर्छन् । खोलाको आपूmलाई पवित्र पार्छन्, हामीले फ्याँकेको फोहोर पखालेर ।
कति शक्ति छ त्यो पानीमा । कतै ट्र्वाइनमा घुमेर आगो निकाल्छ । कतै वर्षौँ मेहनत गरेर बनाएको घरलाई क्षणभरमा आफुमा समाहित गर्छ । कतिलाई आमाले जन्म दिएको मन पराउँदैन होला सायद र सहजै निल्छ । कतिको प्यास मेटाएर सृष्टिको चक्रमा आदिदेखि अनन्तसम्म वंश जोगाउँछ । यहाँ दया, माया, करुणा र वीभत्स सबै छ पानीमा भन्न सकिन्छ । तर कति बेला कसको भाग्यमा के पर्छ त्यो भन्न सकिन्न ।
कसैले नरोपे पनि आफ्नो अस्तित्व कायम गरेर मौलाइरहेका झारका लागि यो आफै मल, बिउ र संरक्षक हो । कहिल्यै बिउ नराखिएको झारलाई अस्तित्वमा राखिराख्ने काम पानीले गरेको छ । माटोमात्र रहेको जस्तो देखिने जमिनमा भएको वर्षाले आफैँ बिउको सिर्जना गर्छ वा आफैँ पानीमा धर्तीबाट झारको बिउ सदैव सञ्चय गरेर राख्छ भन्न सकिँदैन । तर निरन्तर जलवायु परिवर्तनसँगै अनुकूलित भएको नयाँ जातिमा तुरुन्त परिणत हुने सामथ्र्य राख्नु भनेको आपूmलाई लोप हुनबाट बचाउनु हो । मानिसले जान्नका लागि अध्ययनको विषय के हो भने उसले हरेक वर्ष आफ्नो ऋतु पात्रोमा परिवर्तन गर्दै लगेको छ । यसले विज्ञान र यस विषयमा खोज अनुसन्धान गर्नेमाथि झन् चुनौती थपेको छ ।
हरेक कुराको दुई पक्ष हुन्छ – एउटा सबल र अर्को दुर्बल । हामीले शरद र वर्षा ऋतुको मार खेप्नु परेको कारण यही हो । औंसी र पूर्णिमाको विषय यसभन्दा फरक होइन होला । रात र दिन । दुःख र सुख । सबै प्रकृतिले आफ्नो वशमा राख्नका लागि गरेका प्रयास हुन् । मानिसहरू लुगा लगाउँछन्, बाँकी कसैलाई लुगा चाहिँदैन । ऋतुअनुसार रुखले बोक्रा फेर्छन्, सर्पले काँचुली फेर्छ, चौपायाहरूले शरीरको रौँ फेर्छन् । जङ्गली जनावरहरूले बासस्थान फेर्छन् । अझ भनौँ सृष्टिका लागि सूर्यले आफ्नो गति फेर्छ । बिहान चम्किलो, दिनमा रापिलो र सन्ध्यामा मलिन भएर । फेरि ऊ सृष्टिचक्रमा घुम्दै हिउँदमा तल र वर्षामा माथि जान्छ । यो उसको नित्य मात्र होइन सृष्टि र जगत्का लागि प्रेरणा पनि हो जीवन जिउनका लागि ।
आँगनमा राखिएको बिस्कुनमा परेवाको मोह हुनु नयाँ होइन । तर कति ग्रहण गर्ने र कति बचाउने भन्ने ज्ञान हुनु ठूलो हो । चारो खाने बहानामा बिस्कुन छर्नु र अधिक लोभमा पर्नु कदापि राम्रो होइन । धेरै लोभमा पर्दा मालिकको झटारो पखेटासम्म आइपुग्दैन भन्न सकिन्न । यो विषयमा हामीले स्वभाव र आहारविहारमा ध्यान दिनुपर्छ । नत्र सही सलामत रहेको शरीर एकाएक घाइते र कमजोर परिणत हुन सक्छ ।
धाराले कति पानी बगायो अरूको प्यास मेट्नका लागि । आज लेउ लागेको धारो सफा गरिदिने कोही छैन । मक्किँदै गएको धाराको तल्लो भागबाट आधा पानी त मुखमा नआउँदै भुइँमा खस्छ । नयाँ धारो बनाउने कोही छैन । गँगटाले खनेर जताततै प्वाँल पारेको देखेर कहिलेकाहीँ मनमा लाग्छ मानिसका जस्तै प्रकृतिका पनि शत्रु छन् । फेरि सम्झन मन लाग्छ प्रकृति र सृष्टिको आफ्नै सौन्दर्य छ ।
वत्तीले दियोको तेल कसरी तान्छ ? वत्तीले तताएको दियोमा किन आगो लाग्दैन ? दियोको तल्लो भागमा कसरी तेल चुहिन्छ ? यसरी चुहेको तेलले भिजेको चामलको रङ किन हरियो हुन्छ ? यो प्रश्न होइन अपितु जीवनमा भोग्नुपर्ने हरेक दुःख–सुखको एउटा मेहेरो हो । हामीले यस विषयलाई देखेका छौँ । तर यो के कारणले भइरहेको छ भन्ने अनुभूत गर्न सकेका छैनौँ । हाम्रो कमी यसमा नै छ ।
दियो कहिले सुकिलो भएर बल्छ । कहिले आफ्नो टाउकोमा बडेमानको आगोको ऐँजेरुको डल्लो बोकेर बल्न सक्दैन । आखिर यो सबै किन र केका लागि भएको भन्ने बारे न त विज्ञानले खोजी ग¥यो । न त व्यासासनमा बसेर दुनियाँलाई शिक्षा दिने पण्डितले बताउन सके । वेदान्ताचार्यलाई अज्ञानीभन्दा नाक दुख्न सक्छ । मनमा रोष पैदा हुन सक्छ तर अरूलाई ज्ञान बाँड्नु र आफैं ज्ञानी हुनु फरक कुरा हो ।अरूलाई ज्ञान बाड्न जति सजिलो छ त्योभन्दा आफैं ज्ञानी हुनु करोडौं गुणा गाह्रो छ।
खोजको अन्त्य कहिल्यै हुँदैन । चाहे त्यो जीवनको सौन्दर्यमा होस् वा बलिरहेको दियोको चरित्र । कहिले दियो ज्वाज्वल्यमान भएर बल्छ । कहिले बल्नका लागि सङ्घर्ष गरिरहेको हुन्छ । बल्दा बल्दैको दियोलाई कहिले बारम्बार उकास्नु पर्छ । त्यही तेल तानेर बल्ने दियो कहिले त्यही तेलमा डेबेर मर्छ । यो सबै हामीले देखेका छौँ।