काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएकी छन् । कानुन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक समारोहमा उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्यायसम्पादन गर्न आह्वान गरेकी हुन् ।
“डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुईतिहाइको सरकारको डर होस् वा महाअभियोगको,” उनले भनिन्, “डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु ।”
उनले न्यायपालिकालाई ‘आज्ञाकारी’ वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन् । शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति उनले सचेत गराइन् ।
विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिबद्धता सबै सरोकारवालाले देखाउनुपर्ने उनको भनाइ थियो । “एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न, त्यसैले विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउँछ ।”