
काठमाडौं।अफगानिस्तानमा विगत तीन दिनदेखि जारी भारी हिमपात र मुसलधारे वर्षाले व्यापक विनाश निम्त्याएको छ । देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कम्तीमा ६१ जनाको मृत्यु भइसकेको छ भने ११० भन्दा बढी मानिस घाइते भएका छन् । खराब मौसमका कारण राहत र उद्धार कार्यमा समेत ठुलो बाधा पुगेको छ ।
विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हमादले देशका ३४ मध्ये १५ प्रान्त यस प्राकृतिक विपद्बाट प्रभावित भएको जानकारी दिए । सयौँ गाउँहरूको सम्पर्क विच्छेद भएको छ, धेरै सडकहरू हिउँले ढाकिएका छन् र दुर्गम इलाकाहरूसम्म पुग्न प्रशासनका लागि ठुलो चुनौती बनेको छ ।
तथ्यांकअनुसार ४५८ घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् र ठूलो संख्यामा चौपायाहरूको पनि मृत्यु भएको छ । यसले पहिलेदेखि नै आर्थिक संकट झेलिरहेका मानिसहरूको समस्या थप बढाएको छ । अधिकारीहरूका अनुसार दुर्गम क्षेत्रहरूबाट थप जानकारी प्राप्त भएसँगै मृतक र घाइतेको संख्या बढ्न सक्ने सम्भावना छ ।


