
घरको दैलो नाघेर बाहिर आउनासाथ टोल टोलमा जुनसुकै देव मन्दिर चाहे त्यो शैव, शाक्त, बौद्ध किन नहोस् त्यहाँ देवस्थलको द्वारमा दुईवटा सर्पमुखले च्यापीरहेको छेपुमाथि नै हाम्रो दृष्टि जान्छ । सर्वप्रथम तोरणलाई नमस्कार गरी वा हातले छोई प्रणाम गरेर मात्र हामी मन्दिर भित्र प्रवेश गर्छौं र त्यसपछि देवदेवीको पुजा सुरु गर्छौं । हुनत चैत्यको सन्दर्भमा यी दुईवटा सर्पयुक्त छेपूको चर्चा गर्नु पाठकवर्गको लागि अप्रासङ्गिक लाग्न सक्छ । तर हाम्रा पौराणिक चैत्यहरूमा भगवान् पंच बुद्धलाई विराजित गरिने हरेक भद्रपीठमाथि यस्तै कीर्तिमुख वा सर्प च्यापिरहेको छेपू अनिवार्य रूपले राखिएका हुन्छन् । लिच्छवी चैत्य र अशोक चैत्य भनेर प्रख्यात धेरैजसो प्राचीन चैत्यमा छेपू (कीर्तिमुख) युक्त भद्रपीठ (खोपा) कुँदिराखेका छन् । छेपू राख्नु हामी नेपालीहरूको प्राचीन मौलिक कलाको वैशिष्ट्यता हो । के बौद्ध, के ‘शाक्त, शैव हरेक दर्शनका देव देवीहरू गणेश, भैरव, भगवती, लोकेश्वर, बुद्ध, बोधिसत्व तथा विष्णु, महेश्वर आदिका जुनसुकै मन्दिरमा पनि यसरी तोरणमा दुई सर्प च्यापिरहेको कीर्तिमुख राख्नु नेपाली कला एवं धार्मिक जगतको वैशिष्टयतापूर्ण मौलिक संस्कृतिको रूपमा लिनुपर्छ । यस सन्दर्भमा हाम्रा दाजु डा. गौतम वज्र वज्राचार्यद्वारा लिखित अमेरिकाबाट प्रकाशित लेखलाई उल्लेख गर्नु सान्दर्भिक होला । वहाँ भन्नुहुन्छ- “अहिले सम्म उपलब्ध भएका समस्त हिन्दू एवं बौद्ध मन्दिरमा मात्र होइन, हाम्रा प्रमुख स्तूप एवं चैत्यहरू, स्वयम्भू महाचैत्य, धनद्यः चैत्य, महाबुद्ध चैत्य, तुकं वहाल चैत्य, चिलंच्व चैत्य र श्रीघः चैत्यमा पनि यस्ता छेपुयुक्त द्वार (चित्र नं. २७, २८) जस्तो धर्मधातु, धर्मोदय भनिने कोलं की र प्वाल भएको प्रस्तर पाटाहरू स्थापना गरिएका छन् । जलरन्ध्र देवी गुह्येश्वरी पनि धर्मधातु, धर्मोदय भनि प्रसिद्ध छिन् अत: चैत्यहरू तथागतको निवास स्थान मात्र होइन जलरन्ध्र देवीहरूको पनि निवास स्थान हो भन्ने तथ्य व्यक्त हुन्छ । वस्तुत स्वयम्भू स्वंय पनि यही जलरन्धबाटै उत्पत्ति

हुनु भएको हो । यसबारे हडशनले पनि २०० वर्ष अगाडि स्पष्ट व्याख्या गरिसकेको छ । ३९
यति मात्र होइन, एउटा अर्को विचारणीय पक्ष के छ भने नेपाल खाल्डाका नेवार सम्प्रदायले कुलदेवता, देवाली देवता, दिगु द्य: (दिगुली ) भनी बर्षेनी अक्षय तृतियाका दिनदेखि सिठीकुमार षष्ठी सम्म मानी आउने पूजा महोत्सवमा पूजा गरिने कुलदेवताको देवस्थल मानिने देवता पनि खुल्ला चौरमा गोल चिप्लो ढुंगाको डल्लोको पछाडि पनि यस्तै छेपूयुक्त द्वार र प्वाल भएको प्रस्तर पाटा राखिएको हुन्छ । तर हाम्रा देवस्थलमा पाइने यी छेपू वा कीर्तिमुख कहीं सिंह जस्तो जनावर राखिएको छ भने कहिं गरुडको जस्तो चुच्चो परेको मुखले सर्प च्यापिरहेको देखिन्छ । अतः यसबारे पनि जरुर केही रहस्य लुकेको नहोला भन्न सकिन्न । अब यहाँनिर एउटा प्रश्न के उठ्छ भने यी टोल टोलमा पाइने भैरव, दिगुद्यः भनेर पूजा गरिने देवस्थल उदाहरणको लागि क्षेत्रपाटीको भैरवलाई लिउँ वा दिगुद्यः भनेर पूजा गरिने भद्रकाली परिसरको स-सानो मन्दिर लिउँ जहाँ ढुङ्गाको गोल तत्व भन्दा छेपूयुक्त द्वार (तोरण) धेरै होचो गरेर राखेको देखिन्छ । अतः यो कलात्मक द्वार (तोरण) अगाडि प्रतिष्ठापन गरियो कि ती भैरवको लिङ्ग र दिगुद्यः अगाडि प्रतिष्ठापित गरियो भन्ने कौतुहल उठ्छ । सादा प्रस्तर लिङ्ग नै पहिले कला नजानेको बेलामा प्रतिष्ठा गरे होला भनी सोचुँ भने छेपूयुक्त कलात्मकद्वार धेरै नै होचो छ । कलात्मक छेपूयुक्त तोरण (द्वार) पहिले स्थापना गरे भनूँ भने अवश्य पनि द्वारभन्दा ठूलो भद्दा लिङ्ग कदापि एउटा कुशल कलाकार एवं श्रद्धावान् व्यक्तिले अवश्य प्रयोग गर्दैन होला प्रयोग नै गरे पनि निराधार प्रयोग गरेन होला । यो विचारणीय छ ।
अर्को रोचक कुरो हो बौद्ध एवं शैव र शाक्तहरूको मन्दिरमा पनि छेपूयुक्त तोरणको प्रचूर मात्रामा प्रयोग हुनु । यस्तै छेपूयुक्त काष्ठ द्वारको केही मुनि काष्ठ पाटामा गोल किल्ला ठोकिराखेको र ठीक त्यसको बीचमा सानो प्वाल राखेको उत्तरकाली भनिने छेपूयुक्त काष्ठ द्वार श्वेतकाली देवीको मन्दिर भित्र उत्तर दिशातिरको गाहमा अवस्थित छ । यसले के प्रष्ट्याउँछ भने प्वाल र ताल्चा लगाउन हुने गरी ठोकेको गोल किल्ला कोलं की एवं तोरणले तद तद देवदेवीको भित्र जाने द्वारा मार्ग भन्ने कुराको ने इशारा गरिरहेको छ । अथवा त्यस द्वाररूपी प्वाल भित्र देवदेवी विराजमान छ भन्ने संकेत दिइरहेको छ ।यसरी देपूयुक्त तोरण कोलकी र सानो प्वाल बौद्धकलाको मात्र विशेषता नभई समस्त नेपालीकै मौलिक धरोहर मान्नु पर्ने देखिन्छ । किनभने एसियाका अरू देशका मन्दिरहरूमा छेपूयुक्त तोरण एवं द्वार राखेको पाइदैन ।
कुलेश्वर टेकुदोभान अगाडि अवस्थित कुलेश्वर महादेवको परिसरमा पनि यस्ता छेपूयुक्त तोरण भएको द्वारहरू र मूर्ति रहित गोल ढुंगाका देवताहरू धेरै पाइन्छन् । महादेवको ठीक पछाडि गुह्येश्वरी मन्दिरमा त झनै विशेषतायुक्त यस्ता कलात्मक द्वारहरू देखिन्छन् । यी प्रस्तरपाटाका द्वारहरूमा छेपूयुक्त तोरण बाहेक तोरणको ठिक मुनि कपडाको पर्दालाई आवत जावत गर्न सजिलोपार्ने उद्देश्यले ती पर्दा मोजा मोजा पारी माथि उठाएर घुसारे झैं आकारका सुन्दर प्रस्तरका द्वारहरू पनि प्रतिष्ठापित छन् । यसरी मूर्ति बनाएर प्रतिष्ठा गर्न नसक्ने भक्तहरूले केवल गोल ढुंगा वा छेपूयुक्त प्रस्तर द्वार र प्वाल समेत भएको प्रस्तर पाटाहरू स्थापना गरी आफ्नो श्रद्धा भक्ति व्यक्त गर्ने प्रयास गर्दै आइरहेको तथ्यलाई हामीले विर्सनु हुँदैन । तर हाल आधुनिक चैत्यहरूमा छेपू राख्ने परम्परा हराइसकेको छ । अतः श्रद्धानुसार आकार प्रकार डिजाइन आदिमा जस्तो सुकै परिवर्तन र विकास गरिदै लगे पनि चैत्य भन्नासाथ अनिवार्यरूपले अर्धगोलाकार गर्भगृह र गजुर राखिदै आएको पुरातन संस्कृति र प्रचलनलाई पनि चैत्य निर्माण गर्न चाहनेहरूले छेपू (कीर्तिमुख) राख्ने परंपरालाई जस्तै कदापि त्याग्नु हुँदैन । कलाकर्मि एवं श्रद्धालु भक्तहरूले चैत्यको यो संवेदनशील पक्षलाई संधै मनन गर्नु आवश्यक छ । साच्चै भनुं भने पुल्चोकको स्तूपलाई हेर्दा के भान हुन्छ भने सुरु सुरुमा गजुर राख्ने प्रचलन नहुँदासम्म केवल यष्टिमात्र माटोको ढिस्को माथि देखिने गरेर राखिन्थ्यो होला । महायान वज्रयानको प्रार्दुभावको साथसाथै मात्र त्रयोदश भुवनयुक्त गजुर र आम्लशारक (वर्षाथालक) पदमकर्णिका, मणि वा उष्णीष राख्ने प्रचलन चलाए होला भन्ने अनुमान गर्न सकिन्छ । प्रगति र विकासका नाममा पुरातन संस्कृति र शैलीलाई कदापि परित्याग गर्न दिनु हुन्न । यसरी परित्याग गर्दै लगेमा हाम्रो मौलिकता नरहने हुन्छ ।
३९. गौतम ब्रज वज्राचार्य- Elements of Newar Buddhist art circle of blist-a review article P. 5 of 12.







