काठमाडौं । आम जनता पार्टी (आजपा)ले दलाल दलतन्त्र र लुटकारी व्यवस्था विरुद्ध सातै प्रदेशमा भण्डाफोड़ कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने निर्णय गरेको छ । काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पूँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ । ‘दलाल दलतन्त्र र भगौडा पूँजीवादी व्यवस्थाको भण्डाफोर गरौं, आम जनताको शासन ल्याउन जनआन्दोलनको दिशामा अघि बढौं’ भन्ने मुल नाराका साथ वर्तमान लुटकारी सत्ता विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निष्कर्ष बैठकको रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । यस्तै बैठकले विदेशमा गएका कामदारहरुबाट लिईएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरुलाई कारवाई गर्न गराउन शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
‘विदेशी नागरिकता लिएकाहरुको नेपाली सम्पति कति र काहाँ छ ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाव दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने’ पदाधिकारी बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ । भ्रष्टाचार, अनियमितता, कुशासनको बिरुद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरु असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारवाही गर्ने निर्णय समेत गरेको छ । यसैगरी बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरु विरुद्ध पीडित आम जनताको पक्षमा जारी संघर्षलाई थप शसक्त, प्रभावकारी एवं देशव्यापी बनाउने निर्णय बैठकले गरेको आजपा नेता बालकृष्ण सापकोटाले जनाएका छन् । आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका जिल्लाहरुमा विद्यार्थीको अनुपात एवं बिषयगत शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ । सो आन्दोलनलाई निर्णायकरुपमा अगाडी बढाउँने निर्णय बैठकले गरेको छ । ‘शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको ब्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रुपमा अगाडि बढाउने निर्णय गरिएको छ’ आजपाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।