
चितवन । नेकपा (एमालें)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई राष्ट्रिय हितको रक्षामा संवेदनशील हुन आग्रह गरेका छन् ।
आइतबार रास्वपा महाधिवेशनमा राखेको मन्तव्यमार्फत नेता ज्ञवालीले सभापति रवि लामिछानेको भारत भ्रमण र परराष्ट्रमन्त्री शिशिर खनालको भारत–चीनको भ्रमण उल्लेख गरे पनि प्रधानमन्त्रीको अभिव्यक्ति उल्लेख गरेनन् ।
उनले सरकारका प्रारम्भिक निर्णय र कदमहरू भने रास्वपाको बाचापत्रसँग मेल नखाने प्रकृतिका भनेर प्रश्न उठाए । “हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भनेझै राष्ट्रिय हितको रक्षाका लागि संवेदनशील हुनुपर्ने आवश्यकता छ,” ज्ञवालीले भने, “८० दिन हाराहारीमा रहेको सरकारको आलोचना गर्ने समय भएको छैन । यो आलोचनाको उपयुक्त समय पनि होइन ।”
उनले सरकारका प्रारम्भिक कदमले सकारात्मक संकेत नगरेको भन्ने विषय भने उठाए ।
“लोकतन्त्रमा नियन्त्रण र सन्तुलनको महत्त्व हुन्छ । सरकारका प्रारम्भिक कदम लोकतन्त्रको यो मान्यताप्रति सकारात्मक संकेत गरेका छैनन् ।”
“अदालत र संवैधानिक निकायहरूले स्वायत्त भूमिका निर्वाह गर्न सकेनन् भने नियन्त्रण र सन्तुलन कायम नरहन सक्छ ।” उनले भने ।

