
काठमाडौं । ‘नेपाली कलासाहित्य डटकम प्रतिष्ठान’ले यस वर्ष पनि ६ साधकलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
सोमबार काठमाडौंमा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा यस वर्षको ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान–२०८२’ विशिष्ट साहित्य तथा नाट्य साधक मनबहादुर मुखियालाई समर्पण गरियो । यसको राशि नगद १ लाख एक हजार रहेको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज चित्रकार किरण मानन्धर, प्रा.डा. गोविन्दराज भट्टराई, शंकर कोइराला र मोमिलाले सम्मानित व्यक्तित्वलाई सम्मान अर्पण गरे ।
सो अवसरमा कलासाहित्यका साधक एवम् साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई नगद राशि १ लाखसहित ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०८२’, कवि निमेष निखिललाई ७५ हजार नगद राशिसहित ‘स–सिद्धि राष्ट्रिय कलाश्री पुरस्कार–२०८२’, मिथिला चित्रकारिताका साधक एससी सुमनलाई ६० हजार रुपैयाँ नगद राशिसहित ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०८२’, साहित्यिक पत्रकार एवम् स्रष्टा राजेश खनाललाई ५० हजार नगद राशिसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार–२०८२’ र नेपाली लोकसांगितिक जगतकी स्रष्टा झुमा लिम्बूलाई नगद राशि ५० हजारसहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगित पुरस्कार–२०८२’ समर्पण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि कलाकार मानन्धरले साहित्य र चित्रकला एक अर्काको परिपुरक भएको बताउँदै आफूलाई लेख्न नआए पनि साहित्य पढ्न मनपर्ने बताए ।
सम्मानित व्यक्तित्व नाट्यकर्मी मुखियाले आफ्नो नाटक ‘अनि देउराली रुन्छ’को लेखन र दार्जिलिङ तथा नेपालमा भएको मञ्चनको प्रसंग स्मरण गरे ।
साहित्यकार ‘रोदन’ले आफ्नो लेखन यात्राका बारेमा बताउँदै आफूलाई यस पुरस्कारले साहित्यप्रति अझ बढी उत्तरदायी बनाएको बताए ।
अर्का पुरस्कृत सर्जक कवि निखिलले प्राप्त पुरस्कारले आफूमा उर्जा थपेको उल्लेख गरे ।
कार्यक्रममा महेश पौड्यालले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको परिचय दिए।
साहित्यकार मोमिलाले प्रतिष्ठानले बितेको १८ वर्षदेखि निरन्तर साहित्य सेवा गर्दै साहित्यकार तथा सर्जकहरूलाई सम्मानित गर्दै आएको बताइन् ।





