काठमाडौँ। शेखर ढुङ्गेलको कवितासङ्ग्रह मृत्यु -उत्सव लोकार्पित भएको छ ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा मदनदास श्रेष्ठ,प्रा.डा.सुरेन्द्र के.सी.,प्रमोद प्रधान,बुलु मुकारुङ, गोविन्द गिरी प्रेरणा,राधेश्याम लेकाली,देवप्रकाश त्रिपाठी,नरेन्द्रबहादुर श्रेष्ठ,कवि ढुङ्गेल लगायतले उक्त कृति लोकार्पण गरे ।
कृतिमाथि अग्रज समालोचक प्रमोद प्रधानले टिप्पणी गरे । उनले पाठकलाई अनुभूत गर्ने गरी कविताहरु आएको बताए । कविताहरु आध्यात्मिक चेतबाट लेखिएको भन्दै उनले कविले मृत्युलाई उत्सवको रुपमा देखेको बताए ।
उनले भने,”कविताहरु प्रेम,बेथिती,दुस्प्रवृद्धि विरुद्ध लक्षित भएर लेखिएको छ ।जसमा व्यङ्ग्यचेत प्रवल भएर आएको छ । अर्कोथरी कविता जीवनदर्शनसङ्ग सम्बन्धित छन् । दशवटा कृति प्रकाशित गरिसकेका हुँदा भन्न सकिन्छ प्रवासमा बसेरपनि नेपाली भाषा साहित्यमा ढुङ्गेलको असिम प्रेम र लगाव उल्लेख्य देखिएको छ।”
कार्यक्रममा प्रा.डा.सुरेन्द्र के.सी.,मदनदास श्रेष्ठ र देवप्रकाश त्रिपाठीले शुभकामना मन्तव्य राखे । कार्यक्रममा कवि ढुङ्गेलले कविताको रचना गर्भ सहित आफ्ना अनुभूतिहरु साझा गरे ।
साहित्यिक पत्रकार संघको आयोजनामा भएको उक्त कार्यक्रममा अध्यक्षता तथा स्वागत संघका अध्यक्ष राधेश्याम लेकालीले गरे । धन्यवाद ज्ञापन पद्य्मावती सिंहले गरिन ।
कार्यक्रममा मृत्यु -उत्सव कृतिबाट कविहरु मणि लोहनी,गीता कार्की र सुमन थापा सङ्मले कविता बाचन गरे ।