कविता
हजुरआमाको संझना
राजीव श्रेष्ठ
धेरै समयपछि एउटा पुरानो किताबभित्र
मेरी हजुरआमाको एउटा श्यामस्वेत तस्वीर
भेट्टियो
अनायाश हजुरआमाको विगतका सम्झनाहरु खहरे खोला झै दिमागमा ऊर्लिन थाले
के लेखुँ खै हजुरामाको कथा
पुरानै थियो
उहाँको दमको व्यथा
दमले नै
थल्लिएर उहाँ परमधाम हुनुभयो
हामी स्यानै छदाँ हजुराअमालाई प्रेमले माँ
भनेर सम्बोधन गर्दथियौं
माँले भन्नुहुन्थ्यो
बादल कसरी सेतो
मछिन्द्रको सौता बनिन भन्ने दन्त्यकथा
कहिले गुरुमापाको कथा सुनाएर
हामी बालखलाई तर्साउनु हुन्थ्यो
हुन दिनुस, एकादेशमा लाग्छ
यी सबै त अब !
तर माँको अंगालोमा लुटपुटिएर
कथा सुन्नुको मज्जा बेग्लै हुन्थ्यो !
असनको पुरानो मावलीमा
देखिने ख्याक र कवँचा (मुर्कटा) को तथ्यदेखि
मठमन्दिरको जात्रासम्मको
रोचक किंवदन्ती
वहाँकै मुखबाट
सुनेका हौं
नब्बे सालमा भूकम्प आउँदा
उहाँ सपरिवार थापाथली दरबारमा
महिनौं पालमुनि बस्नुभाको थियो रे
पछि घर फर्किँदा आफनो
घर नभत्किएको बताउनुहुन्थ्यो
आफूभन्दा ठूलालाई सम्मान गर्न
अनि सानालाई
माया गर्नुपर्छ भन्ने
अर्ती उपदेश सधैं दिनुहुन्थ्यो
मेहनतका फल मिठो हुन्छ भनेर
अनेकौ कथा सुनाउनु हुन्थ्यो

आज, उहाँको तस्वीरले
यी सबै संस्मरण ताजा बनेर
उहाँको अनुपस्थितिमा पनि
हजुरुआमा मानसपटलमा सधै जिवित रहनुभो ।