
भक्तपूर ।सहिद दिवसका दिन ‘आलेख’ साहित्यिक मासिकको आयोजनामा वरिष्ठ कथाकार सुशीला प्रधानाङ्गको कथासङ्ग्रह ‘जलेको रात’ को लोकार्पण भक्तपूरमा गरियो ।
वरिष्ठ समालोचक भाषाविद प्रा.डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभाध्यक्ष ‘आलेख’ साहित्यिक मासिकका सम्पादक अच्युत घिमिरे थिए ।
प्रमुख अतिथि प्रा.डा. लामिछानेले भने – ‘यी कथाहरूले पाठकका मन छुन्छन्, यी कथाहरूले नेपाली साहित्यका पाठकमा निकै प्रभाव पार्ने मैले विश्वास लिएको छु ।’
पुस्तकका बारेमा वरिष्ठ समालोचक युवराज मैनाली र ठाकुर शर्मा भण्डारीले समीक्षा गरे ।
मैनालीले कथाहरू हाम्रै समाजका हामीले भोगेका दुःख-अभावका ,महिला विद्रोहका, सकारात्मक सोचका भएका बताए।
‘उनका कथाहरूको महत्त्वपूर्ण पक्ष भनेको कथाहरू पढ्न थालेपछि नसिध्याई छोड्न नमिल्ने, कौतुहलता जगाउने र कथाहरू उत्कृष्ट छन्। यसरी नै भण्डारीले पहिलो कथासङ्ग्रहले कथाकारलाई स्थापित बनाएको छ। उनका कथाहरू नेपाली समाजमा हामीले भोगेका, देखेका कुराहरूको जीवन्त प्रस्तुति हो ‘ कथामा प्राय महिलाहरूका समस्याहरु भएकोमा उनले जोड दिए । वरिष्ठ बाल साहित्यकार प्रमोद प्रधानले भने -‘७५ वर्षको उमेर कटे पनि सुशीला दिदीको जुन सक्रियता छ ,लेखनमा जुन विशिष्टता छ ,त्यो नेपाली साहित्यको लागि ठूलो उपलब्धि हो ‘ ।
मन्तव्यको क्रममा कथाकार प्रधानाङ्गले आफूले भोगेका कुराहरू नै मैले कथाका विषय बनाएको , कसैले मलाई केही भन्यो भने म आफै मलाई नै तुलना गर्छु र कथा लेख्छु ,कथामा मेरै छोराछोरी, बुहारी, मैले भोगेकै कुराहरू छन् र तिनलाई म सकारात्मक दृष्टिकोणमा कथामा प्रस्तुत गर्छु।
कार्यक्रममा सीता शर्मा,डम्बर घिमिरे, डाक्टर सावित्री श्रेष्ठ लगायतले मन्तव्य राखे । गीतकार वसन्तराज अज्ञात, कथाकारका छोरी ,छोरा, बुहारी, नाति र आफन्तहरू लगायत शुद्ध स्रोताको रूपमा रहेका साहित्यकारहरूबीच पारिवारिक भेटघाट र सम्बन्ध जस्तो लाग्ने कार्यक्रम बडो रमाइलो र रोचक ढङ्गले सम्पन्न भयो।
कार्यक्रममा स्वागत मन्तव्य डा.यादेवी ढकाल तथा कार्यक्रम सञ्चालन सजनी नौबागेले गरे।






