
बद्री उप्रेती सामाजिक सञ्जाल,पत्रपत्रिकामा मुक्तकहरुमा छाइरहने नाम हो । यस अघि संयुक्त दुई मुक्तकसङ्ग्रह प्रकाशित गरिसकेका उनको चिराइतो पछिल्लो मुक्तक कृति हो । मुक्तकमा मात्र नभएर गीत,कविता,हाइकु आदिमा समेत उनको उत्तिकै कलम चलेको देखिन्छ ।
बर्तमान पुस्ताको लोकप्रिय काब्यविधा हो मुक्तक । चार हरफको यो आफैंमा पूर्ण रचना मानिन्छ । यसमा पहिलो हरफले विषयबस्तु उठाउँछ,दोश्रोले त्यसलाई पुष्ठ पार्छ । तेस्रो हरफ आफैंमा स्वतन्त्र हुन्छ भने पाठकमा खुल्दुली मच्चाउँछ । अन्तिम हरफले उठाउन खोजेको कुरालाई चोटिलो रुपमा निष्कर्षमा पुरर्याउँछ ।
बद्री जस्तो छन् मुक्तकहरुमा त्यस्तै छन् अथवा भनुँम उनको ब्यवहारिक सरलपनाको बिम्ब मुक्तकहरुमा पाइन्छन् । मैले किन भनें उत्तर पाठकले कृति पढेपछि सजिलै भेट्न सक्नुहुन्छ । विषयवस्तुको विविधता उनका मुक्तकका विशेषता हुन् । मूलतः प्रेमिल मुक्तकमा उनी जमेका छन् र पनि समाजका खराव अवयवहरु संगालेर मुक्तकमार्फत तिनका विरुद्ध सचेतनतापूर्वक कलम चलाउँछन । मनलाई मुक्तकसँगै समाहित गरेर शब्दहरु कोर्ने उप्रेतीको प्रयास छ ।
कृतिको आकार र आकर्षक चिराइतो फूलको चित्रण गरिएको आवरणमा बनेको देखिन्छ । जसमा एक सय पेज खर्च भएको छ, भने प्रत्येक पेजमा तीन थान मुक्तकहरु संलग्न गरिएको छ । थप दश पेजमा शुभकामनाहरु, प्रकाशकीय, सम्पादकीय र लेखकीय भनाइहरु राखिएका छन् । चारहफिय मुक्तक संरचनाभित्र अटेका मुक्तकहरु यहाँ देख्न सकिन्छ ।
चिराइतो सुन्दै तितो लाग्छ,खाँदा मिठो हुने कुरै भएन् । तर चिराइतो स्वास्थ्य जीवनको लागि जायज कुरा हो । यस्तै पुस्तक कृतिको शिर्षकीकरण बिम्बात्मक देखिँदा सार्थक लाग्छ । यसै चिराइतोभित्र दुई सय उनान्सय विभिन्न मुक्तकहरु यसमा समावेश छन् ।
प्रायःजसो सबैले मुक्तक प्रेमिल भावमा लेख्छन् । मुक्तक भन्नासाथ मायाप्रेम,प्रेमी प्रेमिका आइहाल्छ । प्रेमिल भावमात्र नभएर हाम्रो समयको समाजको ऐना देखिन्छ मुक्तकहरुमा । वर्तमान युगका मान्छेका भावना,सोच र सम्बन्धका विविध आयामहरुको सिलसिलाहरु भेटिन्छ यहाँ । स्वेदशको जर्जर र आर्थिक दुरावस्थाको कारण विदेशिएका नानीबाबु गएपछि बुढाबुढी बाउआमाको हविगतको चित्रण भेटिन्छ । यसैगरी अर्थाेपार्जन गरेर परिवारको सुदुर सुखको लक्ष्य पालेर विदेशिएकाहरुको पिडा बोल्छन् । अनि उनीहरुको दुख मात्र नभएर बाकसमा प्याक भएर आउनुपरेको परेको यथार्थ चित्रण गर्छन् । जस्तै :
न सकुशल फर्केर आउँछ , न आश आउँछ
न आउँछ बोकेर उमड्ड हाँस्दै, न सास आउँछ
कसरी सहनु त्यो भयावह पीडा आफन्तहरुले
आउँछ त केवल बन्द बाकसमा ,लास आउँछ ।
जिन्दगीलाई आशावादीताको सञ्चार जागृत गराउँछन् बद्रीका मुक्तकले । निराशा सोच्न नहुने कुराको काउन्सिलिङ गर्छन् । त्यसैले जिन्दगी संघर्ष हो भन्ने कुरामा उनी स्पष्ट देखिन्छन् । स्वाभिमान नेपालीको प्राण हो भन्ने उनले बुझेका छन् र त कसैसामु नझुक्न सल्लाह दिन्छन् । सकारात्मक सोच राख्छन् । सबैको भलोको कामना गर्ने कवि आफ्नालाई सुभेच्छाभाव दर्शाउँछन् जस्तै :
थोपा आँसु नझरुन् तिम्रो,दुःखले सागर तरोस्
भरि टन्न अन्नले भण्डार,भोको बस्नु नपरोस्
नचुहुन पसिना निधारबाट मुस्कुराउनु सधैंभरि,
टिप्न खोज्दा झुकेर फल आफैं टोकरीमा झरोस् ।
उनका मुक्तकहरुमा ब्यङ्ग्यचेत घनिभूत रुपमा प्रकटिकरण भएर आएको छ । उनले कसैलाई बाँकी राखेका छैन् । प्रेममा होस या सम्बन्धमा, राजनीतिमा होस या समाजसेवामा जहाँपनि विकृति र विसंगति देखिएपछि तिनलाई छुट नदिई प्रहार गर्छन् उनी । असल नियतले दिएको अर्ति उपदेशको बर्खिलाप लाग्नेहरुलाई केही नभन्ने उनको बानी छ । जस्तै :
झुसै झुसले भरिएको छ,कसले टोक्न सक्छ
काउसो जस्तै चिलाउँछ , कसले बोक्न सक्छ
नजा त्यता लडिन्छ,भिर छ मैले भन्दाभन्दै
भिर खोजेर जाने लड्छ,कसले रोक्न सक्छ ।
यस कृतिमा प्रेमिल भावका मुक्तकहरुको बाढी छ । तर मुक्तक उत्तउला रत्तिभर छैनन् । मायावी भावका उत्ताल तरंगहरुमा लछप्पै भिजेका मुक्तकको चर्चा यहाँ नगरी हुँदैन् । उनका मुक्तक झुटका पुलिन्दाबाट कोशौं टाढा छन् । सबैलाई थाहा छ मायाप्रेमको अर्थबेशी विपरित लिंगप्रतिको आकर्षणमा जोडिन्छ । यसमा ढाँट्नु पर्ने छल्नुपर्ने केही छैन् । यसैले उनले सत्यकै सत्यापन गरेका छन् । मायाप्रेम,मिलन विछोड त सँसारको रीत नै हो नि । जस्तै :
बन्द थियो दिलको ढोका खोलेरै सतायौ तिमीले
मभित्र असीमित प्रेमरस घोलेरै सतायौ तिमीले
हराउन चाहान्छु म एकान्तमा,नबोल न धेरै तिमी
म मौनतामै रम्न चाहान्छु,बोलेरै सतायौ तिमीले ।
यसरी नै प्रेमीका चाह पनि बल्ग्रेल्ती छन् यहाँ । मायाको आशक्तिले लछप्पै भिजेर मुक्तक कोर्छन् उप्रेती । मुक्तकमा बर्खाको बाढी जस्तो प्रवाहमा लेख्ने सामथ्र्यको प्रचुरता छ भने गलत हुँदैन् ।
जीवनबोध पनि छ मुक्तकमा । मानवीय संवेदनाले ओतप्रोत भएर कवि वद्रीले आफ्ना मुक्तकहरु पाठकलाई पस्केका छन् । जिन्दगीको मैदानमा दगुर्दा थाक्नु हुन्न भन्ने उत्साह र आशावादीता भावले भरिएका मुक्तक पनि पाएको छ कृतिले । जीन्दगीको असली मजा सत्यको मार्गमा कदम बढाउनु हो भन्ने उनको सकारात्मक सोच र चाहमा मुक्तकहरु हिंडेका छन् ।
यति मात्रै हैन् प्रकृतिको सुन्दरतामा लठ्ठ परेर उनले सृजना कोरेका छन् । यस्तो लाग्छ यो बैभव र सुन्दर प्रकृतिले उनको मन तान्छ आफुतिर र त त्यो सौन्दर्यमा मोहित बन्छन् र कलम चलाउँछन् । यसैगरी सत्कर्ममा विश्वास गर्ने उनी अरुलाई पनि त्यहीतर्फ डोर्याउँछन् । आफ्ना असल कर्मले चर्चित हुनुपर्छ भन्ने भाव अभिव्यक्त गर्छन् । यस्तै विषयगत विविधताका मुक्तकहरु उनिएको छ चिराइतोमा ।
उनका मुक्तकले समाजप्रति न्याय गरेका छन् । बडो वजनदार र स्तरीय छन् मुक्तक अनि उस्तै सुस्वादु पनि चिराइतो तितो हुने भएपनि उनले मिश्री पिंसेर तितोपन कम गरेको भान पर्छ । निर्वाध रुपमा सरल शब्दहरुको प्रयुक्तिले मुक्तकको मिठास भरिएको छ । जटिलतादेखि कोसौं टाढा सम्य र सरलताले भरिपूर्ण मुक्तक पस्कन सक्नु मुक्तककारको खुवी लाग्छ । विभिन्न सामान्य तर शक्तिशाली प्रतिकहरुको उपयुक्त स्थानमा भएको प्रयुक्तिले बेजोड लाग्छ । जहाँ सजिव र निर्जिव प्रतिकहरुको बल्ग्रेन्ती प्रयोग भएको छ । भावको परिपाकले परिपूर्ण र भरिपूर्ण मुक्तक छन् भन्दा गल्ती नहोला ।
हरेक कृति दोषरहित नहुन सक्छन् । कमजोरी बिनाको मान्छे पाउन मुस्किल छ । यो कृति पनि त्यस्तै हो । यसमा अलिबढी शुभकामनाहरु राखिएको छ । अनि संस्थागत परिचय,सम्पादकीय,प्रकाशकीय लगायत राखिएकोले अलिक बोझिलो जस्तो लाग्छ । तर यो असल नियतले नै राखिएको होला । मुक्तकहरुमा विषय विविधालाई अलग्याएर अर्थात प्रेमिल जति एक ठाउँमा,समसामयिक ब्यङ्गचेत भएका जति एक ठाउँमा ,देशप्रेम,प्रकृति प्रेम जस्ता मुक्तकहरु क्रमशः मिलाएर राखिएको भए सुनमा सुगन्ध हुन्थ्यो होला ।जे होस मुक्तकीय संरचनामा रहेका मिठा बिम्बहरुको प्रयुक्तिले भरिएका,अनुप्रासहरु मिलेका मुक्तकहरु सुन्दर छन् । मुक्तकका पारखीहरुले उचित स्वाद लिन सक्छन् । बद्री उप्रेतीलाई हार्दिक शुभकामना ।








