
कविता
आभा भूजेल
मुसाफिर जिन्दगीमा
मैले भेटेका गोरेटोहरु
सुक्ष्म
गहिरो भोगाइ र देखाई
स-साना फरक-फरक गोरेटोहरु
अलमल्लमा परेको देखेँ
परबाट फर्किरहेका प्रेमीहरुलाई
अनन्त प्रेम सहित मैले
गोरेटोमा देखेँ ,
कोहि पिरतीमै अल्झी रहेको
प्रेम,प्रेमिका र एक आपसमा प्रेम भित्रै
फसिरहाको जोडीलाई
पनि गोरेटोमा देखेँ
चरनबाट फर्किरहेका गाईवस्तु
झुत्रो कपडा,घाँसको भारी
भोको पेट, खालिखुट्टा
हिँडेका , गोठालो, गोरेटोमा देखेँ
उराठिलो जंगलबाट चराहरूको
गहिरो गुञ्जन, भाव,वेदनामा
झ्याउँकिरी र जुनकीरी
यिनीहरुलाई पनि गोरेटोमा देखेँ
आदिवासी समुन्द्रका गोही ,डल्फिन,
कछुवा ,गंगटो
छेपारो र भ्यागुतो जस्तो
जीव र अजिब थुप्रै ,
आफन्तहरू खोज्न हिँडेको
यिनीहरूलाई पनि गोरेटोमा देखेँ !
दीर्घ रोगको उपचार गर्न हिंडेको
अनगिन्ती रूखका सुकेका
हाँगाहरु ,पात र जराहरू
खोला र नदिनालाहरू
गाउँ र बस्तीहरूलाई पनि
शहरतिर भाग्दै गरेको
गोरेटोमा देखेँ,
पहाडबाट गाउँतिर झरीरहेको
हुस्सु र कुइरो,निलो आकाशमा
लहरै फूलबुट्टे
बादलसँग मडारिन्दै बयली खेल्दै
हिँडिरहेको बतास
जुनकीरीको बैँस सापटी मगेर
आफ्नो रंग भर्दै दौडिरहेको इन्द्रेणीलाई
पनि गोरेटोमा देखेँ,
हिमाली भेगबाट बेतोड दगुरीरहेको
हिमपात र तुसारोले कठ्याङ्र्एिका
कुलुङ्गची, बुकि, कुकुर डाइने
ठोट्ने चुत्रो र घङ्गारुलाई पनि
गोरेटोमा देखेँ ,
वनमा वन्यजन्तु,
डडेलोमा परी भागीरहेको
गर्भिणी,मृग,हरिण,कस्तुरी र बघेनी,
अनि फ्याउरो,ब्वाँसा र
भोको बाघलाई पनि
गोरेटोमा देखेँ ,
हिलाम्य पोखरीमा
पुच्छर हल्लाइरहेका
स-साना चेपागाँडाहरू
झुसिल किरा,फटयांग्रो
अनौठो रसायन बगाउँदै
रातभर घिस्रीरहेका रंग विरंगका
गड्यौलाहरूलाई पनि मैले
गोरेटोमा देखेँ,
परबाट आएका एकहुल उद्रभाव
उदाउनीहरू
गँजेडीहरुलाई -गाँजा सहित
विश्वव्यापी खुँखार लुटेराहरूलाई
पेस्तोल सहित
मैले गोरेटोमा देखेँ,
अर्काकी स्वास्नीसँग एकैछिन
स्खलित हुन आएका
सज्जन पुरुषहरू
गुप्तांग कन्याउँन निस्केका
वेश्या,आईमाईलाई पनि
गोरेटोमा देखेँ !
मुर्दा बोक्दै हिँडेका मलामीहरूलाई
नाँच्दै हिंडेका जन्तीहरूलाई
भोज भतेरमा मस्ती रमाईरहेका
मानिसहरूलाई पनि मैले
गोरेटोमा देखेँ ,
न्यायालयबाट फर्किँदै गरेको
तनावग्रस्त मान्छेहरू
कामबाट फर्केका किसानहरू
छाक टार्न गिट्टी कुटेर आएका
गृहिणीहरू अनि
स्कुलबाट फर्कंदै गरेका विद्यार्थीहरू
कमिसन खाएर आएका दलालहरू
र देश बेचेर आएका नेताहरूलाई पनि
मैले गोरेटोमा देखेँ ,
रगतमा लेखिएको अक्षर
जस्तो विचार त्यस्तै हतियार
बिल्कुल -दिशाहिन
बिल्कुल – भ्रमित
बिल्कुल-शाश्वत
देश परिवर्तनको पराजित-
एकहुल उदाउनीहरू उद्रभावमा
वर्तमान जेन्जीहरु-
तिनका साहासी उडानहरू
परलोकबाट घर खोज्दै आएको
यिनिहरूको मृत आत्माहरूलाई पनि
मैले गोरेटोमा देखेँ ,
चुपचाप !
जीवनको गहिरो भोगाइ बोकेर हिंडेका
मुसाफिर अहिलेसम्म
जो जति भेटें जे जति देखेँ गोरेटोमा
ती सबैको भोगाइ मेरैजस्तो थिए
त्यसैले
मैले म आफैलाई गोरेटोमा देखेँ !






