
लघुकथा
सामाजिक सञ्जाल
शुषमा चित्रकार
गएको राती उसले फेसबुक मेसेन्जरमा साथीसँग कुरा गरी युटयुबमा पोडकास्ट हेरेर निदाएकी थिई । बिहान उठ्दा कुनै पनि सामाजिक सञ्जाल चलिरहेका थिएनन् । घरको काममा ब्यस्त भएकीले उसले खासै ध्यान दिइन । खाना खाइसकेर उसले फेरि युटयुब चलाउन खोजी, चलेन । घरमा सबैसँग सोधी, कसैको पनि चलिरहेको थिएन ।
त्यत्तिकैमा एउटी साथीले फोन गरी, “तिम्रोमा फेसबुक चलिरा छ ?”
“कहाँ चल्नु, बिहानदेखि कोसिस गर्दैछु । चलेकै हैन ।”
“मेरोमा पनि चलेको छैन तर यहाँ छिमेकीको फेसबुक चलेको छ ।”
उसले दुइचार अरुलाई पनि फोन गरेर सोधी । अधिकाँशको सामाजिक सञ्जालले काम गरिरहेको थिएन ।
“मैले त, डिएनएसबाट फेसबुक र मेसेन्जर चलाएको छु । भिपिएनबाट पनि चलाउन मिल्छ ।” अर्को साथीले जानकारी दियो ।
उसले कहिल्यै नसुनेकी नामहरु ती । जे पायो त्यही एप्स चलाउँदा आफ्ना सबै सूचना गुम्छ भन्ने पनि सुनेकी थिई उसले ।
दिनभरि छटपटीमा बित्यो । टिभिका कुनै पनि च्यानेलमा मन लागेन । उसलाई के के न छुटेकोझैँ लागिरह्यो ।
‘युटयुब नचल्ने थाहा भएको भए, पहिले नै राम्रा फिल्म डाउनलोड गर्थेँ ।’ उसलाई थकथक लाग्यो ।
मोबाइल, फेसबुक र युटयुब आइनसक्दा पनि उसको जिन्दगी गतीमै चलेको थियो । अहिले अचानक सामाजिक सञ्जाल बन्द भैदिँदा त्यसको लत लागिसकेको उसलाई कस्तुरी हराएको मृग झैँ भएको थियो ।
“कहिले सम्म बन्द हुने होला ?” फोनमा साथीहरुलाई सोध्दा कुनै जानकारी नभएको र आफ्नो फेसबुक मजाले चलिरहेको सुनाउँथे । उसलाई डाहा र दुःख लाग्थ्यो ।
राम्ररी खान पनि मन लागेन उसलाई । भोलिपल्ट पनि बिरामी जस्तै पल्टेरै दिन बित्यो उसको । थोरै भए पनि खान घरमा सबैले भने, “मुखै मिठो छैन मेरो ।” उसले कसैको सुनिन ।
छोरी फोनमा कुरा गर्दै थिई साथीसँग, “ए हो ? युटयुब चलेछ ? हुन्छ, म चेक गर्छु ।”
कुराकानी उसले पनि सुनी । नभन्दै युटयुब र मेसेन्जर चलिसकेको रहेछ ।
एक्कासी उसलाई अचाक्लि भोक लाग्यो । केही खान ऊ भान्छातिर लागी ।
ललितपुर







