
इटहरी ।नेपाली काव्य र साहित्यको उन्नयनमा साढे दुई दशकदेखि क्रियाशील संस्था एपेक नेपालको आयोजनामा कोसी प्रदेशको इटहरीमा ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ सम्पन्न भएको छ ।
शनिबार (कात्तिक १५) आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कवि मनु मञ्जिलको आफूलाई मन परेको कविता ‘दुस्मन’का केही हरफ वाचन गर्दै महोत्सवको उद्घाटन गरेका थिए ।
उनले विकास भनेको सडक र पुल निर्माण मात्र नभएको बताए । प्रदेशको साहित्य, कला, संस्कृतिको पनि विकास गरिनुपर्नेमा उनले जोड दिए । उनले भने, “कला, साहित्य र संस्कृतिको विकासमा कोसी प्रदेश सरकारको पूर्ण सहयोग रहनेछ ।”
कोसी प्रदेशसभा सदस्य तथा काव्यमहोत्सवका सल्लाहकार कवि मीना श्रेष्ठले इटहरीमा एउटा साहित्यिक भवन निर्माणका निम्ति पहल गरिएको बताइन् । यसनिम्ति उनले प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरिन् ।
प्रदेश सरकारका पर्यटनमन्त्री सदानन्द मण्डलले उक्त कार्यका निम्ति सहयोगको प्रतिबद्धता जनाए ।
महोत्सवको उद्घाटन चरणमा एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठ, कार्यकारी निर्देशक कवि राजेन्द्र शलभले अर्को वर्षको महोत्सव मधेस प्रदेशमा आयोजना गर्ने सोच रहेको बताए ।
कार्यक्रमको दोस्रो चरणमा काव्यमहोत्सवमा सहभागी सात प्रदेशका १४ कविको कवितामा १४ चित्रकारले कोरेका चित्रहरूको प्रदर्शनी गरियो । चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कविता र चित्र दुवै अवलोकन गरे ।
काव्यमहोत्सवको तेस्रो चरणमा १४ कविले आ–आफ्ना कविता वाचन गरे ।





