
काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ । नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार पारिएको उक्त कृतिको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गरेका हुन् ।
एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष रोदनले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरे पनि यात्राको अनुभवलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गरे ।
उनले भने-‘सरल भाषामा लेखिएको ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ’।
पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार डा. विन्दु शर्माले उक्त कृतिले नेपाली साहित्यलाई पर्यटनसँग जोडेको बताइन् । कृतिले कैलाश घुम्ने क्रममा भेटिएका गुम्बा र विभिन्न स्थानको किंबदन्तीलाई समेटेको उनले उल्लेख गरिन् ।
समीक्षक राम लोहनीले कैलाश घुम्दाका बखत आफूले देखे भोगेका कुरालाई पुस्तकमा समावेश गरिएको बताए ।
कृतिकार डंगोलले कृतिको रचना गर्भको बारे बोले।
एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका सल्लाहकार ज्योति अधिकारीले नेपालको बाटो हुँदै वार्षिक ३० हजार आन्तरिक तथा बाह्य पर्यटक कैलाश मानसरोवर जाने गरेको जानकारी दिए ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे,नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट,होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह,एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका अध्यक्ष विमल नहर्की, महासचिव प्रदीप पण्डित लगायतले आफ्नो विचार राखे।







