१.
यता उता पर जाओस् ,यसो सर्न पनि दिँदै दिन्नौ
लाटो बुङ्गोझैँ भएँ म त, केही गर्न पनि दिँदै दिन्नौ
वशिकरण मोहिनीले बाँध्यौ कि, भन्ने लाग्न थाल्यो,
स्वतन्त्र जिउन त दिइनौ, झन मर्न पनि दिँदै दिन्नौ ।
२.
हावा हुँ म हावा, उड्छु अनि उडाउँछु, धावा नभन्नु
छिनमा यता हुन्छु, छिनमा कताकता, कावा नभन्नु
बुझे पनि हावा नबुझे पनि हावा, किन यस्तो दावा ?
होसियार सत्यतथ्य यथास्थान मलाई हावा नभन्नु ।
३.
सुख चैन भए मनमा, झुपडी पनि लाग्छ आलिसान
दैवले तँ भनि नलखटे, त्यहीँ नै पाईन्छ सान र मान
दुस्खीलाई नजर लाउने दुःखी, धनीलाई फुर्सत कहाँ ?
सुखको त्यहीँ हुन्छ बास, जहाँ हुन्छ हाँसो र मुस्कान ।
४.
कस्तो अप्ठेरो भइरहन्छ आभासले अत्यास लाग्छ
मन पनि तरङ्गित हुन्छ एकतमासले अत्यास लाग्छ
संधै मनमा बस्ने आफ्नोलाई विसर्जन गरि फर्कंदा,
जीवनमा धोका किन दिन्छ सासले अत्यास लाग्छ ।
५.
सालिक बन्ने जन्मनै छाडे , कुकुर साला मात्र छन्
चाप्लुसीको हदै भयो , मुख छेक्ने माला मात्र छन्
फूल पनि धुरु धुरु रुँदो हो ,मोरोको गलामा बस्दा !
बोली ठीक न भाषा ठीक ,गन्हाउने नाला मात्र छन् ।