
काठमाडौँ। नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानक मासिक कथा वाचन कार्यक्रमको उनान्तीसौं श्रृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रममा स्रष्टा गोविन्द बहादुर मल्ल ‘गोठाले’को तस्वीरमा माल्यार्पणसहित उनको ‘औंठी’ शीर्षकको कथा वाचन गरिएको थियो । उक्त कथा ऐतिहासिक शारदा मासिकको वर्ष ९ सङ्ख्या ९ (१९९९ पुस) को अङ्कबाट उपन्यासकार शुकदेव उपाध्यायले वाचन गरेका थिए ।
२०४० को दशकमा प्रकाशित कथा कथाकार योगेन्द्र तिमिल्सिनाले २०४६ सालको गोरखापत्रमा प्रकाशित ‘मूल्याङ्कन’ शीर्षकको कथा वाचन गरेका थिए ।
२०५० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार अमर प्रधानले आफ्नो ‘सौन्दर्य’ शीर्षकको कथा २०५७ असोजको ‘आँखा’ साहित्यिक पत्रिकाबाट वाचन गरेका थिए । त्यस्तै, २०७० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार बिन्दु अधिकारी ढकालले २०७७ सालमा प्रकाशित आफ्नो कथासङ्ग्रह ‘मावली दिदी’बाट ‘समयको छुरा’ शीर्षकको कथा वाचन गरेकी थिइन् ।
कथावाचनपछि बैरागी जेठा, प्रकाश कुमार अर्याल, चोकबहादुर दाहाल, सुमन अर्याल लगायतले ती कथाहरूमाथि बिभिन्न जिज्ञासा राखेका थिए । तीनै जना कथाकारले आआफ्ना कथाहरूमाथि गरिएका प्रश्नहरूको जवाफ दिएका थिए । यसरी रचना सुनेर तत्कालै स्रोताको प्रतिक्रिया र प्रश्नोत्तरले कार्यक्रम निकै रोचक भएको थियो ।
अभियानका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकास क्रमबारेमा संक्षिप्त प्रकाश पार्दै नेपाली साहित्यमा बौद्धिक क्रान्ति आयो कि आएन ? आधुनिकता आयो कि आएन ? विश्व साहित्यमा जोडिन सक्ने वातावरण बन्यो कि बनेन त्यसबारे चिन्तन हुनु पर्ने धारणा राखे ।
लोहनीले भने, “सबै विषयभन्दा बढी पिएचडी गर्ने शिक्षकहरू नेपालीमा छन् । तर तिनीहरू प्रायः संस्कृत पृष्ठभूमिबाट आएका छन् , अङ्ग्रेजीको ज्ञान छैन । त्यसो हुँदा विश्वविद्यालयको पाठ्यक्रम आधुनिक हुन सकेको छैन ।”
उनले भने, “आपूmभित्र आएको अन्तरचेतनालाई राम्रोसँग व्यक्त गरिएका कथा आधुनिक कथा हुन् । नेपाली साहित्यमा आधुनिक कथाको शुरुआत भिक्षुले गरेका हुन् । उनमा हिन्दी र उर्दूको ज्ञान हुँदा प्रभावित भई आधुनिक कथाको शुरुआत गर्न सकेका हुन् ।”
मन्तव्यसहित सभा बिसर्जन गर्ने क्रममा पुनर्जागरण अभियानका अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले नेपाली कथाहरूको कालखण्ड छुट्याई वाचन गरिँदा तिनको विकासक्रमबारे सबैलाई ज्ञात हुने, बिभिन्न पुस्ताका कथाकारहरूबीच प्रत्यक्ष भेटघाट, चिनजान र सम्बन्ध स्थापना हुने धारणा व्यक्त गरे ।
भट्टराईले हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर आरम्भ गरिने कार्यक्रममा दिवंगत स्रष्टाहरू गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, रूपनारायण सिंह, विष्णुचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, युद्धप्रसाद मिश्र, मात्रिकाप्रसाद कोइराला, रुद्रराज पाण्डे, बोधविक्रम अधिकारी, शंकर लामिछाने, श्यामराजा, लक्ष्मीनन्दन शर्मा चालिसे, एम लक्ष्मी, केशवराज पिंडाली, तारिणीप्रसाद कोइराला लगायतका कथा वाचन गरिसकिएको बताए ।
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा स्रष्टा पुष्कर लोहनीको ८८औं जन्मदिवस पनि मनाइएको थियो ।







