काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।
प्रतियोगितामा कर्णालीको यो दोस्रो जित हो । कर्णालीले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा भने कर्णालीले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
अन्तिम ओभरमा विराटनगरलाई जितका निम्ति १५ रन आवश्यक थियो । तर, क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले सात रन मात्र जोड्न सके । त्यससँगै विराटनगर सात रनले पराजित भएको हो ।
विराटनगरका निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए पनि हार टार्न सकेनन् । नन्दन यादवबाट १८औँ ओभरको चौथो बलमा बोल्ड हुनुअघि उनले ३९ बलमा चार चौका र एक छक्का प्रहार गरे । ६०–५ को स्थितिबाट किर्टोनले छैटौँ विकेटका निम्ति दीपक बोहरासँग ४४ रनको साझेदारी गरेका थिए ।
बोहराले १८ रन थपे । उनलाई १८औँ ओभरको पहिलो बलमा नन्दनले नै बोल्ड गरेका थिए ।
कर्णालीका नन्दन यादवले तीन विकेट लिए । उनले विराटनगरका निकोलस किर्टोन, दीपक बोहरा र अकिब इल्साललाई आउट गरे ।
विपीन शर्माले दुई विकेट लिए । उनको नाममा मार्टिन गप्टिल र लोकेश बमको विकेट रह्यो । सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीले समान एक विकेट लिए । सोमपालले क्रिस सोल, बोसिस्टोले नरेन भट्ट र युनिसले बसिर अहमेदको विकेट लिए ।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।
कर्णालीका विलियम बोसिस्टो र देव खनालले अर्धशतक बनाए । टिमबाट सबैभन्दा धेरै रन बनाएका बोसिस्टोले ४९ बलमा ६६ रन जोडे । यसक्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे । लिगमा बोसिस्टोको यो पहिलो अर्धशतक हो ।
९–२ को कठिन स्थितिमा ब्याटिङ गर्न आएका बोसिस्टोले तेस्रो विकेटका निम्ति देवसँग १०२ रनको शतकीय साझेदारी गर्दै कर्णालीको इनिङ सम्हालेका थिए । बोसिस्टो १९औँ ओभरको अन्तिम बलमा क्रिस सोलबाट एलबीडब्ल्यूको धरापमा परे ।
देवले टिमको खातामा ५३ रन थपे । बसिर अहमेदले गरेको १६औँ ओभरको तेस्रो बलमा क्रिस सोलबाट क्याच हुनुअघि उनले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गरे । प्रतियोगितामा देवको पनि यो पहिलो अर्धशतक हो ।
यसबाहेक कर्णाली अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका अर्का ओपनर शिखर धवन पाँच रनमै पभेलियन फर्किए । धवनलाई दोस्रो ओभरको तेस्रो बलमा प्रतिश जिसीले बोल्ड गरेका थिए ।
कर्णालीले स्कोरबोर्डमा नौ रन हुँदा दोस्रो विकेट गुमायो । कर्णालीका चान्डविक वाल्टनलाई विराटनगरका क्रिस सोलले विकेटकिपर लोकेश बमबाट क्याच गराएका थिए ।
जिसान मक्सुदले दुई, अर्जुन घर्ती पनि एक रन जोड्दै आउट भए । गुल्सन झा, युनिस ठकुरी र विपीन शर्मा ‘गोल्डेन डक’ भए ।
गुल्सनलाई १६औँ ओभरको चौथो बलमा बसिर अहमेदले एलबीडब्ल्यू गराएका थिए । यस्तै, २०औँ ओभरको चौथो बलमा एलबीडब्ल्यू आउट भएका नन्दन यादव पनि ‘डक’ भए । उनलाई प्रतिश जिसीले पभेलियन फर्काएका थिए । सोही ओभरको पाँचौँ र छैटौँ बलमा क्रमशः युनिस र विपीन आउट भएका थिए ।
प्रतिश जिसीले गरेको अन्तिम ओभरमा विराटनगरले चार विकेट लियो, जसमा एक रनआउट र तीन विकेट प्रतिशको नाममा रह्यो । चार ओभर बलिङ गरेका प्रतिशले एक मेडन फ्याँक्दै १७ रन खर्चिए । क्रिस सोल र बसिर अहमेदले समान दुई विकेट लिए । अकिब इल्यासको नाममा एक विकेट रह्यो ।
प्रतियोगितामा विराटनगरको भने यो तेस्रो हार हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो । तेस्रो खेलमा विराटनगरले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको जित निकालेको थियो ।