काठमाडौं । यूएईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध ५४ रनको जित दर्ता गरेको छ ।
जारी शृंखलामा यूएईले दोस्रोपटक ओमानलाई हराएको हो । शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा यूएईले ओमानलाई २५ रनले पराजित गरेको थियो । जितपछि पनि २४ खेलमा १४ अंक जोडेको यूएई पुछारमै छ । पराजित ओमान २७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ । यूएईको सातौँ जित हाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामाआइतबार यूएईले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा २५४ रनमा समेटियो । वर्षाका कारण मैदान ओसिलो भएपछि टसमा ढिलाइ हुँदा अम्पायरले खेललाई ४७ ओभमा छोट्याएका थिए ।
ओमानका जितेन रामान्दीले अविजित ९१ रनको इनिङ खेले । उनले ६२ बलमा सात चौका र ६ छक्का प्रहार गरे ।
हम्माद मिर्जाले ८३ रन बनाए । उनले ८२ बलमा ६ चौका र चार छक्का प्रहार गरे । आर्यन विस्टले २७ र वासिम अलीले १२ रन जोडे ।
रामानन्दिले पाँचौँ विकेटका लागि मिर्जासँग ८७ रनको साझेदारी गरेका थिए । चौथो विकेटका निम्ति रामानन्दी र विस्टबीच ६२ रनको साझेदारी भएको थियो ।
यूएईका जुनैद सिद्दिकीले सर्वाधिक ६ विकेट लिए । ७.५ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिए । मोहम्मद शदादले दुई र मोहम्मद जवादुल्लाहले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ओमानविरुद्ध निर्धारित ४७ ओभरमा आठ विकेट गुमाएर ३०८ रनको योगफल खडा गरेको थियो ।
यूएईका निम्ति हप्रित सिंह भाटियाले ७७ रनको अर्धशतकीय इनिङ खेले । भाटियाले ६५ बलमा सात चौका र तीन छक्का प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले दोस्रो विकेटको निम्ति आदिब उसमानीसँग १२३ रनको शतकीय साझेदारी गरेका थिए ।
महोम्मद शहदादले ७४ रनको अर्धशतकीय इनिङ खेले । शहदादले ६४ बलमा समान पाँच चौका र छक्का प्रहार गरे ।
आदीब उसमानीले ७२ रन बनाए । उसमानीले ७८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । उनले पहिलो विकेटको निम्ति ओपनर आर्यन्स शर्मासँग १११ रनको शतकीय साझेदारी गरेका थिए ।
ओपन आर्यनसले ५० रन बनाए । आर्यनसले ६१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
ओमानका मोहम्मद इम्रानले तीन विकेट लिए । नदिम खानले दुई विकेट हात पार्दा शाकिल अहमद र आर्यन विस्टले समान एक विकेट लिए ।