
निबन्ध
मैले पाएको पुरस्कार
ज्ञानेन्द्र विवश
मैले पाएको पुरस्कार मेरो मौलिक सिर्जनाको प्रतिध्वनि हो । मैले जुन विधा र विषयमा आफूलाई सिर्जनशील पारेँ, त्यही विधाका अग्रजको नामबाट मैले पुरस्कार पाएँ । थोरैमा पनि खुसी मेरा लागि धेरै हो ।
धातुको चम्किलो टुक्रा वा प्रशंसापत्रको एक पाता मात्र होइन पुरस्कार । यो त सिर्जनाको यात्रामा पाइने एउटा मीठो विश्राम हो । अनवरत साधनाको स्वीकारोक्ति हो । हृदयको गहिराइबाट निस्किने प्रेरणाको प्रतिध्वनि हो । योगदानको उचित कदर गरे–नगरेको जे भए तापनि यसरी लेखकलाई सरकारले वा निजी संस्थाले सम्झिनु ठूलै कुरा मान्नुपर्छ । यतिबेला ‘मैले के, के पुरस्कारहरू पाएँ ?’ शीर्षकमाथि सोँच्छु ।
मेरो मनमा ती क्षणहरू जीवन्त हुन्छन् । मेरो लेखनीका अक्षरहरू र रङका स्पर्शहरूले सम्मानको माला पहिरिएका थिएँ । थोरै सही तर तिनमै मैले सन्तुष्टि पाएको थिएँ । कतिपयलाई ‘जाबो यति पुरस्कार पाउँदैमा लेख्नुपर्ने’ भन्ने लाग्ला । किनभने कतिले घरका कोठा र भित्तामै राख्न नपुग्ने गरी पुरस्कार, सम्मान र मायाका चिनोले भरिभराउँ होलान् । तिनलाई अझ पुगेको छैन । र, तिनले लेख नै त लेखेका छैनन् । तर त्यसमा मेरो चित्त दुखाइ छैन । यतिमै म पनि एकदमै खुसी छु ।
यद्यपि मैले पुरस्कार खोजिनँ, सम्मान रोजिनँ । दिएको लिन पनि कतिपय अवस्थामा आनाकानी गरेँ । पुरस्कार र सम्मानको पछि लाग्ने लेखक म होइन । मभन्दा अग्रज साधकहरूको पालो सकिएपछि मेरो पालो स्वतः आओस् भन्ने मान्यताको लेखक म !
शङ्कर लामिछाने राष्ट्रिय प्रतिभा पुरस्कार, अरनिको युवा कला पुरस्कार, शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार ! यी नामहरूले मेरो हृदयलाई गौरवले मात्र होइन, अझ बढी विनम्रता र जिम्मेवारीको बोधले भरिदिएका छन् । मेरो लेखन–यात्राका आदर्श यिनै हुन् । तिनैको नामबाट आफू पुरस्कृत हुनु मेरा लागि गौरवको विषय हो ।
यी पुरस्कारहरू कुनै आकस्मिक प्राप्ति थिएनन् । मेरा निबन्धहरूका हरेक शब्दमा गुञ्जिएका भावनाहरू, कला–निबन्ध र कलासमीक्षाहरूका प्रत्येक अनुच्छेदमा समेटिएका पदचापहरू र फुर्सदका चित्रकला सिर्जनाहरूमा पोखिएका रङहरूको मौन संवाद थिए । मैले लेखेँ, महसुस गरेँ । मैले यात्रा गर्दा मैले हिँडिनँ मात्र होइन मैले जीवनलाई भोगेँ । र, जब मैले चित्र कोरेँ, मैले रङ घोलिनँ; मैले मनको गहिराइबाट निस्किएका भावना र आकारहरूलाई जीवन दिएँ ।
मेरा यी सिर्जनाकर्महरू, जुन मैले कुनै पुरस्कारको अपेक्षा नगरी, विशुद्ध आत्मसन्तुष्टिका लागि गरेको थिएँ । मलाई विश्वास छ, तिनैले आज यो गौरवशाली स्थानमा उभ्याएका छन् ।
हुन त ‘राज्यसत्ता’ ले ‘लेखनसत्ता’ लाई मानसम्मानको कुरा छाडौँ लेखकले पाउनुपर्ने निम्नतम् सुविधा के पाएको होला र ?’ म विचार गर्छु । नेपालमा लेखक बन्नु र पुरस्कृत हुनु आफैँमा कुनै प्राप्तिको आशा राख्नु व्यर्थ हुन्छ । पुरस्कृत हुने भाग्यमानीहरूको दौडधुप हेर्दा र सुन्दा लाज लाग्छ । यस्तोमा पुरस्कृत हुनु र ग्रहण गर्नु आफूलाई नै बोक्न नसक्ने भारीजस्तो पनि लाग्छ ।
अपितु, पुरस्कार पाउनु भनेको एउटा साहित्यकारका लागि प्रोत्साहन पनि हो । यसले थप ऊर्जा प्रदान गर्छ । अझ गहिरिएर सिर्जनामा लाग्न प्रेरित गर्छ । त्यसमा निष्पक्ष मूलयाङ्कनको पनि उत्तिकै भूमिका रहन्छ । शङ्कर लामिछाने, नेपाली साहित्यका एक महान् निबन्धकार, जसको नामबाट मैले पुरस्कार पाउनु मेरा लागि दोहोरो सौभाग्य हो ।
उहाँको लेखनको गहिराइ, सूक्ष्म अवलोकन क्षमता र भाषिक लालित्यले सधैँ मलाई मोहित पारेको छ । उहाँको नामसँग जोडिएर पुरस्कृत हुँदा मैले मेरो आदर्श लेखक लामिछानेलाई झल्झली सम्झिरहेँ । उनको लेखनको शैली र उनको लेखनमाथि मेरो लेखनलाई पनि मैले याद गरेँ ।
मलाई लाग्छ, मेरा निबन्धहरूले पनि केही हदसम्म उहाँको वैचारिक विरासतलाई अँगाल्न सकेका छन् । निबन्ध लेखनमा लामिछानेको पद्चाप नपछ्याउने, नपढ्ने कोही छैनन् । कलामा अरनिकाको पद्चाप नपहल्यिाउने पनि विरलै होलान् । यसरी आफ्ना प्रातःस्मरणीय अग्रज पुस्ताको कर्मलाई आत्मसात गर्दै आफूले सिर्जनात्मक धरातलको जग खन्नु स्वाभाविक हो ।
त्यस्तै, ‘अरनिको युवा कला पुरस्कार’ ले मेरा चित्रकलाहरूलाई दिएको सम्मानले मलाई रङ र आकारको माध्यमबाट अभिव्यक्ति दिने मेरो प्रयासलाई सार्थक तुल्याएको छ । चित्रकला, जहाँ शब्दहरू मौन हुन्छन् र रङहरू बोल्छन् । त्यो मेरो आत्माको अर्को अभिव्यक्ति हो । कलाकारका कलाकर्ममाथि मैले लेखेका लेखन भनौँ या कलासमीक्षा ती मेरो सिर्जनाको अर्को पाटा हुन् । त्यस्तै फुर्सदका क्षणहरूमा क्यानभासमा पोखिएका मेरा भावनाहरूलाई कलाका पारखीहरूले चिन्नु र सम्मान दिनु मेरा लागि असीमित खुसीको कुरा हो ।
मैले पाएका यी पुरस्कारहरूले मलाई एउटा अनमोल पाठ सिकाएका छन्ः । सिर्जनाकर्मको वास्तविक आनन्द त्यसको ‘प्रक्रिया’ र ‘परिणाम’ मा हुन्छ । हामी कुनै अपेक्षाविना, पूर्ण निष्ठा र समर्पणका साथ आफ्नो काममा लीन हुन्छौँ । त्यसले वास्तविक मूल्य प्राप्त गर्छ । ती पुरस्कारहरूले मलाई यति नै पर्याप्त छ भन्ने सन्तुष्टि दिएको हुन्छ ।
मलाई लाग्छ, त्यो पुरस्कार कुनै भौतिक प्राप्तिभन्दा धेरै माथि रहन्छ । यो सन्तुष्टि भनेको आफ्नो भित्री आवाजलाई सुन्नु हो । त्यसलाई इमान्दारीपूर्वक अभिव्यक्त गर्नु पनि हो । साथै त्यसैमा आफूलाई पूर्ण रूपमा समर्पित गर्नुको फल पनि हो ।
यी पुरस्कारहरू मेरा लागि सम्मानका ‘प्रतीक’ मात्र होइनन् । यी त भविष्यका लागि मेरा थप ‘प्रेरणाका स्रोत’ हुन् । यिनले मलाई अझ बढी इमान्दारिताका साथ लेख्न, अझ गहिरिएर यात्रा गर्न र अझ सूक्ष्म रूपले कलालेखन गर्न तथा चित्र कोर्न प्रेरित गर्छन् ।
मैले पाएका यी पुरस्कारहरूले मलाई सिर्जना र सम्मानको मिलन गराएको छ । त्यो स्वयम्मा एउटा अनुपम पुरस्कार बन्छ । त्यसको मूल्य कुनै पदक वा प्रमाणपत्रले नाप्न सकिँदैन । यो यात्रा अनवरत जारी रहनेछ । त्यहाँ म हरेक सिर्जनामा आफूलाई पुनः परिभाषित गर्ने छु । किनकि मेरो लागि ‘पुरस्कार’ भनेको सिर्जना स्वयम् हो । ‘सम्मान’ चाहिँ त्यसको सुन्दर ‘प्रतिफल’ हो ।







