
चेतनपथ माधव
१.
अनौठो भोक लागेको छ, तिर्खा लागेको छ
गहिरो निद्राले लामा लामा जरा गाडेको छ
हजुर !अलिकति प्रेम पैँचो पाहिन्छ होला ?
मन रित्तिएर, अभावले ढोका उघारेको छ ।
२.
आफैं बिरानो लाग्दैछ, घरै खाली भए जस्तो
फिक्का छ डाली, पराइ भई फूल झरे जस्तो
ढलेको छ एउटा मुढो, चालै छैन छाती भित्र
मुटुले नै घर छाडी मनको संघार नाघे जस्तो ।
३.
आफैं आफ्नै हातमा जन्जिर राख्दैछ
सम्झनाले सिरानीमा तस्बिर राख्दैछ
सबैको भाग्यमा प्रिय छाती हुँदैन नि
रुनलाई कोही पत्थरमा शिर राख्दैछ।
४.
सूर्यमुखी जस्तै सूर्यतर्फ मरक्क मर्कन्छ्न् बाहिरबाटै
कर्कलाको पातमा भ्रम परेजस्तै तर्कन्छन् बाहिरबाटै
के सम्झेर आउँछ्न् मान्छेहरू, के खोज्छन् मभित्र
खण्डहरलाई जस्तै हेर्छन् अनि फर्कन्छन् बाहिरबाटै ।
५.
हरपल मुटुभित्रको तस्बिरले सताएको छ
खोज्दा खोज्दै खुट्टामा ठेला पलाएको छ
सोच्नोस् त ! त्यो बटुवा कहाँ पुग्छ होला
जसलाई सम्झनाको बाढीले बगाएको छ ।








