
चर्चामा पुस्तक
गाँठो
डा.शेखरकुमार श्रेष्ठको कथाङ्ग्रह गाँठोभित्र समाजका अनेकौं अवयवहरुको उच्छवास मिसिएका कथाहरु छन् । समाजलाई एउटा पर्यवेक्षकले जस्तो पर्यवेक्षण गरेर कथाकारले कथाहरु बुनेका छन् । जुन जुन घट्नाहरुमा उनको मन जोडियो त्यसैलाई मनले नै खिपेर शब्दहरुमा उतारेका छन् । त्यसैले कथाहरुको कथानक निर्माणको जग नै हामी र हामी बाँचेको समाज र परिवेश हो ।
उनले हामीले देखेभोगेकै,चिनेजानेकै पात्रहरुलाई कथामा उतारेका छन् । उनको कथाहरुको पात्रचयन कला पनि सुन्दर छ र पात्रहरुप्रति न्याय पनि गरिएको पाइन्छ ।कथासङ्ग्रहभित्र १३ वटा लामा तथा मझ्यौला आयतनका कथाहरु समावेश गरिएको छ ।
बिम्ब र प्रतिकको सहि समावेशले कथाहरु सुन्दर बनाउने उनको सार्थक प्रयास पनि देखिएको छ ।शिर्षक कृतिमाथिको एक कथाबाट चयन गरिएको छ। सरल,सुबोध्य भाषाशैलीले कथामा प्राण भरेको छ ।
गाँठो कथाकृतिलाई सुसेली साहित्यिक प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यस कृतिको मूल्य रु.४००। राखिएको छ ।
समकालीन नेपाली निबन्धमा पूर्वीय दर्शन
नेपाली समालोचनाको क्षेत्रमा दर्शनपरक अध्ययनमा आधारित भएर आएको छ यो कृति । पाठक तथा विद्यार्थीहरुलाई समकालीन नेपाली निबन्धमाथि पूर्वीय दर्शनका केही मुख्य मूल्य र मान्यताहरुलाई आधार बनाएर कृति प्रकाशित भएको छ । सुधा शर्माको यो कृतिले नेपाली निबन्धमा दर्शनको विविधतायुक्त प्रयोग,विश्लेषणलाई तथ्यपरक,प्रामाणिक र विश्वसनीय आधारबाट गरिएको देखिन्छ । उपनिषद र षडदर्शनलाई कृतिले मूल स्रोतको रुपमा प्रयोग गरेको छ ।
विश्वकै पुरानो दर्शन मानिएको पूर्वीय दर्शनको गहन अध्ययन र चिन्तन गरिएको छ । लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समका निबन्धमा प्रयोग भएका दर्शन समेत उल्लेख गरिएको छ ।कृतिले पूर्वीय दर्शन र आजका नेपाली निबन्ध,समकालीन नेपाली निबन्धमा जगत्चिन्तन,समकालीन नेपाली निबन्धमा बन्धन र मोक्ष चिन्तन,जीव,आत्मा,ब्रह्म र ईश्वरीयचिन्तन समेतको अध्ययन गरेको छ ।
समकालीन नेपाली निबन्धमा पूर्वीय दर्शनलाई शब्दार्थ प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.६००। रहेको छ ।
सपनाको पहाड
लघुकथासङ्ग्रह सपनाको पहाडभित्र विविध शिर्षकृत ५८ थान कथाहरु समावेश गरिएका छन् । ध्रुवराज थापा पुरुषले कृतिमा समाज र यसकै वरिपरिका विभिन्न आयामहरुलाई कथाका विषय बनाएका छन् ।लघुकथा लेखनीमा भीड लागेको छ बाढी झैं आएको छ लघुकथा लेखन र प्रकाशन । यहि भीडमा एउटा अलग्गै अस्तित्व देखाउन प्रयासरत छन् थापा।मसिना सन्दर्भहरुमा कथानक बनाएर लघुकथा सृजना गर्ने उनको खुवी देखिन्छ । आफु बाँचेको,आफुले देखेभोगेको,आफ्नै आसपासका सन्दर्भका कथानक भित्र परेका सुन्दर लघुकथा छन् । पारिवारिक,राजनीतिक,आर्थिक लगायतका हरक्षेत्रका वेथितिहरु लघुकथाहरुले उजागर गरेका छन् ।वर्तमान राजनीतिक भ्रष्टिकरणमाथि उनी कटाक्ष गर्छन् । विज्ञान र प्रविधिका कुराले पनि कथामा महत्व पाएका छन् ।
लघुकथाका आयाम अनुसारका कथा छन् । रुपविधानको कसीमा घोटिएका छन् । चोटिला भावका छन् । पाठकको मन जित्नसक्छन् । आधारभूत रुपमा लघुकथाका विशेषताहरुले भरिएका छन् कथाहरु । सरल शब्दशैलीले कथाहरु जीवन्त बनाएका छन् ।
सपनाको पहाडलाई सिर्जना अभियान समाजले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२५०। रहेको छ ।







