
चर्चामा पुस्तक
अभिधर्मकोशको सम्यक् सामुहिक प्रवेशद्धार
धर्म सिकाउने व्यक्तिले कसरी सिकाउनुपर्छ भन्ने बारेमा उपयोगी पुस्तक हो यो । यसमा अभिधर्मकोशका आठ ्रस्थानहरुको जानकारी सहित व्याख्या गरिएको छ । अभिधर्मकोशको बन्दना गरिएको छ । यस पुस्तकमा पञ्चस्कन्धको चर्चा गरिएको छ । पुरुष तथा स्त्रीका इन्द्रिय र जीवितेन्द्रिय वेदनाको वर्णन गरिएको छ ।सम्प्रयुक्त संस्कार,सत्वको वर्णन,कर्महेतुफल लगायतको विषयमा पुस्तकले जानकारी दिएको छ ।
कृतिले काम धातु, आर्य सत्यको दर्शन,समथा र विपश्यना बारे जानकारी दिन्छ । यसैगरी कृतिले बुद्धको असाधारण गुणको चर्चा समेत गरिएको छ ।
अभिधर्मकोशको सामूहिक प्रवेशद्धारलाई खेन्पो कर्मा दावा टासीले अनुवाद गरेका हुन् । यस कृतिलाई टेगार फाउण्डेशन अफ नेपालले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३००। राखिएको छ ।
अविश्रान्त पाइलाहरु
कविता,कथा,समालोचना लगायत विधामा कलम चलाउने नरेन्द्रराज पौडेलको नियात्रा कृतिभित्र विभिन्न १४ शिर्षककृत नियात्राहरु समावेश गरिएका छन् । यसमा तीन थान विदेशी र एघार थान स्वदेशभित्रका नियात्रा परेका छन् । चौधसालदेखि उनासीसालसम्मका विभिन्न संस्मरणहरु नियात्राको रुपमा आएका छन् ।
यसैले कृतिमा विभिन्न कालका अनुभव र अनुभूतिहरु पर्गेलेर आएका छन् । विभिन्न समयका भूगोल,परिवेशहरु उजागर गरिएका छन् ।प्रकृतिको चित्रण,स्थानीय परिवेश र वातावरण तथा दैनिकीहरुले यहाँ स्थान पाएका छन् । उतिवेलाका सुख दुखका भोगाइहरु,जागीरे जीवनका अनुभवहरु,डोजरे संस्कृतिले विनास गरेको वातावरण जस्ता कुराहरु पनि यहाँ छन् ।
निजात्मक अनुभूतिमा भिजेर लेखकले मीठासपूर्ण भावमा लेखेका छन् । स्थानीयतामा रमाएका छन् । उनी जहाँ जान्छन् पाठक सम्मोहित हुँदै लानसक्ने खुवी राख्छन् । भाषाशैली र प्रस्तुतीकरणले नियात्रामा प्राण भरेझैं देखिन्छ । झर्रा शब्दहरु प्रयोग भएका छन् । कृति पठनीय छ ।
अविश्रान्त पाइलाहरुलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.३५०/ रहेको छ ।








