धूलिखेल,काभ्रे । नेपालको चलचित्र जगतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले काभ्रेकोे धूलिखेलमा १३ सय रोपनी क्षेत्रफलमा आउटडोर ल्फिम स्टुडियो निर्माण हुने भएको छ ।
यस सम्बन्धमा चलचित्र विकास बोर्ड र धूलिखेल नगरपालिकाबीच परियोजना सम्बन्धी प्रारंभिक सम्झौता सम्पन्न भएको छ ।
धूलिखेल नगरको स्थापना दिवसको अवसरमा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतामा हस्ताक्षर गरे ।
नगरको ३९औं स्थापना दिवसको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा उक्त सम्झौता भएको हो । कार्यक्रममा पूर्वसञ्चारमन्त्री माननीय गोकुल बाँस्कोटा लगायत उच्च पदस्थ व्यक्तित्वहरुको समुपस्थितिमा उक्त सम्झौता भएको हो ।
स्रोतले बताए अनुसार नेपालकै पहिलो अत्याधुनिक आउटडोर ल्फिम स्टुडियो धूलिखेलमा बन्न लागेको हो । नेपाललाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र निर्माण गर्ने उद्देश्यका साथ बन्न लागेको उक्त स्टुडियो अत्याधुनिक प्रविधियुक्त हुनेछ ।