
चर्चामा पुस्तक
चिकित्साका चौध तारा
वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार राजेश खनालकृत चिकित्साका चौध तारा तेस्रो कृति हो । चिकित्साक्षेत्रका चर्चित १४ जना चिकित्सकहरुको व्यक्तिवृत्त कृतिमा समेटिएको छ । यस कृतिभित्र चौध विशिष्ठ साधकहरु क्रमशः डा.कृष्णजंग राणा, डा.गौरीशंकरलाल दास,प्रा.डा.दिनेशनाथ गोंङ्गल,प्रा.डा.मणिन्द्ररञ्जन बराल,प्र.डा.मृगेन्द्रराज पाण्डे,डा.यन्तमणि प्रधान, प्रा.डा.रामप्रसाद पोखरेल,प्रा.डा.लोकविक्रम थापा,प्रा.डा.विश्वराज दली,डा.शंकरप्रसाद उप्रेती,प्रा.डा.सरस्वती पाध्ये, प्रा.डा.सुदिपकुमार भट्टाचार्य,डा.सुन्दरमणि दीक्षित,प्रा.डा.हेमाङ्ग दीक्षित, लगायतका चर्चित चिकित्सकहरुको व्यक्तिवृत्त छ । उनीहरुको समयका यथार्थ तस्वीरलाई पुस्तकले जानकारी दिन्छ । उनीहरुका भोगाईहरु पनि जान्न यो व्यक्तिवृत्त कृति सहयोगी हुन्छ।
यसका अतिरिक्त डा.अञ्जनीकमुार शर्मा र डा.बुद्धिमान श्रेष्ठका विषयमा लेखिएका दुई संस्मरण पनि कृतिमा समावेश गरिएको छ । मूल्य रु.३९५। रहेको चिकित्साका चौध तारालाई रत्न पुस्तक भण्डार,काठमाडौले प्रकाशित गरेको हो ।
मै एक मै अनेक
ज्ञान र अनुभवले खारिएका,उमेरको उकालो चढ्दै गरेका चर्चित बरिष्ठ निबन्धकार एवं संस्कृतिविद तेजेश्वर बाबु तेजेश्वर बाबु ग्वंगस्को निबन्धकृति मै एक मै अनेकभित्र विषयगत विविधताका ४४ वटा निबन्धहरु समावेश गरिएका छन् । छोटा वाक्यभित्र लुकेका गहन अर्थवोध हुने निबन्धहरु यसमा छन् । उनी सुलुलित रुपमा निबन्ध लेख्छन् ।
निबन्धकृतिमा बौद्धिकता,तर्कशीलता,दार्शनिकताको त्रिवेणी भेट्न सकिन्छ । उनका निबन्धहरु गाम्भिर्यभावमा आएका छन् । प्रतिकात्मक चेत बोकेका आत्मपरक निबन्धहरुमा आफ्नैपन र लेखनशैली छ । कतिपय निबन्धहरु बुझ्न दार्शनिक चेत हुनुपर्दछ । निबन्धहरु बिम्बात्मकताले भरिएका छन् ।
कृतिको मूल्य ६००। राखिएको मै एक मै अनेकलाई सुन्दर स्वदेश पब्लिकेशन,काठमाडौंले प्रकाशनमा ल्याएको हो ।
चरीको घर
चर्चित लोकगायिका हरिदेवी कोइरालाको बालकविता संग्रह हो चरीको घर । चरीको घरभित्र नानीको घर,बाआमा,हामी ज्सतै साथी,थोरै पढ जस्ता १३ वटा बालगीत संगालिएका छन् । बालबालिकालाई नैतिकता सिकाउने,देशप्रेमको भाव जागृत गराउने,परिवार र बुबाआमाको महत्व बुझाउने कविताहरु यसकृतिमा छन् । सडकबालबालिकाको अवस्था चित्रण गर्दै माया गर्नुपर्नेतर्फ बालबालिकालाई सम्झाइएका कविता ,नेपालीपन र संस्कृति झल्काउने कविता समावेश छ भने बालबालिकालाई चित्र कोर्न उत्प्रेरणा जगाउने कविता चित्रकला सिकेर पनि छ । नेपाली संस्कार र संस्कृतिको परिचय दिने कविता पनि यहाँ छ । नेपाल र नेपालको संस्कृतिको जगेर्ना गराउन,देशप्रेमको महत्व वुझाइएको छ ।पर्या कविता पनि छ यसमा ।
संक्षेपमा भन्न सकिन्छ बालबालिकालाई सकारात्मक भाव पैदा गराउने कविताकृतिको उद्देश्य देखिन्छ । कविताहरुमा बालभावना, बालसुलभ भाव अभिव्यक्त भएका छन् । कवितामा चित्रहरुले प्राण भरेका छन् ।
रामबहादुर कोइरालाले प्रकाशनमा ल्याएको चरीको घरको मूल्य रु.२५०। रहेको छ ।








