
बेरीतका रीतहरु
रीता न्यौपाने पहारीका निजात्मक निबन्धहरुको संगालो हो बेरीतका रीतहरु । मनका अनुभूतिलाई कलमले सुन्दर शब्दहरुद्धारा निबन्ध मार्फत प्रकट गर्नु निबन्धहरुको विशेषता देखिन्छ । जीवनका भोगाइका मसिना मसिना कुराहरुलाई अझै मिहिन ढंगले पस्कने निबन्धकारको खुवी देखिन्छ । दुख सुख जिन्दगीका दुई पाटा भएकोले निबन्धकारले आफ्ना जीवनका विभिन्न समयमा बेहोरेका अनेकानेक सुख दुखका पलहरु निचोरेर शब्दद्धारा अभिव्यक्त गरिएका छन् ।
यस कृतिभित्र २० थान आत्मपरक निबन्धहरु विविध शिर्षक अन्तर्गत रहेका छन् । भाषाको साहित्यिक आत्मअभिव्यक्तिको रुपमा निबन्धहरुले स्थान बनाएको पाइन्छ । दृश्यात्मकताले भरिपूर्ण,भावनाको उचाइ चुलिएका,मानिसका अन्तरवैयक्तिक सम्बन्धका चर्चा सहित निबन्धहरु आएका छन् । धेरै जसो निबन्धमा नपाइने विषयहरुले यहाँ स्थान कायम गरेका छन् । संस्मरण जस्ता,चलचित्र हेरे जस्ता दृश्यले भरिएका,साहित्यिक चेतले ओतप्रोत भएका,सामाजिक विकृतिहरुमा सुधार गर्न आब्हान गर्ने सन्देशप्रद पनि लाग्छन् निबन्ध । मानवीय सम्बन्धको पुलिन्दालाई दर्शाउने खालका पनि छन् निबन्ध । सरल,बोधगम्य भाषाले निबन्ध सुन्दर र पठनीय बनेका छन् ।
बेरीतका रीतहरुलाई हेमराज पहारी स्मृति प्रतिष्ठान,पोखराले प्रकाशनमा ल्याएको हो ।
नीलो माइक्रोजस्तो नदी
कवि विष्णु थापा ‘विछोड’ मुक्तकमा जमेका कवि हुन् । हालै उनको पहिलो कविताकृति नीलो माइक्रोजस्तो नदी प्रकाशित भएको छ । यस कृतिमा ४८ थान विषयगत विविधाका कविताहरु समावेश गरिएका छन् । जीवनका भोगाइका आयामहरुलाई कवितामा पस्केका कविले प्रेम,प्रकृति,नाता सम्बन्ध,विगत र आगत जस्ता विषयबस्तुमा आफ्ना भावनाहरु कविताहरु मार्फत अभिव्यक्त गरेका छन् । निर्वाध गगनमा उड्ने पंक्षी जस्तै कवितामा उडेका थापा बलिदानका भावहरु पनि पस्कन्छन् । विरगति प्राप्त आफन्तको याद र सम्मानमा पनि व्यक्त गर्दछन् । मनमा गुम्फन भएका भावहरु शब्दमा खिप्न सिपालु उनी कवितामा जिन्दगीको परिभाषा खोज्छन् । गुन गर्नुपर्ने भावका धनी कवि गलत कुराहरुसँग जहिल्यै डराउनुपर्ने धारणा राख्छन् । कवितामा राष्ट्रप्रेम पनि प्रकटीकरण भएर आएको देखिन्छ ।
सुन्दर बिम्ब,प्रतिक र भाव,सरल भाषाले कविताहरु भरिएका छन् ।
नीलो माइक्रोजस्तो नदीलाई हामी र हाम्रो कृति समाजले प्रकाशनमा ल्याएको हो ।
फुजीको शिखरमा नेपाली झण्डा
क्रान्ति श्रेष्ठको नियात्रा कृति हो यो । यात्राका क्रममा देखेभोगेका चीजविज र स्थानहरुको बारेमा पाठकहरुलाई कुतुहलमय बनाउने खुवी श्रेष्ठमा देखिन्छ । स्वेदश तथा विदेशका विभिन्न स्थानका यात्राका प्रसंग सहित आफ्ना नीजात्मक अनुभूतिहरुलाई नियात्रा मार्फत उनले सार्वजनिक गरेका छन् । यसमा विभिन्न ऐतिहासिकताको जानकारी,भौगोलिकताको सूचना,भोगाइका पलहरुको बर्णन पाइन्छ । यस नियात्राकृतिभित्र स्वेदश तथा विदेशका विभिन्न १५ वटा स्थानहरुका यात्रा उडानहरु समेटिएका छन् ।
आयतनको हिसावले मझ्यौला एकै झमटमा पढ्न सकिने,सुकोमल भाषा,सुन्दर प्रस्तुतिले पाठकलाई तान्न सक्ने खुवी राख्छ । कृतिमा नियात्राकारको अनुभूतिहरु मज्जैले जान्न सकिन्छ । तथ्यमा आधारित ऐतिहासिक जानकारीहरु लिन सकिन्छ ।
फुजीको शिखरमा नेपाली झण्डालाई साझा प्रकाशनले प्रकाशित गरेको हो ।








