
लोमान्थाङको मौन आवाज
ज्ञानेन्द्र विवश
मुस्ताङको मुटुमा बसेको मेरो मन लोमान्थाङको मौन आवाजसँग कानेखुसी गरिरहन्छ । यहाँको अनौठो भूगोल र सौन्दर्यले मनलाई लोभ्याइरहन्छ ।
लोमान्थाङ ! नामै सुन्दा मनमनै फक्रिरहन्छ एक अद्भुत आनन्द। मेरो देश नेपालको काखमा सजिएको यो रत्नजस्तो उपत्यका, मेरो हृदयको सधैँको वासस्थान हो । शब्दले बयान गर्न नसकिने यसको सुन्दरता, मायालुपन र दयालु स्वभावले मेरो मनलाई सदैव लोभ्याइरहन्छ ।
कलात्मक पहाडहरूले घेरिएको यो उपत्यका, मरुभूमिको झल्को दिने भूगोलले भरिपूर्ण छ । माटोले बनेका घरहरूले यहाँको मौलिकतालाई झल्काउँछन् । हिमाली जीवनशैलीले भरिएको यो ठाउँ, पुरानो तिब्बती संस्कृतिले झनै सुन्दर बनेको छ ।
यहाँका बासिन्दाहरूले आफ्नो सनातन सांस्कृतिक पहिचान र परम्परागत मौलिकतालाई जोगाएर राखेका छन् ।
ऐतिहासिक महत्व बोकेका दरबार, गुम्बा र छोर्तेनहरूले यसको गरिमा बढाएका छन् । कोरला नाकाजस्तो महत्वपूर्ण व्यापारिक नाका पनि यहीँ अवस्थित छ ।
लोमान्थाङको मौन आवाजले म झसङ्ग हुन्छु । मौनताको सौन्दर्य–रङहरूले मायाको म्वाइ खान आउँछन् । प्रत्येक हेराइ र प्रत्येक दृष्टिकोणहरूमा प्रकृति–मिलनको अनौठो संलाप भइरहन्छ ।
मरुभूमिको बालुवाले पोतिएजस्तो लाग्ने लोमान्थाङ उपत्यकामा प्रवेश गर्दा म अचम्मित भएँ । कलात्मक पहाडहरूले घेरिएको यो उपत्यकाको परिवेश थियो । माटैमाटोका पहाडहरूमा अनेकौं किसिमका बुट्टैबुट्टा कुँदिए जस्ता अचम्मित पार्ने दृश्यहरूले मेरो मनलाई छोए ।
यहाँका माटोले बनेका घरहरूले यहाँको मौलिकतालाई झल्काउँथे । हजारौं वर्षदेखि यसै माटोसँग रमाउँदै आएका मानिसहरूको जीवनशैली यी घरहरूमा झल्कन्थ्यो । एउटा एउटा घरहरूमा कलाको नयाँ नयाँ रूप देख्न पाइन्थ्यो ।
कतै चराको आकृति, कतै फूलको, कतै मानिसको मुहार नै कुँदिएको हुन्थ्यो । यी सबैले मलाई प्रकृति र मानवबीचको अद्भुत सम्बन्धको अनुभूति गरायो ।
म यहाँका घरहरूको छतमा बसेर घण्टौँसम्म आकाशतिर हेरिरहन मन लाग्थ्यो । नीलो आकाशमा सेता बादलहरू तैरिरहेका हुन्थे । मलाई लाग्थ्यो, यी बादलहरू पनि यही माटोबाटै बनेका हुन् कि ! यहाँको हावामा पनि माटोको गन्ध आउँथ्यो । यो गन्धले मलाई यहाँको माटोसँग अझ नजिकबाट जोडिदिएको थियो ।
यहाँका मानिसहरू पनि यहाँको माटोजस्तै मौन थिए । उनीहरूले धेरै बोल्दैनथे । तर, उनीहरूका आँखामा धेरै कुराहरू बोल्थे । उनीहरूका आँखामा यहाँको इतिहास, संस्कृति र परम्पराको झलक देख्न पाइन्थ्यो ।
लोमान्थाङ उपत्यकामा बिताएको समय मेरो लागि अविस्मरणीय बन्यो । यहाँको मौन वातावरणले मेरो मनलाई शान्त पारेको थियो । यहाँको माटोले मलाई प्रकृति र मानवबीचको अद्भुत सम्बन्धको बारेमा सिकाएको थियो ।
यहाँको प्रत्येक कुना कन्दरामा इतिहासको साक्षी मिल्छ । पुराना बस्ती, गुफा, प्रवेशद्वार र भग्नावशेषहरूले हामीलाई इतिहासको यात्रामा लैजान्छन् । बौद्ध धर्मको गहिरो प्रभाव यहाँको जीवनशैलीमा देख्न सकिन्छ । रंगीचंगी झण्डा, मन्त्रहरू लेखिएका ढुङ्गाका चाङहरू र गुम्बामा बस्ने भिक्षुहरूले यहाँको धार्मिक वातावरणलाई झल्काउँछन् ।
बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमा अवस्थित छ । यहाँ आएर धार्मिक आस्था प्रकट गर्ने भक्तजनहरूको घुइँचो लागिरहन्छ । यस पवित्र तीर्थस्थलमा पुगेर मनलाई शान्ति मिल्छ ।
मुस्ताङको प्राकृतिक सौन्दर्य पनि अतुलनीय छ । हिमालको सेतो चुचुरो, खोलानालाको चिसो पानी र हरियाली चौरहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई झनै बढाएका छन् । यहाँको हावापानी निकै स्वच्छ छ । यहाँको रमणीय वातावरणमा बसेर मनलाई शान्ति पाउन सकिन्छ ।
मुस्ताङका मानिसहरू पनि निकै मिलनसार र मेहमानदार छन् । उनीहरूको सरल स्वभावले मेरो मनलाई छुन्छ । उनीहरूको जीवनशैली निकै सरल छ । उनीहरू प्रकृतिसँग घुलमिल भएर बाँचिरहेका छन् ।
लोमान्थाङ, जहाँ प्रकृति र संस्कृति एकसाथ समाहित भएर रमाइलोको अद्भुत संसार बनाउँछन् । यो स्थान यसको भव्यता र शान्तिको लागि प्रसिद्ध छ । यसक्षेत्रको मुग्ध पार्ने सुन्दरताले पनि हरेक आगन्तुकलाई आफ्नो अँगालोमा समेट्न सक्षम छ ।
म लोमान्थाङको यात्रामा प्रथानकोे समय सोंच्दै थिएँ । यहाँको वातावरणले र हरेक यात्रा गर्ने मनलाई एक किसिमको चुपचाप शान्ति दिन्छ ? या यो यसको इतिहास र संस्कृतिको गहिराई हो जसले यसलाई एउटा अमूल्य गहना बनाउँछ ? यात्रा गर्दा यसका सबै उत्तरहरू समयसँगै प्रकट हुँदै गए ।

यात्राको प्रारम्भमा मैले जुन कुरा महसुस गरें त्यो थियो यहाँको मौनता । यहाँको प्रकृति बोल्दैन, तर त्यसको मौनतामा असंख्य कथाहरू लुकेका छन् । यो शान्ति मसँगै यात्रा गर्दै थियो, जस्तो एक अनुपम साथी जसले मेरो हरेक भावना र अनुभूतिहरूलाई थाहा पाउँछ । जहाँ–जहाँ मैले पाइला राखें, त्यहाँ त्यहाँ एक नयाँ दृश्य खुल्दै गयो । यात्रा गर्दैगर्दा विगत र वर्तमान समय बीचको एक खास पुल जस्तो लाग्थ्यो ।
लोमान्थाङका बाटाहरू, तिनीहरूको प्रकृतिसँगको सम्बन्ध, सबै एकताको प्रतीक जस्तो लाग्छ । बस्तीहरू पातला छन्, तर तिनीहरूको संस्कृति गहिरो र पुरानो छ । यहाँको जीवन क्रम, मान्छेका व्यवहार र उनीहरूको इमानदारीले मलाई कसरी आफूलाई सोच्न र आफ्नो अस्तित्वलाई पुनः परिभाषित गर्न प्रेरित गर्छ भन्ने कुराको बोध गरायो ।
तथापि लोमान्थाङको आकर्षण मात्र यसको ऐतिहासिक र सांस्कृतिक पक्षमा सीमित छैन । यहाँको प्राकृतिक सौन्दर्य पनि अनमोल छ । यहाँका सुख्खा मैदानहरू, हिमालयको होचा दृश्य, गहिरो पर्वतीय ताँतीहरू र प्राचीन किल्लाहरूले यात्रा गर्ने प्रहरलाई रोमाञ्चक बनाइरहन्छ । एउटा खास अनुभव भनेको सूर्योदय र सूर्यास्तको बेला लोमान्थाङको आकाशको रङको परिवर्तन हो । सूर्य पहाडका पाटोमा लुकेर, आकाश र पृथ्वी बीच एक रहस्यमय रङको मिश्रण ल्याउँछ । त्यो दृश्य कल्पनातीत लाग्छन् ।
यात्रा भनेको कुनै नयाँ स्थानको खोजी मात्र होइन, त्यस स्थानको साथै अनुभव र सम्बन्धको खोजी पनि हो । लोमान्थाङमा पुग्दा, यो यात्रा मात्र स्थानको भ्रमण थिएन । अपितु मैले आफ्नो आत्मा र मनको पनि यात्रा गरेको अनुभव गरें । यो ठाउँले शान्ति र सौन्दर्य खोज्नका लागि बाहिरी संसारबाट भन्दा पनि भित्री संसारमा यात्रा गर्नु आवश्यक हुन्छ भन्ने सन्देश मलाई भयो ।
लोमान्थाङको शान्त वातावरण र यसका विशिष्ट दृश्यहरूले वास्तवमै मेरो मनमा एउटा अमिट छाप छोडे । यहाँको मौनता मेरो यात्राको हर्षित पल रह्यो । गहिरो साथी बन्यो । यात्रामा मैले अनुभव गरेका प्रत्येक क्षणलाई अझ प्रगाढ र अर्थपूर्ण बनाइदियो ।
लोमान्थाङ केवल एक भौगोलिक स्थान होइन, यो एक अनौठो यात्रा हो जहाँ समयको गति फरक तरिकाले अनुभव हुन्छ । यहाँको सौन्दर्य र मौनता यात्राको अन्त्यसम्म पनि साथ रहने छ । यही विशेषता हो जसले लोमान्थाङलाई अनन्तकालसम्म यादगार बनाउँछ ।
यो यात्रा मेरो लागि एउटा भौगोलिक स्थान मात्र होइन, यो त मेरो हृदयको एक टुक्रा हो । यहाँको प्रत्येक कुनामा मेरो मन बस्छ । यहाँको मायालुपनले मेरो मनलाई सदैव लोभ्याइरहन्छ ।

यहाँबाट फर्किंदा मसँग एउटा मात्रै प्रश्न थियो, ‘के यस्तो सुन्दर ठाउँलाई हामीले जोगाउन सक्छौँ त ?’
मलाई लाग्छ, मुस्ताङस्थित लोमान्थाङको सुन्दरतालाई यी शब्दले बयान गर्न सकिँदैन । यसलाई अनुभव गर्नै पर्छ । यदि तपाईं पनि हिमालपारि मुस्ताङको यात्रामा जान चाहनुहुन्छ भने, अवश्य पनि तपाईंलाई यहाँको सुन्दरताले मोहित बनाउने छ । खासगरी लोमान्थाङको मौन प्रकृतिले चुपचाप अँगाल्न आउने छ । र, यात्राको हर्षित पल उद्घाटित हुने छ ।







