
कविता
टिपि शर्मा तिमिल्सिना
लेख्दैछु, — आफ्नै इतिहास
लेख्दैछु
एउटा विगत ।
दुखको
संघर्षको
र, आफ्नै इतिहास ।
अहिले जहाँ आइपुगेको छु
अर्थात, वर्तमानमा ।
खै ! कसरी लेखौं ?
आफूले – आफ्नै परिवेश
अथवा, संस्मरणका दस्तावेज ।
तमाम उमङ्गहरु
जाँगर
र, आफ्नै हिडाइका बेगहरु
फुत्किएर आफैबाट
बेवारिसे भएका छन।
हिडेको थिए / एउटा पहाड सम्याउन
अर्थात, एउटा फराकिलो फाँट बनाउन
खै ! कसरी भनौं ?
मेरा आकांक्षाहरु
अन्यौलग्रस्त छन।
समयको कामुक दृष्टिबाट
बलात्कृत भएका छन
र, म लाचार भएर हेरिरहेको छु।
तैपनि एउटा रुग्ण जीजिविषा बचाएर
लेख्दैछु विगतका दस्तावेज ।
छुट्टयाएर भोलीको गन्तव्य
लेख्दैछु, आफूले – आफ्नै इतिहास ।







