काठमाडौं । नेपाल स्रष्टा समाजका अध्यक्ष तथा बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यमा पढ्न लायक कृतिहरु धेरै नहुनु चिन्ताको विषय भएको बताए । उनले अरु क्षेत्रमा जस्तै साहित्यमा पनि भ्रष्टाचार भएको देखिएको छ भन्दै अरबपतिहरु अरुलाई आफ्नो नाममा साहित्य लेखाएर चर्चित बन्नु अनि निरन्तर लेखिरहनेहरु पछि पर्नु बिडम्बनाको विषय भएको बताए । अरु क्षेत्रमा जस्तै साहित्यमा पनि भ्रष्टाचार सुरु भएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
“ठूलाबडाहरु पैसा खर्च गरेर आफ्नो नाममा अरुलाई लेखाउने गर्छन् । के यो साहित्यिक भ्रष्टाचार हैन् ?” उनले प्रश्न गरे ।
लेखक,कवि,साहित्यकारहरु राज्यको उपल्लो तहमा पुग्दा पनि भ्रष्टाचारमा नमुछिएको चर्चा गर्दै उनले लेखक,स्रष्टाहरु भ्रष्टाचारी नहुने जिकिर पनि गरे । उनले पठन संस्कृतिको विकास नहुनुमा चिन्ता समेत व्यक्त गरे ।
उपन्यासकार प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’माथि राजधानीमा आयोजित अन्तरकृया कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
बुधबार राजधानीमा नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल स्रष्टा समाजद्धारा आयोजित ‘समकालीन नेपाली उपन्यासका स्वर तथा ९६ गड्डी उपन्यास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समकालीन नेपाली उपन्यासका प्रवृत्ति बारे चर्चा गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले समकालीन समयको लेखनमा जोड दिंदै ‘बस्तुलाई विभिन्न ढंगले हेर्ने होइन वस्तुलाई पुर्नब्याख्या गरेर लेख्ने कुरा समकालीन लेखन हो।’ नेपालको सबैभन्दा ठूलो दुष्मन भ्रष्टाचार भएको बताउँदै उनले तिवारीको उपन्यास यहि विषयमा केन्द्रित भएको आफुले पाएको बताए । भ्रष्टाचारको विरोध गर्दै उनले भने भ्रष्टाचार मुक्त देश बनाउन साहित्यकारले कलम चलाईरहनुपर्छ ।
अर्का वक्ता पत्रकार एवं पुस्तकका टिप्पणीकर्ता राजकुमार बानियाले नेपाली साहित्यमा उपन्यासलाई गोल्डेन गेटको सँज्ञा दिंदै लेखकले लेखकलाई पढ्ने प्रवृत्ति नभएको औल्याए।सामाजिक वास्तविकतालाई साहित्यको विषयवस्तु बनाउने उपन्यासकारको रुपमा प्रकाश तिवारीलाई आफुले बुझेको बताए । तिवारीको उपन्यासले आलोचनात्मक चेत वोकेको बताउँदै क्रान्तिकारीता भ्रष्टिकरणमा स्खलित भएको चर्चा गरे । उपन्यासमा पाठक तथ्य हो कि कथा भन्नेमा अल्मलिनसक्ने उनको तर्क थियो ।
अर्का वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले समकालीन नेपाली उपन्यासका विभिन्न प्रवृत्तिहरुको चर्चा गर्दै आफुलाई कसरी अरुभन्दा फरक देखाउने भन्ने नाममा उपन्यासहरु चिप्लिएको औल्याए । ‘उपन्यास लेख्दा लेखिने समयको यथार्थप्रति इमान्दार भएर लेखिनु पर्दछ । यसैगरी ९६ गड्डी आलोचनात्मक यथार्थ विशेषत भ्रष्टाचारसंग सम्बन्धित भएर लेखिएको छ । यसमा समसामयिक विषयवस्तु भएपनि केही नाटकीय र श्वैरकाल्पनिकता पनि समावेश गरेको मैले पाएको छु ।’ उनले भने ।
यसैगरी चर्चाकार अनिता कोइरालाले समीक्षात्मक टिप्पणी गर्दै उपन्यासले नारी पात्रमाथि न्याय गरेको बताइन् ।
कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, उपन्यासकार प्रकाश तिवारी ,देविका तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।