चर्चामा पुस्तक
आनन्द
(दृश्य र अनभूति)
दर्जनौ नियात्रा र कथाकृतिका स्रष्टा पोष चापागाईं । उनको आनन्द (दृश्य र अनुभूति)नियात्रासँग्रह हो । कैलाश मानसरोवरको यात्राको बारेमा लेखिएको नियात्रा कृतिले कैलाश मानसरोवरलाई चिनाउन सक्षम भएको छ । तिब्बतको पठार पुरर्याउँछ पाठकलाई । अनि मानसरोवर जस्तो पवित्र तीर्थस्थलको दर्शन पनि नियात्राकारसँगै गर्छ पाठकले । नीजात्मकताको भरपूर प्रयोग,स्थानीयतामा लछप्पै भिजिएर मौलिकपना दिंदै लेखिएको छ । यस कृतिमा ११ दिनको यात्रावृतान्तलाई समेटिएको छ । जस अनुसार ल्हासासम्म ल्पेनको सयर,कैलाश हुँदै कती बसयात्रा,जहाँ जहाँ बास बसे त्यहाँको बारेमा मज्जैले जानकारी पाउन सकिनेगरी नियात्रा तयार भएको छ ।
यस कृतिमा शिव भगवानको बारेमा अनेकानेक मिथकहरु,कथाहरु जोडिएका छन् । आध्यात्मिक चिन्तनको प्रचूरता यसमा मिसाइएको छ । सुस्वादु नियात्रामा मनोचिकित्सक डा.अनन्त अधिकारीको १५ पेजको उपकृति पनि समावेश गरिएको छ । यसले अतिथि नियात्राकारलाई पनि मिसाइएको गजवलाग्दो प्रयोग हो । जीवन्त लाग्छन् नियात्राहरु । भाषामा मिठास छ ।
आनन्दलाई शब्दयात्रा प्रकाशनले बजारमा ल्याएको हो ।
चिराइतो
बद्री उप्रेतीको मुक्तकसँग्रह हो । २९९ वटा विषयगत विविधतायुक्त मुक्तकहरुको एउटा सुन्दर माला चिराइतो । पुस्तक शिर्षक जस्तै छन् यस भित्रका मुक्तकहरु । विषयगत रुपमा फरक फरक विषयहरुमा मुक्तकहरु सृजना भएका छन् । भावनामा वगेर,प्रेमप्रणययुक्त मात्र मुक्तक छैनन् । समाजका वेथितिमाथि शब्दका धारिला वाणहरु प्रहार गरिएका छन् । समाज परिवर्तनको चाहलाई उजागर गरिएको छ । विकृति र विसंगतिहरुको विरुद्ध मुक्तकहरु लक्षित भएका छन् । राजनीतिमा मौलाउँदै गएको विकृति र अस्वस्थता एवं भ्रष्टाचारप्रति दह्रो कटाक्ष छ । जसरी हामीले सुनेको चिराइतो तीतो जडिवुटी हो तर धेरै रोगको औषधीमा यसको प्रयोग हुन्छ । खाँदा तीतो हुन्छ तर गुणहरु धेरै हुन्छन् । यस्तै छन् चिराइतोभित्रका मुक्तकहरु ।
सरल शब्द,अनुप्रासको उपर्युक्त प्रयोगले चिराइतोका मुक्तकहरुमा प्राण भरेका छन् ।
वर्तमान नेपाली साहित्यमा मुक्तक पाठकको रोजाईको विधा हो । यसमा बद्री उप्रेती सफल देखिएका छन् ।
चिराइतोलाई नम्रता उप्रेतीले प्रकाशनमा ल्याएकी हुन् ।
स्मृतिको पुरानो दह
कवितालाई सौन्दर्यशास्त्रको लेपनले सिंगार्न माहिर छन् कवि सन्तोष थेवे । भावप्रधान कविता लेख्ने कलाका धनी छन् । ५५ थान छोटा छोटा आयतनका सुन्दर कविताहरुले स्मृतिको पुरानो दहमा पौडि खेल्न पाएका छन् । जसमा तीन हरफदेखिका कविता अटेका छन् । बिम्बात्मक कविता बलशाली त्यस्तै । सुन्दर सुन्दर बिम्बात्मक कविताहरु पाठकको मन छुने देखिएका छन् । कुन्ै कवितामा उनी पञ्चभलादमी राखेर मायालुलाई बैना मार्न उत्साहित छन् त कतै सपनाको डोली चढ्छन् । कवि मनलाई मन पर्दैन देउताको दुरुपयोग गरी मान्छेले मान्छेलाई दुख दिएको । उनी जीवनगीत आशावादी भ्एर गाउँछन् । उनी विजेता बनेर इतिहास रच्न लालयित देखिन्छन् । मायालुले कविको सुन्दर गमलामा कविता सुटुक्क रोपेर गएको प्रहरदेखि खुशी देखिन्छन् ।
परिवर्तनको लालसा बोकेका कवि सपनाहरुलाई आलो चिहानमा छोडेर भाग्न चाहाँदैनन् । मायालुले छोडेर गएका यादहरुमा बाँच्न चाहाने कवि यादहरुको तान बुनेर बस्छन् । मन खिन्न हुँदा देउरालीमा संगै चढाएको फूलको स्मरणले मन पुलकित पार्छन् । झरी परेको साँझसँगै मायासँग विछोडिदाका आँसुका मूल फुट्दा दुखाउँछन् कवि ।
कविता सुन्दर बिम्बहरु,भावनामा बहेर,सरल भावका कविताहरु सहज ढंगले सृजना गर्नसक्नु कविको विशेषता हो । छोटा हुनाले पट्यारलाग्दा पनि छैनन् ।
स्मृतिको पुरानो दहलाई कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।