
हराएका कथाहरु
विधा :कथा
कथाकार :रमेश विकल
रमेश विकल आख्यानमा चर्चित नाम । यथार्थवादी धरातल टेकेर कुनैपनि विषयवस्तुलाई मिहिन ढंगले टिपेर कथा लेख्ने उनको खुबी छ । विचारयुक्त कुराहरुमा कथा बुन्न सिपालु विकल कथालाई उतिक्कै सुन्दर रुपमा प्रस्तुत गर्ने क्षमता राख्छन् । कथाहरुको परम्परागत मान्यतामै रहेर कथा सृजना गरेका यस हराएका कृतिभित्र १५ थान कथाहरु समावेश गरिएका छन् ।
समाजका यथार्थ विषयवस्तुमाथि घोत्लिएर यस संग्रहका कथाहरु लेखिएका छन् । मानवीय संवेदनालाई कथाहरुले खोतल खातल गर्छन् । कथाको शिल्पविधान प्रस्तुत कृतिका विशेषता हुन् । कथाहरुमा कलात्मकता लेपन गरिएको पनि देखिन्छ। भुइँमान्छेका स्वरहरु मुखरित भएर कथा आएका छन् । कुनै कुनै कथाहरु कडा मिजासका छन् । मान्छेका भोगाइहरु कथाका विषय बनेका छन् । उनका कथाका पात्रहरु र तिनका चरित्रहरु हामी र हामीले भोगेको समाजका उपज हुन् वा भनौं निम्नमध्यम वर्गिय पात्रहरुको प्रधानता देखिन्छ ।
कथाहरु रोचक,पठनीय छन् । सरल भाषामा लेखिएका छन्
हराएका कथाहरुलाई साझा प्रकाशनले वि.सं.२०५५ सालमा पहिलो पटक प्रकाशनमा ल्याएको हो ।
बाघमारेको लालसलाम
विधा :कथा
कथाकार : प्रदीप नेपाल
नेपाली साहित्य जगतमा चर्चित नाम हो प्रदीप नेपाल । राजनीतिमा फुर्सद हुनासाथ सृजना कर्ममा लाग्ने उनको स्वभाव देखिन्छ ।
प्रगतिशील विचारका आख्यान सृजनामा उनको उल्लेख्य योगदान रही आएको छ । बाघमारेको लालसलाम उनको कथासँग्रह हो । नेपाली समाजको सकारात्मक रुपपान्तरणतर्फ लक्षित भएर लेखिएका कथाहरुको बाहुल्यता यसमा छ । विगतको सशस्त्र द्धन्दको चित्रण गर्ने कथाहरु प्रधान रुपमा यसमा परेका छन् ।नेपाली समाज र जीवनका यथार्थताहरु यसका विषय बनेका छन् ।
विभिन्न शिर्षकका २० वटा कथाहरु यस कृतिमा समावेश गरिएका छन् ।यसमा समावेश कथाहरु वि.सं.२०३७ देखि २०६३ भित्र रचिएका छन् । यसैले फरक फरक राजनीति,फरक फरक पृष्ठभूमिका कथा अटेका छन् । झण्डै १६ जति कथामा तत्कालिन माओवादी द्धन्द र त्यसका असरतिर लक्षित गरेर लेखिएका छन् ।यसमा माओवादीको दवदवा,यातना,धम्की जस्ता कुराहरु पनि उजागर भएर आएका छन् । माओवादी र राज्यपक्षको दोहोरो मारमा परेका भुइँमान्छेहरुको उतिवेलाको मनोदशाको मज्जाले चित्रण गरिएका कथा पनि छन् ।
भन्न सकिन्छ यो कथासँग्रह द्धन्दकालीन यथार्थ हो । द्धन्दकालीन समयको नेपाली समाजको मनोविज्ञानको सत्यापन गर्न कथासंग्रह सफल भ्रएको छ । सरल भाषाशैली कथाको प्राण बनेर आ्रएको छ । कथाहरु धेरै लामा छैनन् ।
बाघमारेको लालसलामलाई पहिलो पटक साझा प्रकाशनले विंसं.२०६४ मा प्रकाशनमा ल्याएको हो ।
इुरफान अली
विधा : कथा
कथाकार : नारायण ढकाल
नेपाली साहित्को क्षेत्रमा चर्चित नाम हो नारायण ढकाल । विशेषत आख्यानमा उनको योगदान उल्लेख्य छ । इरफान अली उनको कथासँग्रह हो ।
माक्र्सवादी सौन्दर्यशास्त्रको निकट रहेर कलम चलाउने ढकालका यस कृतिभित्र पन्ध्र थान कथाहरु समावेश गरिएका छन् । मानिसलाई जागृत गराउने क्षमताको लेखनी उनको विशेषता देखिन्छ । साँस्कृतिक चेतले भरिएका कथाह्रु पढ्न पाइन्छ । विचारको गहिराईमा डुबेर कथानकता टिपेर कथा लेख्नु कथाकारको विशेष क्षमता लाग्छ ।
राष्ट्रपति चिन्ता,समकालीन समयको यथार्थ परिवेशको चित्रण,काँठको मनोदशा र तिनीह्रु उपर ढकालको सुक्ष्म दृष्टिले कथाहरु आएका छन् । कथाहरु स्वभाविक लाग्छन् ,पात्र चयन उ्रस्तै बेजोड लाग्छ । पाठकले आफैंलाई पात्र पाउँछ कृति पढ्दा । उनका कथाहरुले पाठकलाई गंम्भिर बनाएर सोच्न बाध्य बनाउँछन् । उनका प्रायजसो कथाका पात्रहरु जीवनको गत्यात्मकतालाई बोकेर तिनको समाजसँगको बहुसम्बन्धलाई व्याख्या गर्ने हिसावले आएका छन् । उनी प्राकृतिक नियममाथि जब पटक पटक अतिक्रमण हुन्छ त्यतिबेला अलिक अराजक बनेर कथा लेख्छन् ।
मीठो शब्द,सरल बाक्य र आयतनको हिसावले कथाहरु मझ्यौला आकारमा आएका छन् । कथाहरु बलशाली छन् ।
इरफान अलीलाई पहिलो पटक लहर प्रकाशनले वि.सं.२०५१ मा प्रकाशनमा ल्याएको हो ।








