
गजल
अनिता भण्डारी
फूलभन्दा पनि काँडा खास लाग्छ अचेल ।
एक्लो छु एक्लोपन मिठास लाग्छ अचेल ।
जलोस् वा पोलोस् चुपचाप सहनै पर्ने भो,
आफैंलाई आफू जिउँदो लास लाग्छ अचेल ।
मुस्कान कम आँसु बढी बगिरहन्छ अधरमा,
खुशी त एकैछिनको पो तमास लाग्छ अचेल ।
घरि निभ्छ घरि बल्छ चलेको छ यसरी नै,
जिन्दगी जूनकिरीको प्रकाश लाग्छ अचेल ।
चोखो माया गर्दागर्दै जब मैले धोका पाएँ
चोखो माया गर्ने कुरा बकवास लाग्छ अचेल । –








